चिम्खोले काइँला
मान्छेको जिन्दगी एकनासको कहाँ हुन्छ र ? कसैले जिन्दगीमा सुरुदेखि अन्त्यसम्म दुःख र कष्ट झेल्नुपर्ने हुन्छ । कसैको हाँसीखुसी जिन्दगीमा भयानक विपत्ति आइपर्छ । कसैको जिन्दगी सुरुदेखि अन्त्यसम्म सुखसयल र रमाइलोमा बितिदिन्छ । जिन्दगीले कुन बेला कस्तो मोड लिन्छ, त्यो कसैलाई थाहा हुँदैन । त्यसैले भनिएको होला, ‘जिन्दगी आँसु, हाँसो, दुःख, सुख, मिलन र विछोडको समिश्रण हो ।’ कसैले भनेका छन्, ‘जिन्दगी कर्कलाको पातमाथिको पानी हो, जता पनि दगुर्न सक्छ ।’
कान्छी, पैंतीस वर्षीया विवाहित महिला । चौंतीस वर्षमा हिँड्दै गर्दा कान्छीको हाँसीखुसीको जिन्दगीमा नियतिले धावा बोल्यो । भयंकर विपत्ति सामना गर्नुपर्यो । उनका खुसीहरू क्षणभरमै अलप भए । दुःख र कष्टको दैनिकी सुरु भयो । कान्छीका हरेक पल झरी, बादल, हिउँ, असिनासँगै औंसीको अँध्यारा रातहरूजस्ता भएका छन् । आँसुको भल अझै आँखाबाट थामिएको छैन । यत्तिका कष्ट मानिसले जिन्दगीमा विरलै भोग्नुपर्छ ।
प्रधानपञ्च धनबहादुरकी कान्छी छोरी कान्छीको बाल्यकालले दुःखसँग पौंठेजोरी खेल्नै परेन । गाउँमा उनको बाबुको रवाफअघि सबै नतमस्तक थिए । धनबहादुरको नाम गाउँ, क्षेत्र र जिल्लासम्मै कहलिएको थियो । उनी राजनीतिकर्मीका अलावा समाजसेवामा पनि सक्रिय थिए । त्यसैले उनलाई सबैले सम्मान गर्थे । त्यसमा पनि जेठा छोरा मलायाको लाहुरे, माइलो नेपाली सेनाको कर्णेल, हजारभन्दा धेरै भेडा भएको भेडीगोठ, प्रशस्तै जग्गा–जमिन कान्छीले आमगाउँले केटीहरूले जस्तो दुःख पाउने कुरै भएन । कान्छीले गाउँमै सात कक्षासम्म पढिन् । त्यसपछि जेठा दाजु लाहुरबाट छुट्टीमा आएर कान्छीलाई पोखरामा कक्षा पाँचमा झारेर बोर्डिङ स्कुलमा बोडर्स राखिदिए । अब बोर्डिङको होस्टेलमा कान्छीको नियमितता फेरिएको छ । बेलाबेला छट्टीमा गाउँ जान्छन् । गाउँभरिका मान्छे कान्छी गाउँ आएपछि हेर्न आउँछन् । होस्टेल बसेकी केटी गाउँका अरूभन्दा सफासुग्घर र चिरिच्याँट्ट पर्ने नै भइन् । त्यसैले पनि गाउँ आएको बेला सबैको आकर्षण कान्छी नै बन्छिन् । अझ उनको उमेर बढ्दै गएर सोह्रको पुग्न थालेपछि उनको रूपरंगै फेरिएको छ । गोरो वर्ण, अग्ली, लामो कपाल लरक्क परेको, लामो नाक, दुईधर्के आँखा, छातीमा पोटिला दाना, छिनेको कम्मरले उनलाई सुन्दरीको उपमाको हकदार बनाएकी थिइन् । त्यसमाथि चढ्दै गरेको कुरकुरे बैंसमा त्यसैअनुसारको फेसन गर्न उनले जानेकी थिइन् । जब कान्छी दाजुले मलायाबाट ल्याइदिएको सिंगापुरे पेटी, हङकङको मयुरे लुंगी, रातमा झलल झल्किने पोते र स्कटल्यान्डको टाटनको पछ्यौरी ओढेर घरमा हुन्थिन्, प्रधानपञ्च धनबहादुरको घरमा स्वर्गबाट अप्सरा नै झरेजस्तो झलमल हुन्थ्यो, घरै उज्यालो । जब गाउँ घुम्थिन्, परै गाउँ नै उज्यालो । कान्छीलाई हेरेको हे¥यै गर्थे गाउँले तरुनोहरू । जब उनी स्कुल फर्कन्थिन्, गाउँलेहरू सुनसान महसुस गर्थे ।
कान्छी अति नै सुन्दरी थिइन् । धनबहादुरकी छोरीलाई खर्चपर्चको दुःख हुने कुरा पनि भएन । तर, पढाइ भने उनको ठिकठिकै थियो । पोखरा आएपछि बोर्डिङ स्कुलमा दुई कक्षा झारेर पाँचबाट पढाउँदा पनि उनको पढाइमा त्यति प्रगति हुन सकेन । कान्छीले एसएलसी दोस्रो श्रेणीमा पास गरिन् । उनको कलेज यात्रा सुरु भयो । कान्छी लगनशील थिइन् । धनबहादुरले कलेज पढ्नका लागि कान्छीलाई पोखराको बगरमा एकजना बाहुनको घरमा डेराको बन्दबस्तो गरिदिए । नजिकैको पृथ्वीनारायण क्याम्पसमा भर्ना गरिदिए । संयोग नै भन्नुपर्छ, कान्छी डेरामा बसेकी घरवालाका छोरा मिलन पनि सोही वर्षदेखि उनकै कक्षमा पढ्दै थिए । तर, एउटै घरमा बसेर, एकै कक्षमा पढेर पनि कान्छी र मिलनबीच तीन–चार महिनासम्म बोलचाल भएन । देखादेख भने भइरहन्थ्यो ।
मिलन पढाइमा तेज थियो । उनी सानैदेखि पोखरामै बोर्डिङ स्कुलमा पढेका थिए । मिलन अरू केटाहरूजस्तो ‘हावा’ थिएन । अनुशासित, मिहिनेती र जेहेनदार केटो थियो । छ महिनापछि पहिलो सेमेस्टरको परीक्षामा मिलनले कक्षमा सबैभन्दा धेरै नम्बर ल्यायो । कान्छीले भने भनेजस्तो नम्बर ल्याउन सकिनन् । उनले ल्याएको नम्बरले धेरै मिहिनेत गर्नुपर्ने देखाएको थियो । एक दिन कान्छीले कलेजको लेक्चर बुझिनन् । घरमा गृहकार्य गर्नुपरेपछि मिलनलाई सोध्न करै लाग्यो । मिलनले पनि कान्छीलाई कक्षामा पढाएको कुरा छर्लंग बुझ्नेगरी बुझाइदिए । गृहकार्य गर्न पनि मद्दत गरिदिए । अब कान्छी आफूले नजानेको विषयमा मिलनसँग सहयोग लिन थालिन् । समय बित्दै गयो, मिलन र कान्छीबीच बोलचाल र भेटघाट बाक्लिँदै गयो । कान्छीको पढाइमा पनि प्रगति हुँदै गयो ।






