आसफोर्ड । बेलायतवासी याक्थुङ (लिम्बु) समुदायमा सांस्कृतिक जागरण ल्याउन याक्थुङ चुम्लुङ आसफोर्ड शाखाले बृहत् सांस्कृतिक सम्मेलन गर्ने भएको छ ।

नयाँ पुस्तामा समुदायको सांस्कृतिक ज्ञान हस्तान्तरण गर्न सम्मेलन आयोजना गर्न लागिएको हो ।
१८ सेप्टेम्बरमा आसफोर्डमा सम्पन्न आफ्नो नवौँ वार्षिक साधारणसभामा भावी कार्ययोजना प्रस्तुत गर्दै शाखा अध्यक्ष टङ्क येङ्देनले डिसेम्बरमा हुने चाःसोक तङ्नामका अवसरमा सांस्कृतिक सम्मेलन आयोजना गर्न आफू प्रयासरत भएको बताए । ‘सम्मेलनमा याक्थुङ समुदायका सबै सांस्कृतिक पहिचान झल्काउने प्रस्तुतिहरू हुनेछन्,’ उनले भने, ‘प्राज्ञिक बहसदेखि सांस्कृतिक अुनष्ठानहरू पनि गर्ने सोच छ ।’
सम्मेलनमा बेलायतभरका सांस्कृतिक समूहहरूलाई निम्ता दिने बताए । उनले भविष्यमा युवापुस्तालाई लक्षित गरेर भाषिक र सांस्कृतिक कक्षा सञ्चालन गर्न लागिरहेको जानकारी गराए ।
आसफोर्ड शाखालाई गत जुलाई चुम्लुङदेनमा सम्पन्न सिसेक्पा तङ्नाम उत्सवका अवसरमा उत्कृष्ट शाखाका रूपमा केन्द्रले चुम्लुङ अवार्डले पुरस्कृत पनि गरेको थियो । सोही दिन आसफोर्ड केलाङ समूहले यूकेव्यापी केलाङ प्रतियोगिताको उपाधि पनि हात पारेको थियो । आसफोर्ड र केन्ट काउन्टी याक्थुङहरूको सघन बसोबास भएको क्षेत्रमा पर्छ ।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि चुम्लुङ यूकेका उपाध्यक्ष छत्र वनेमले संस्कृति संरक्षणमा संस्थागत भूमिका महत्वपूर्ण हुने धारणा राखे । उनले याक्थुङ समुदायका विविध विषयहरूमा भइरहेको बहसलाई सकारात्मक रूपमा लैजानुपर्ने बताए । त्यस्तै, महासचिव गणेश इजमले चुम्लुङदेन(जग्गा) खरिद गरेपछि चुम्लुङकर्मीहरूको काँधमा थप जिम्मेवारी बढेको जनाए । चुम्लुङ यूकेका पूर्व अध्यक्ष डम्मर सिङ्गकले युवा पुस्ताको अर्थपूर्ण सहभागिताका लागि युवा कमिटी निर्माण गरेर चलायमान गराउनुपर्ने सुझाव दिए । कार्यक्रममा केन्द्रीय सदस्य पूर्ण मादेन, सल्लाहकारहरू लोकेन्द्र तबेबुङ, राजेन्द्र खिम्दिङ, देव हुक्पा चोङवाङ, नरेन्द्र मावोहाङ, निर्मल पतङ्वा, लिम्बुवान नागरिक समाज यूकेका महासचिव लाहाङ चेम्जोङ लगायतले विचार राखेका थिए । यसअघि, सचिव दिवस थोप्राले प्रस्तुत गरेको वार्षिक संस्थागत प्रतिवदेनलाई पारित गरिएको थियो ।
यस्तै, कोषाध्यक्ष सुन्दर लिङ्थेपद्वारा प्रस्तुत कुल ११,१२६.९९ पाउन्डको आय, कुल ४,९७१.८० पाउन्डको व्यय भई कुल ६,१५५.१९ पाउन्डको बचत भएको आर्थिक प्रतिवेदन पनि पारित गरिएको थियो ।
कार्यक्रममा उपाध्यक्ष सोदिप थोप्राले स्वागत मन्तव्य दिएका थिए । साधारणसभामा आएका सुझावहरूलाई समेटेर शाखाले एक वर्षको कार्यनीति र योजनाको प्रारुप तयार पार्ने सचिव थोप्राले बताए ।






