नगेन्द्रराज नेम्बाङ्ग
लन्डन । पाँचथर समाज सेवाको अध्यक्षमा धनकुमार काम्बाङ्ग निर्विरोध निर्वाचित भएका छन् ।

गत आइतबार २२ सेप्टेम्बरका दिन अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा सम्पन्न समाज सेवाको छैटौं अधिवेशनले काम्बाङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा चुडाकर्ण थाम्सुहाङ्ग, उपाध्यक्षहरुमा सन्तबिर नेम्बाङ्ग, खगेन्द्र लावती, चन्द्र बेघा र बिना एकतेन चयन भए भने महासचिवमा प्रेम धालव सुहाङ्ग, सचिवमा टेक सुहाङ्ग, सहसचिवद्वय छवि सेलिङ्ग र नरेन्द्र तुम्बापो, कोषाध्यक्षमा कैलास काम्बाङ्ग, सहकोषाध्यक्षमा होमित योङहाङ्ग र साम्सोगेन नेम्बाङ्ग निर्विरोध निर्वाचित भएका छन् ।
कार्यसमितिको पहिलो चरणमा सचिव प्रेम धालव सुहाङले हेल्थ एण्ड सेप्mटीको जानकारी गराउँदै, अध्यक्ष चन्द्र सुन्दासले दिप प्रज्ज्वलन गरी औपचारिक रुपमा अधिवेशन उद्घाटन गरेका थिए । कोषाध्यक्ष कैलास काम्बाङ्गले पाँचथर कप र संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए भने महासचिव खुशी तावाले संस्थाको दुई वर्ष कार्यकालको प्रतिवेदन प्रस्तुत् गरेका थिए । उपस्थित सल्लाहकार साधारण सदस्य र कार्यसमितिबीच आर्थिक प्रतिवेदनउपर व्यापक छलफल गरी आर्थिक प्रतिवेदन पारित गरेका थिए ।
अध्यक्ष चन्द्र सुन्दासले पाँचौं कार्यकाल सफलतापूर्वक सम्पन्न भएको खुशियाली प्रकट गर्दै संस्थालाई सहयोग पुर्याउने सल्लाहकार, सदस्य लगायत कार्यसमितिलाई धन्यवाद दिँदै कार्यसमिति विघठन गरेका थिए । कार्यक्रमको मध्यान्तरमा पुरानो कार्यसमितिलाई बिदाइ तथा नयाँ कार्यसमितिलाई स्वागतका लागि कलाकारहरुले विभिन्न नृत्य प्रदर्शन गरेका थिए ।
अधिवेशन समापनपछि दोस्रो चरणमा निर्वाचन मण्डलका अध्यक्ष मनप्रसाद चेम्जोङ्ग, सचिव कृष्ण हेम्ब्या र सदस्य दिपक तुम्बापोले नयाँ कार्यसमिति चयन गरेका हुन् । निर्वाचन मण्डलका अध्यक्ष चेम्जोङ्गले नयाँ कार्यसमितिलाई शपथग्रहण गराएका थिए । उपस्थित पाँचथरवासी दाजुभाइ, दिदीबहिनीले नयाँ कार्यसमितिलाई खादा ओढाई सफल कार्यकालको शुभकामना आदानप्रदान गरेका थिए ।
चन्द्र सुन्दासको अध्यक्षमा सम्पन्न अधिवेशनमा वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङ्गले स्वागत मन्तव्य राखेका थिए भने महासचिव खुशी तावाले कार्यक्रम सञ्चालन गरेका थिए ।






