काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाललाई डेंगु लागेर अस्पताल भर्ना भएका छन् । मन्त्री खनाललाई बुधबार दिउँसोदेखि धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनका प्रेस संयोजक बोमलाल गिरीले बताए।

उनले भने, ‘मंगलबारदेखि हल्का ज्वरो आएको थियो। बुधबारदेखि अस्पताल भर्ना गरियो। तर स्थिति सामान्य छ।’
मन्त्री खनाल मंगलबार ज्वरो आएपछि निदान अस्पताल उपचारका लागि पुगेका थिए। त्यहाँ डेंगुको शंका गरेपछि बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाएको थियो। गिरीले भने, ‘अस्पतालले पनि डेंगु भनेको छ। तर आत्तिहाल्नुपर्ने अवस्था भने छैन।’
अस्पताल उच्च स्रोतका अनुसार मन्त्री खनाललाई डेंगु नै लागेको देखिएको छ। ग्राण्डीअस्पताल स्रोतका अनुसार खनालको शारिरीक परीक्षण भइसकेपछि आएको रिपोर्टमा डेंगु नै भएको पाइएको छ।






