जानु काम्बाङ लिम्बू
अक्सफोर्ड । अक्सफोर्ड नेपाली समाज यूकेले शनिबार अत्यन्तै हर्षोलासका साथ २०७६ सालको बडादसैं तथा शुभ दिपावली साँझ मनाएको छ ।
एक्स ब्रिगेडियर मिस्टर लान ताल्बोर्टको प्रमुख अतिथ्यता रहेको कार्यक्रमलाई संस्थाकै सचिव प्रभात इङ्नामले सञ्चलान गरेको थिए । प्रमुख अतिथि मिस्टर ताल्बोर्टले अक्सफोर्डमा बसोबास गर्ने जेष्ठ नागरिकहरूलाई अंग्रेजी कक्षा सञ्चालनदेखि लिएर परेको खण्डमा आर्थिक सरसहयोगसम्म गर्दै आइरहेको कुरोमा प्रकाश पारेका थिए ।
अक्सफोर्ड नेपाली समाजले स्थापनाकालदेखि नै दसैं तिहार र नयाँ वर्षलाई विशेष चाडको रुपमा मनाउँदै आइरहेको छ । सदाझैं यसपालि पनि नेपालबाट भर्खर आउने सदस्यहरूलाई स्वागत र शिक्षा क्षेत्रमा योगदान पु¥याउने नानीहरूलाई खादा ओढाई सम्मान गरेको थियो । कार्यक्रममा स्थानीय कलाकार नानी रोशनी सिंगक, नुबेन सिंगक, मोडल तथा कलाकार भीम थेबे, अन्जु गुरुङ र नानीहरू भएर विभिन्न गीतहरूमा आकर्षक नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । दुई सयभन्दा बढी सदस्यहरूको उपस्थिति रहेकोे सांस्कृतिक कार्यक्रम सपना लिम्बूले सञ्चालन गरेकी थिइन् ।
नेपालबाट भूपू गोर्खाहरूले बेलायतको आवासीय भिसा पाउनु थालेसँगै अन्य ठाउँहरू जस्तै यहाँ पनि नेपालीहरूको बसोबास बाक्लिँदै गएको पाइन्छ । अक्सफोर्ड नेपाली समाजले भूपू गोर्खाहरू यहाँ आइसकेपछिका आवश्यक कामहरूमा सरसहयोग गर्दै उनीहरूलाई यहाँ हिँड्दा, किनमेल गर्दा अथवा कतै दुःख बिमार पर्दा के गर्ने कसरी आपतकालीन कल गर्ने भन्नेजस्ता विषयमा साताको मंगलबार अंग्रेजी कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ । संस्थाले कक्षा सञ्चालन गर्न लोकल काउन्सिलबाट शिक्षकको पनि ब्यवस्था गरेको छ ।
जेष्ठ नागरिकहरूलाई बर्षमा एकपल्ट बस रिजर्भ गरी बेलायतका विभिन्न ठाउँमा घुम्न लैजाने काम पनि गर्दै आइरहेको छ । यसै कारण पनि हामीलाई समाज चाहिन्छ र केही भइपरी आए समाज छ भनि जेष्ठ नागरिकहरू ढुक्क बन्ने गरेको बताइन्छ ।
कार्यक्रमको सभापतित्व गरेकी पुष्पा राईले आफ्नो मन्तव्यमा कार्यक्रमलाई सफल पार्न सरसहयोग गर्ने सम्पूर्ण सदस्य तथा कार्यसमितिलाई धेरै धेरै धन्यवाद ज्ञापन गरेकी थिइन् ।





