एटा संवाददाता
लन्डन । ‘नेपाल घुम्न जाऔं’ भन्ने सन्देश बोकेर बेलायत आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग एनआरएनए यूकेले अन्तर्क्रिया गरेको छ ।
गत आइतबार ३ नोभेम्बरका दिन एनआरएनए यूकेद्वारा अल्डरसटस्थित एम्पायर हलमा अन्तर्किया आयोजना गरिएको हो । कार्यक्रममा मन्त्री भट्टराईले सामाजिक संजालमा भने जस्तो नेपालको अवस्था नभएको जिकिर गर्दै आर्थिक वृद्धिदर ७ प्रतिशतले वृद्धि भएको, अमलेखगञ्जसम्म ७० किमिको डिजल र पेट्रोल ल्याउन पाइपलाइन बनिसकेको, भेरी ड्राईभर्सन द्रुतगतिमा निर्माण भइरहेको, अन्तर्राष्ट्रिय लगानीमा ठूल्ठूला हाइड्रोपावरको सम्झौता भइरहेको बताउँदै नेपालमा लगानीको वातावरण रहेको जनाए ।

उनले अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा मार्च २०२० र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जुन २०२१ देखि संचालन हुनेसमेत जानकारी गराए ।
मन्त्री भट्टराईले हरेक गाउँपालिकामा कम्तीमा २० करोड रुपैयाँको बजेट पुगेको, साक्षरताको संख्यामा वृद्धि हुँदै आएको र राजनैतिक स्थायित्व भएकोले पनि सामाजिक संजालमा भने जस्तो देश ध्वस्त नभएको जिकिर गरे ।
उनले वर्तमान संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको उल्लेख गर्दै नागरिकताबारे राज्य व्यवस्था समिति र संसद्मा व्यापक छलफल तथा अन्तर्क्रिया गरिने विश्वास व्यक्त गरे ।
मन्त्री भट्टराईले विदेशी लगानी भित्र्याउनका लागि जमिनको नीति लगानीमैत्री नभएको जनाउँदै विदेशमा बस्ने नेपालीहरु पनि उद्योगी र व्यापारी भएको र एनआरएनप्रति नीतिसमेत उदार भएकोले नेपालमा लगानी गर्न आग्रह गरे । उनले भूतपूर्व गोर्खाजहरुको हक अधिकारका लागि बेलायतका लागि नेपाली राजदूतको पहलमा समस्याको पहिचान भएको बताउँदै छिट्टै उचित पहलकदमी हुने विश्वास व्यक्त गरे ।
पर्यटनमन्त्री भट्टराईले पर्यटन वर्ष २०२० लाई सफल बनाउन आफूहरुले विभिन्न प्रयासहरु भइरहेको बताए । उनले नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि थुप्रै योजनाहरु अघि बढाइरहेको बताउँदै छिट्टै निजगढमा अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने, त्रिभुवन विमानस्थलको टर्मिनल र रनवे विस्तार गर्ने, टुईनेटर विमानहरुलाई प्रदेश केन्द्रित बनाउने, इमिग्रेशनलाई अझ स्मार्ट बनाउने, पर्यटकहरुको अनिवार्य विमाको व्यवस्था गर्ने, पर्यटकहरुलाई डिजिटल प्रविधिमार्फत ट्र्याकिङ्ग गर्दै अझ सुरक्षित बनाउँदै लैजाने सोच राखिएको जानकारी गराए ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन दूतावासले विभिन्न कार्यक्रमहरु अगाडि बढाएको बताउँदै बेलायतका ४ वटै राज्यमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्ने जनाए । त्यसका लागि एनआरएनए यूकेसँग सहकार्य र हातोमालो गरेर अघि बढ्ने उनको भनाइ थियो । उनले नेपाल र बेलायतको २०३ वर्षको ऐतिहासिक सम्बन्धको अवस्थामा नेपाल र इण्ल्याण्डको राष्ट्रिय फुटबल टिमबीच आउने २५ मे २०२० का दिन अल्डरसट टाउनमा मैत्रीपूर्ण फुटबल खेल हुने बताए । जुन खेलका लागि सहारा यूकेले विशेष भूमिका खेलेको जानकारी दिए ।
अन्तर्क्रिया कार्यक्रममा ले.रि. चन्द्र गुरुङले विमानस्थलको कर्मचारी सम्बन्धमा, कृष्ण गैरेले नागरिकता निरन्तरता, धना गुरुङ भूपू गोर्खा हकअधिकार, होम सुनुवारले गोर्खा अधिकार तथा नागरिकता, कृष्ण गुरुङ नेपाल भ्रमण वर्षको बजेट, जुमकाजी गुरुङले नेपाली मेला, थर्क सेनले ट्राफिक व्यवस्थापन, रत्न राईले विकास संभावना, विश्वासदीप तिगेलाले नेपाल भ्रमण वर्षको विज्ञापन, रोशन सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको सुस्त व्यवस्थापन, श्री लिम्बुले भूपू गोर्खा तथा स्किल ट्रान्सफर, क्या. बालकृष्ण गुरुङले फोहोर व्यवस्थापन, तर्कजंग गुरुङले अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता, बाचस्पति रेग्मीले भ्रमण वर्ष, प्रेम गाहा मगरले नेपाल र बेलायतको डाइरेक्ट कनेक्सनबारे जिज्ञासा राखेका थिए । त्यस्तै, मेजर समुन्द्र गुरुङ लगायतले सामाजिक सञ्जालमार्फत समेत विभिन्न जिज्ञासाहरु राखेका थिए ।
कार्यक्रममा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले एनआरएनए आईसीसीले हालै नेपाल सरकारसँग एक जना विदेशी पाहुना नेपाल घुमाउन लैजाने संझौता गरेको बताउँदै नेपाल भ्रमण वर्षलाई सफल बनाउन आफूले प्रचारप्रसार गर्ने बताए । उनले स्थानीय काउन्सिलर, केयर, एयरलाइन्स र बौद्धिक क्षेत्रसँग आवश्यक भेटघाट गरी पर्यटकलाई नेपाल भित्र्याउन आवश्यक पहल गर्ने बताए ।
उनले बेलायतबाट नेपाल सिधा उडान, भिसा शुल्क फ्रि, सुरक्षा प्रबन्ध, शान्तिपूर्ण वातावरण सिर्जना, उपयुक्त खाना र बस्नको व्यवस्था सँगसँगै नेपाली र विदेशी पर्यटकलाई जहाज तथा बस भाडा समान गर्न मन्त्री भट्टराईसँग अनुरोध गरिन् ।
एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रेम गाहा मगरले स्वागत मन्तब्य राखेका थिए भने महासचिव फडिन्द्र भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।






