१३ हजार ६२९ मतदाता, १३ वटा मतदान केन्द्र
एटा संवाददाता
लन्डन । एनआरएनए यूकेको नयाँ कार्यसमिति चयनका लागि आउँदो शनिबार १४ सेप्टेम्बरका दिन निर्वाचन हुँदैछ ।
निर्वाचनका लागि एनआरएनए यूकेका प्रमुख संरक्षक मेजर डमर घले एमबिईको संयोजकत्वमा एक निर्वाचन मण्डल गठन भएको छ । सो निर्वाचन मण्डलका सदस्यहरु निर्वाचन तयारीमा जुटेका छन् ।
निर्वाचन मण्डलका उपसंयोजक एवं प्रवक्ता शिवजी श्रेष्ठ र सचिव नरेश खपाङ्गीका अनुसार उत्तरी आयरल्यान्डको वेलफास्ट, स्कटल्यान्डको एडिनबरो र ग्लास्गो, वेल्सको कार्डिफ, मिडल्यान्डको बर्गिमहम, लेस्टर, केन्टको आस्फोर्ड, लन्डनको ह्यारो र प्लमस्टिड, रेडिङ्ग, स्वीन्डन, बेजिङ्गस्टोक र अल्डरसटमा मतदान केन्द्र तोकिएको छ ।
कुल १३ हजार ६२९ मतदाता रहेको निर्वाचनमा १३ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । जसमध्ये सबभन्दा कम उत्तरी आयरल्यान्डको वेलफास्टमा करिब १०० मतदाता छन् भने सबभन्दा बढी अल्डरसटमा करिब ३५०० मतदाता छन् । सुरुमा वर्तमान कार्यसमितिका ५ जना उपाध्यक्ष शेर सुनार, पुनम गुरुङ, प्रेम गाहामगर, सुशीला राई र ललित न्यौपानेले छुट्टाछुट्टै घोषणासभा आयोजना गरी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको भए तापनि शेर सुनार र पुनम गुरुङले मात्र अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
शेर सुनार :
भूतपूर्व गोर्खा सैनिक शेर सुनार नेपाली समुदायमा निकै लोकप्रिय समाजसेवी हुन् । उनी एनआरएनए यूकेको उपाध्यक्ष पनि हुन् । रेस्टुरेन्ट व्यवसायीको रुपमा परिचित सुनार एनआरएनएको स्थापनाकालदेखि नै विभिन्न काममा आवद्ध छन् ।
सिर्जनशिल नेपाली समाज यूकेका संस्थापक अध्यक्ष रहेका सुनार विभिन्न नेपाली संघसंस्थाको संस्थापक, सल्लाहकार र आजीवन सदस्यसमेत रहेका छन् । उनले एनआरएनए यूकेको सदस्यता वितरण अभियानको संयोजकमा रहेर १० हजार सदस्यता बनाउने अभियानमा महत्वपूर्ण भूमिका खेलिसकेका छन् । त्यस्तै, उनी वर्तमान कार्यसमितिको बैठकमा शतप्रतिशत उपस्थित हुने एकमात्र पदाधिकारीको रुपमा सम्मानित भएका छन् । उनले एनआरएनए यूकेद्वारा नेपालमा लगानी अवसरबारे आयोजित कार्यक्रमको संयोजन गरिसकेका छन् ।
पुनम गुरुङ :
भूतपूर्व गोर्खा सैनिककी धर्मपत्नी हुन् । बेलायत आएदेखि नै समाजसेवामा आवद्ध हुँदै आएकी गुरुङ तमुधिं यूकेकी पूर्व आमा समूहकी अध्यक्षको भूमिका रहेर काम गरिसकेकी छन् भने घोताने परिवार यूकेको संस्थापक आमा प्रमुख पनि हुन् । त्यस्तै, उनले विगत ६ वर्षदेखि रेस फर लाईफको संयोजकको भूमिका निभाउँदै क्यान्सर रिसर्चको सहयोग गर्दै आएकी छन् । र, वर्तमान कार्यसमितिको उपाध्यक्षमा रहेर काउन्सिल बैठकको संयोजन गरिसकेकी छन् भने निर्मला पन्तको बलात्कार हत्या प्रकरण तथा महिला अधिकारबारे समेत आवाज उठाउँदै आएकी छन् । उनी प्रापर्टी तथा रेस्टुरेन्ट व्यवसायसँग आबद्ध छिन् ।
अहिले दुवै अध्यक्षका उम्मेदवारसहित सबै उम्मेदवारहरु प्रचारप्रसारका लागि मतदाताबीच पुगिरहेका छन् । आगामी नेतृत्व कस्को हातमा पुग्छ, त्यो भने हेर्न बाँकी नै छ । कुनै पनि उम्मेदवारले प्यानल वा समूह बनाएर प्रचारप्रसार गर्न नपाइने व्यवस्था रहे तापनि विभिन्न सामाजिक सञ्जालमार्फत विभिन्न प्यानलहरुले आ–आफ्नो प्रचारप्रसार गरिरहेका छन् ।
एनआरएनए यूकेको विधानअनुरुप राष्ट्रिय समन्वय परिषद्का लागि २७, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यका ७ र ४ वटा राज्यसमिति (वेल्स, उत्तरी आयरल्यान्ड, इंग्ल्यान्ड, स्कटल्यान्ड) का १०/१० गरी पहिलो पटक ७४ स्थानका लागि निर्वाचन हुन लागेको हो । ७४ स्थानमा जम्मा १ सय १७ ले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैबीच वेल्स र उत्तरी आयरल्यान्ड राज्य परिषदका सबै पद निर्विरोध भएका छन् भने स्कटल्यान्ड तथा इंग्ल्यान्ड राज्य परिषद र राष्ट्रिय समन्वय परिषदका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन मण्डलले १५ पृष्ठको नमुना मतपत्र समेत सार्वजनिक गरिसकेको छ ।






