घलेभञ्ज्याङ (नुवाकोट) । पञ्चकन्या गाउँपालिका ३ थापा टोलमा बगाले थापा क्षेत्री समाजले निर्माण गरेको कुलपूजा घरको शनिबार उद्घाटन गरिएको छ ।
शनिबार आयोजित कार्यक्रममा समाजका जेष्ठ सदस्य ज्ञानबहादुर थापाले कूलपूजा घरको उद्घाटन गरेका हुन् । मन्दिर चित्रबहादुर थापाले प्रदान गरेको १ रोपनी जग्गामा निर्माण गरिएको छ ।

लम्बाई ३२ फिट र चौडाई १२ फिट रहेको कुलपूजा घर ५ लाख ६२ हजारमा निर्माण सम्पन्न भएको कुल तथा वायु पूजा व्यवस्थापन कार्यसमितिका सचिव गुरुबहादुर थापा (साइँला)ले जानकारी दिए । उनका अनुसार घलेगाउँको थापा टोलमा ५९ घरधुरी छन् ।
कुलपूजा घर निर्माणका लागि ९ लाख रुपैयाँ चन्दा संकलन भएको सचिव थापाले बताए । उठेको रकममध्ये २ लाख धामीलाई दिइएको छ । बाँकी रकम अन्य कार्यका लागि खर्च गरिने उनले बताए ।

थापाहरुका कुल देवता थानमा तीन वर्षसम्म लगातार बलि चढाउनु पर्ने चलन छ । गत वर्ष २१ वटा बोका बलि चढाइएको थियो । समाजमा अहिलेसम्म ५ झाँक्री उत्पन्न भइसकेको पनि उनले बताए । समाजका कुनै पनि घरका मान्छे अकालमै मृत्यु भएमा उनको वायु जुन व्यक्तिलाई उत्रिन्छ । त्यस व्यक्ति झाँक्री बन्ने गर्दछ । अहिलेसम्म गोविन्द थापा, उद्धव थापा लगायत ५ झाँक्री बनेका छन् ।






