एटा संवाददाता
अल्डरसट । धौलागिरि अञ्चल म्याग्दी जिल्ला पश्चिम म्याग्दी मुदी गाउँमा जन्मी लोक गीत, संगीत क्षेत्रमा लामो समय लागेर देशविदेशका नेपालीलाई मनोरञ्जन दिन सफल कुमारी चेपाङ ५ महिनाको बेलायत बसाइपश्चात् गतहप्ता नेपाल फर्केकी छन् ।
म्याग्दी अर्गनाईजेशन (मोना) यूकेले उनीसहित युवा आधुनिक गायिका निखीता थापा मगर, लोकदोहोरी गायक कुमार पुनलाई नयाँ वर्ष स्वागतार्थ आयोजिक सांस्कृतिक साँझका लागि आमन्त्रण गरेको थियो । कुमार र निखिता यसअघि नै नेपाल फर्किसकेका छन् । मीठो स्वरका धनी चेपाङले बेलायतमा रहेका थुप्रै नेपाली समाजहरुका कार्यक्रममा प्रस्तुति दिएकी थिइन् ।
गतहप्ता म्याग्दी अर्गनाईजेशनले अल्डरसटको भेटघाट रेस्टुरेन्टमा एक समारोहबीच उनलाई बिदाइ गरेको हो । बेनीको बजार, मन पर्ने हजार, खुसीमा रहेछौ हो नी जाले हो, सासु बुहारी र तीजका एल्बम प्रकाशन गरिसकेकी चेपाङ धेरै देशका सांगीतिक भ्रमण गरिसकेका छन् । म्याग्दी जिल्लाका टिकाबहादुर श्रेष्ठ, मनु छन्त्याल, खड्ग गर्बुजा, मिना गर्बुजा, हर्क पाईजा, जुनकेरी पुर्जा, धनकुमारी गर्बुजा, विकास पुन आदि विभिन्न कालखण्डका उत्कृष्ट गायकहरु हुन् । पछिल्लो पुस्ताका कुमार पुन र कुमारी चेपाङ चर्चाको शिखरमा छन् ।
बेनीको बजार, सिख देउराली, यानी माया वा सालैजोजस्ता कालजयी गीत म्याग्दीको माटोको सुगन्ध आउँछ । जो कहिल्यै मरेर जाने छैन ।
म्याग्दी अर्गनाईजेशन यूकेका महासचिव लाल पुलले उद्घोषण गरेको कार्यक्रममा अध्यक्ष दल जुग्जालीले सबैलाई धन्यवाद दिँदै कुमारी चेपाङलाई खादा लगाई बिदाइ गरेका थिए ।
कार्यक्रममा उपाध्यक्षद्वय कुमार फगामी, कोषाध्यक्ष होम रोका, पदम गर्बुजा, साम गुरुङ लगायत बुद्धिजीबीहरुको बाक्लो उपस्थिति थियो ।
सोही दिन दिउँसो बिबिक्यु भोजन गरिएको थियो जुन कार्यक्रम म्याग्दी अर्गनाईजेशन युवा समूहले गरेका थिए ।






