दुत पुन (चिम्खोले काइँला)
लन्डन । स्वर्गीय गोरेबहादुर खपांगी तेस्रो स्मृति सभा बेलायतको फार्नबोरोस्थित मगर भवनमा सम्पन्न भएको छ ।
गत शनिबार २४ अगस्टको दिन मगर संघ यूकेको चौमासिक बैठकको पहिलो चरणमा स्मृति सभा सम्पन्न भएको हो । मगर संघ यूकेका अध्यक्ष ले. सुनिल राना र सल्लाहकार तथा प्रमुख अतिथि मेजर कृष्णकुमार आलेले स्वर्गीय खपांगीको तस्बिरमा खादा ओढाएर तथा क्यान्डल बालेर स्मृति सभा संयुक्त रुपमा स्मृतिसभा शुभारम्भ गरेका थिए भने उपस्थित सम्पूर्णले दुई मिनट मौनधारण गरेर स्मृति सभालाई पूर्णता दिएका थिए ।
बैठकमा विभिन्न बुँदाहरुमा छलफल भएको मगर संघ यूकेले जनाएको छ । संस्थाका अध्यक्ष सुनिल रानाले मगर भवनको नयाँ ट्रेनको बारेका अवगत गराएका थिए ।
मगर भवनको ग्राउन्ड फ्लोरको घर भाडा र मेन हलभाडा जम्मा गर्दा मगर संघ यूकेलाई वार्षिक २४ हजार आम्दानी हुने अध्यक्ष रानाले बताएका छन् ।
बैठकमा मगर मास्टर डिग्री तथा पिएचडी ट्रस्ट फन्डका नेपाल टिमका अध्यक्ष मेजर कृष्णकुमार आलेले मगर मास्टर डिग्री तथा पिएचडी ट्रस्ट फन्डमा रहेको रकम, विष्णुमाया आले स्मृति ट्रस्ट फन्डमा रहेको रकम र गोर्खाको बुङ्कोटस्थित लखन थापा प्रवेशिका स्कुलको लागि स्थापित रहेको ट्रस्ट फन्ड र पुरस्कृत गरिब तथा जेहेन्दार विद्यार्थीहरुको नामावली अवगत गराएका थिए ।
कार्यक्रममा मगर मास्टर डिग्री तथा पिएसडी ट्रस्ट फन्ड यूकेका संयोजक दुत पुनले मगर मास्टर डिग्री तथा पिएसडी ट्रस्ट फन्डका लागि संकलन भएको रकम अवगत गराएका थिए भने नपुग रकम नोभेम्बर २३ मा हुने च्यारिटी कार्यक्रममा पूरा गर्नु पर्ने मन्तव्य तथा नपुग रकम कसरी संकलन गर्न सकिन्छ भन्ने बारेमा विभिन्न अवधारणाहरु प्रस्तुत गरेका थिए ।
बैठकमा मगर संघ यूकेका सल्लाहकार मेजर कृष्णकुमार आले, नेपाल मगर विद्यार्थी संघका निवर्तमान अध्यक्ष तथा प्रोफेसर झकेन्द्र घर्तीमगर, मगर संघ अमेरिकाका निवर्तमान उपाध्यक्ष निलमकुमार गर्बुजा, मगर संघ अमेरिका वासिंगटन डीसीका वर्तमान उपाध्यक्ष सितल गर्बुजा, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय अधिकृत हस्तकुमार गर्बुजा, नेत्र गर्बुजा, कलाकारहरु जमुना थापा र प्रसाद खप्तरीलाई स्वागत गरिएको थियो ।
मेजर कृष्णकुमार आले प्रमुख अतिथि रहेको बैठकमा संस्थाको उपाध्यक्ष राम गलामीले स्वागत मन्तव्य राखेका थिए भने बैठकको अध्यक्षता मगर संघ यूकेका अध्यक्षले गरेका थिए र महासचिव रुद्र थापाले सञ्चालन गरेको कार्यक्रममा मगर संघ यूकेका पदाधिकारी, सल्लाहकारहरु र शाखा समिति अध्यक्षहरुको बाक्लो उपस्थिति थियो ।






