एटा संवाददाता
अल्डरसट । नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसटमा गुरुङ चलचित्र साली र भेनाको बिशेष प्रदर्शन भएको छ । गत शनिबार २ नोभेम्बरका दिन एम्पायर हलमा प्रदर्शन गरिएको हो ।

घान्द्रुक समाज यूकेले प्रदर्शन गरेको सो चलचित्रलाई राजु गुरुङ (मिक्ली) ले निर्देशन गरेका छन् भने किसनगुरुङ (मेप्राङ) ले सहनिर्देशन गरेका छन् । त्यस्तै, दिपकमान उदासले छायांकन तथा सम्पादन, नेत्र गुरुङ र केशव आलेले कोरियोग्राफी गरेका छन् । गुरुङ भाषामा रहेको चलचित्रले गरिबी, गाउँले परिवेश, वैदेशिक रोजगारमा महिलाले पाउने दु:ख, पीडा र रोदनलाई समेट्ने प्रयास गरेको छ । ग्रामीण पर्यटकीयस्थल घान्द्रुक गाउँमा छायांकन गरिएको चलचित्रले वैदेशिक रोजगारमा जाने महिलाहरुलाई विशेष सुझाव दिने प्रयास गरेको छ भने साली र भेनाको माया प्रेम र साईनोको परिभाषालाई बुझाउने प्रयत्न गरेको छ ।
घान्द्रुकवासी कुलप्रसाद गुरुङ, नारायण गुरुङ, मनिता गुरुङ अन्जु गुरुङ, चिनुमाया गुरुङ र प्रिति गुरुङको लगानीमा बनेको चलचित्र करिब २ घण्टा ३० मिनेटको रहेको छ । शुभेच्छा फिल्म प्रोडक्सन प्रालि पोखराको व्यानरमा निर्मित चलचित्रमा यसअघि नेपाल र हङकङमा प्रदर्शन भइसकेको छ भने विभिन्न नेपालका विभिन्न सहर र विदेशमा समेत प्रदर्शन गर्ने तयारीमा रहेको निर्माताको भनाइ छ । घान्द्रुक समाज यूकेका उपाध्यक्ष सत्रमान गुरुङको अध्यक्षतामा प्रदर्शन गरिएको चलचित्र प्रदर्शन पूर्वसमाजका कोषाध्यक्ष जुमप्रसाद गुरुङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव राजकुमार गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा वरिष्ठ सल्लाहकार नारायणसिं गुरुङले हालै असमायिक निधन भएका समाजका सदस्य श्रीभक्त गुरुङ र समाजका अध्यक्ष अर्जुन गुरुङको पूज्यनीय बुवा जमदार सुनबहादुर गुरुङको बारेमा जानकारी दिँदै एक मिनेट मौनधारण गराएका थिए ।






