काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फेरि झगडा सुरु भएको छ ।
पार्टी महाधिवेशन र विभाग गठनको विषयमा दुई शीर्ष नेताबीच विवाद भएको हो ।

वरिष्ठ नेता र पौडेल पक्षले महाधिवेशन तयारी, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन र विभाग गठनका विषयलाई प्याकेजमै टुंग्याउन सभापति देउवासँग माग गरेको छ । देउवाले विभाग र नेविसंघ गठनको विषय टुंगो लगाउने तयारी गरेपछि पौडेल पक्षले आइतबार बिहान बूढानीलकण्ठ पुगेर सबै विषयमा प्याकेजमा निर्णय गर्न माग गरेको हो ।
देउवाले दसैंअघि नै विभाग गठन गर्न वरिष्ठ नेता पौडेलसँग नाम मागेका थिए । केन्द्रीय कार्यसमितिको म्याद आगामी फागुन मसान्तबाटै सकिने भएकाले ५ महिनाका लागि विभाग गठनको औचित्य नभएको निष्कर्षसहित पौडेल पक्षले नाम नदिएपछि देउवाले नेविसंघ गठन गर्ने तयारी अघि बढाएका हुन् । आइतबारको भेटमा देउवाले अध्यक्ष र बहुमत सदस्य आफूले राख्ने गरी ८ महिनादेखि विघटित संघको तदर्थ समिति गठन गर्न लागेको प्रसंग उल्लेख गरेका थिए ।
अध्यक्षबाहेक संघमा रहने अन्य पदाधिकारीसहित सदस्यको नाम दिन देउवाले पौडेल पक्षलाई आग्रह गरे तर पौडेल पक्षले महाधिवेशन तयारीलगायत सबै विषयमा ‘एकमुष्ठ’ निर्णय खोजेका थिए । महाधिवेशन ढिला गर्ने नियतबाट एकमुष्ठ निर्णय लिन नखोजिएको आशंका पौडेल पक्षको छ । महाधिवेशनका लागि समयको चाप बढ्दै गएको भन्दै पौडेल पक्षले भ्रातृसंस्थाको अधिवेशन, विभाग, क्रियाशील सदस्यताको अद्यावधि तथा वितरणलगायत सबै विषयलाई एकैचोटि निर्णय गर्नुपर्ने माग उठाएको हो ।
‘महाधिवेशनलाई केन्द्रित गरी सबै मुद्दालाई प्याकेजमै निर्णय गर्नुपर्छ भन्ने माग हामीले राखेका ,’ केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘आज एउटा, एक महिनापछि अर्को निर्णय गर्दै जाने प्रवृत्तिले महाधिवेशनमा ढिलाइ हुने चिन्ता बढेको छ । यस्तो नहोस् भनेरै प्याकेजमै समाधान खोज्नुपर्छ भनेका हौं ।’
संस्थापन पक्षले सभापति देउवाको आलोचना गरिराख्ने नियतबाट पौडेल पक्षको माग आएको जनाएको छ । ‘निर्णय गर्न नदिँदा आलोचना गरिराख्न पाइन्छ भन्ने नियतबाट यस्तो माग उठाएजस्तो देखिन्छ,’ सहमहामन्त्री प्रकाशशरण महतले भने ।
संस्थापन र इतरपक्षबीच झन्डै चार घण्टा भएको छलफलमा पौडेल पक्षले महाधिवेशनको मुद्दामा जोडदिएको थियो ।
छलफलमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष भने उपस्थित थिएन । कान्तिपुरमा समाचार छ ।
आगामी फागुनमा गर्नुपर्ने केन्द्रीय महाधिवेशन एक वर्षपछि सर्ने करिब निश्चित भइसकेको छ । विधानमै एक वर्ष म्याद थप्न पाइने व्यवस्था रहेकाले ०७७ सालको फागुनभित्र मात्रै महाधिवेशन गर्ने तयारी संस्थापन पक्षको छ । पौडेल पक्षले त्यसअघि नै महाधिवेशन धकेल्न सभापतिलाई बाध्य बनाउने रणनीति बनाएको छ ।
म्याद सकिएका भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क समितिको ६ महिनाभित्र अधिवेशन गर्नका लागि अधिवेशन तयारी समिति भनेर गठन गर्नुपर्ने माग पौडेल पक्षले राखेको छ ।
कांग्रेसका १३ भातृसंस्था छन् । ती सबैजसोको म्याद सकिएको छ । कतिपय भ्रातृसंस्थाको १२ वर्षदेखि महाधिवेशन हुन सकेको छैन । तिनीहरूको ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तयारी समिति गठन गर्नुपर्ने पौडेल पक्षको माग छ । देउवा भने महाधिवेशन तयारी समिति नभनी तदर्थ समिति बनाउने तयारीमा छन् ।
नेविसंघ र तरुण दलको समेत ६ महिनाभित्र अधिवेशन गर्नुपर्ने माग पौडेल पक्षले उठाएको छ । नेविसंघ ८ महिनादेखि नेतृत्वविहीन छ । कात्तिक मसान्तबाटै म्याद सकिने तरुण दलमा पनि पछिल्लो पटक विवाद छ ।






