एटा संवाददाता
लन्डन । नेपाली चलचित्र कबड्डी कबड्डी कबड्डी अल्डरसटको प्रिन्सेस हलमा पुनः प्रदर्शन हुने भएको छ । पीपल मोर्गेजेज एण्ड स्टेट एजेण्डको स्कुल प्रोजेक्ट सहयोगार्थ बेलायतका विभिन्न सहरहरुमा विशेष प्रदर्शन भइरहेको चलचित्र अल्डरसटमा आउने १ नोभेम्बर शनिबारका दिन प्रिन्सेस विशेष प्रदर्शन गर्न लागिएको हो । सो चलचित्रको नेपालमा विशेष प्रदर्शन सँगसँगै बेलायतमा पनि २९ सेप्टेम्बर २०१९ का दिन अल्डरसटमा रेड कार्पेट शो भएको थियो । त्यस दिन दर्शकहरुको चापका कारण २ शो हाउसपूmलका साथ प्रदर्शन भएको थियो ।
त्यस्तै, १२ अक्टोबरका दिन स्वीन्डनमा, १३ अक्टोबरका दिन ह्यारोमा, १८ अक्टोबरका दिन फोक्स्टोन तथा योर्कमा र गत २० अक्टोबरका दिन वेन्चेस्टरमा अपार भीडका साथ प्रदर्शन भएको थियो । अल्डरसटमा एकै दिनमा दुई शो प्रदर्शन भएको भए तापनि धेरै दर्शकहरुले पुनः प्रदर्शनको माग गरेपछि आउने शुक्रबार १ नोभेम्बरका दिन प्रदर्शन गर्न लागिएको पीपल मोर्गेजेज एण्ड स्टेट एजेण्डका प्रबन्ध निर्देशक सूर्यप्रकाश गुरुङले जानकारी दिए । उनले अल्डरसट भूपू गोर्खाज्हरुको बाक्लो बसोबास रहेको टाउन भएकोले सो दिन जेष्ठ नागरिकहरुलाई विशेष छुट अर्थात् ५ पाउन्डमा टिकट बिक्रिवितरण गरिने बताए । साथै, चलचित्र बुलफोर्ड, स्टाफोर्ड, क्यूओजिएलआर लगायतका स्थानसमेत प्रदर्शन गरिने भएको छ ।
रामबाबु गुरुङद्वारा निर्देशित उक्त चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, माओत्से गुरुङ, पुस्कर गुरुङ, कर्म शाक्य, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, विल्सन विक्रम राई, अरुणा पोखरेल लगायतको जोडदार अभिनय छ ।
नेपालमा मात्र नभई बेलायतमा समेत हरेक शो हाउसफुलका साथ प्रदर्शन भएको उक्त चलचित्र हेर्न ईच्छुक दर्शकहरुले समयमा नै टिकट लिई आप्mनो सीट सुरक्षित गर्न समेत पीपलले अनुरोध गरेको छ ।
पीपल ग्रुपले यसअघि नै नेपालको ग्रामीण क्षेत्रको विद्यालय निर्माण गर्ने योजना सार्वजनिक गरिसकेको छ । पीपलका अनुसार सन् २०२१ भित्र च्यारिटी मार्फत १० हजार पाउन्ड संकलन गर्ने योजना तय भएअनुरुप ‘प्रोजेक्ट स्कूल’ को सहयोगार्थ चलचित्र प्रदर्शन गरिएको हो ।






