तमु भाषाका चलचित्रमा नायक/नायिकाको आगमन बढ्दो छ । जसले गर्दा विश्वभर फैलिइरहेको गुरुङ भाषा, संस्कार र संस्कृतिमा आधारित चलचित्रहरुका दर्शकले नयाँ अनुहारको स्वाद चाख्न पाएका छन् । कतिपय नवकलाकार रहर पूरा गर्न रंगक्षेत्रमा लाग्छन् । केही भने, मौलिकधारको चलचित्रलाई शिक्षा, अनुभव मान्दै नेपाली चलचित्रमा फड्को मार्ने कसरतमा छन् । मूलधारको नेपाली चलचित्र जगतमा छिर्ने दाउ पर्खिरहेका नवनायक हुन्, आनन्द गुरुङ । 
०००
स्याङ्जा गहतेका आनन्दले वेदबहादुर गुरुङ (श्याम) निर्देशित तमु भाषाको चलचित्र ‘युम्पो देउराली’ बाट यस क्षेत्रमा ‘डेब्यू’ गरेका हुन् । २०५० असार ३० मा जन्मिएका आनन्दले चलचित्र खेल्नुअघि दुर्गा गुरुङ र राजु गुरुङको ‘देउराली भञ्ज्याङ’ सालैजोमा मोडलिङ गरेर कलाकारिता सुरु गरेका थिए । जुन गीतमा उनी लाहुरेको भूमिकामा रहे ।
दुई वर्षपछि २०७३ सालमा उनले प्रितम गुरुङ निर्देशित ‘ङोलो ङोल्स्यो’ (सेल्टासोल्टिनी) मा मुख्य नायकको रुपमा खेले । ५ फिट १० इन्च अग्ला, सेतो वर्ण, लक्का जवान अनि लोभलाग्दो शारीरिक बनावटका आनन्दको अभिनय कला नेपालका गुरुङ चलचित्रका हस्तीहरुले मात्रै मन पराएनन्, ङोलो ङोल्स्यो चलचित्र हेरेपछि बेलायत, हङकङका नेपालीले पनि रुचाए । जसको परिणाम यूकेमा रहेका चलचित्र निर्माता गोपाल गुरुङ र हङकङ बस्ने चलचित्र निर्देशक सुवास गुरुङले नयाँ फिल्मका लागि अफर गरे आनन्दलाई । त्यसपछि उनले २०७४ सालमा गुरुङ भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘खै ओ म्हीथेबा’ (आयो है ठूलो मान्छे) मा नायक भएरै झुल्किन पाए । सो चलचित्रमा गोपाल गुरुङ, सूर्य गुरुङ, खुशी गुरुङ, बसन्त गुरुङलगायत निर्माता थिए ।
०००
एभरेस्ट टाइम्सकर्मीसँग शनिबार धुम्बाराहीको एक भोजनालयमा वार्तालाप गर्दै नायक आनन्दले आफूले मातृभाषामा ३ वटा चलचित्र खेलिसकेको र दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेको सुनाए । उनले नरजंग गुरुङको ‘जुनजस्तै मुहार’ लगायत कौडा र सालैजो गीतका भिडियोहरुमा समेत अभिनय गर्न भ्याइसके ।
०००
बाजेपुस्ता ब्रिटिस लाहुरे, आमा चिनमाया गुरुङ, बुबा लीलराज गुरुङ नेपाली व्यवसायी हुन् भने दाजु सोभित गुरुङ डक्टर छन् आनन्दको । गुरुङ समुदायमा लाहुरे हुने संस्कार अझै हराइसकेको छैन । आनन्दलाई पनि बुबाआमा लाहुरे नै बनाउन चाहन्थे । तर उनी चलचित्र क्षेत्रमा रुचि राख्थे । उनका दाजु पनि डक्टरी लाइनमा लागे । ६/७ कक्षा पढ्दादेखि नै चलचित्र हेर्नमा औधी इन्ट्रेस राख्ने आनन्द राजेश हमालजस्तै चलचित्र क्षेत्रमा छाउने र सबैले चिनोस् भन्ठान्थे ।
अझ रोचक कुरा त, उनी स्याङ्जामा भएको बेला बाजेबज्यै भेट्न बेलाबेलामा काठमाडौं आउजाउ गर्थे । जुन बेला अहिलेजस्तो युट्युवको पहुँच थिएन, चलचित्र हेर्न टिभी वा सिनेमा घर ताक्नु पथ्र्यो । उनले बालापन सम्झे, ‘टिभीमा गोरे गुरुङको विदेशको माटो स्वदेशको पीडा फिल्म लगाइदिनु भन्थे आन्टीलाई, सायद हरेक दिन हेर्थे ।’ बाल मस्तिष्कमा घुसेको चलचित्र क्रेजले अहिले स्वयम् आनन्द फिल्मी क्षेत्रमा संघर्ष गरिरहेका छन् । उनी जीवनमा महानायक हमालसहित चर्चित नायक गोरे गुरुङ, नायक आकाश श्रेष्ठ, कोरियोग्राफर कमल राई मनपर्ने स्रष्टा रहेको बताउँछन् ।
०००
गहते गाउँमै बालापान बिताएका आनन्द ६ कक्षादेखि भने काठमाडौंको एन्जल हार्ट सेकेन्डरी स्कुल मनमैंजु पढे । वि.सं. २०६७ मा एसएलसी पास भएपछि मोर्गान इन्टरनेसनल कलेजमा प्लस टु सिध्याए । त्यसपछि उच्च शिक्षाको साटो चलचित्रमा बढी समय दिन थालेको उनले बताए । पहिलो चलचित्र युम्पो देउरालीको छायांकनको क्रममा पोखराको साबेत गाउँमा बस्दा उनले खुब पारिवारिक वातावरण पाएको अनुभव सुनाए । सानैदेखिको आफ्नो इच्छाअनुसार मनोरञ्जन दुनियाँमा छिरिसकेपछि उनले औपचारिक पढाईलाई अघि बढाउन सकेनन् ।
युम्पो देउरालीमा जोडिन पुग्नुको कथा पनि लामै छ । ह्वाइट लोटस स्टुडियो पोखराका गंगा गुरुङले युम्पो देउराली चलचित्र निर्माणबारे थाहा दिएका थिए, उनलाई । त्यसपछि आनन्दलाई पोखरा अडिसनका लागि डाकियो । जसमा गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का अध्यक्ष एवं युम्पो देउरालीका निर्देशक वेदबहादुर गुरुङ (श्याम) र ह्वाइट लोटस स्टुडियो प्रालिका प्रबन्ध निर्देशक युग गुरुङले उनलाई छानेका थिए । काठमाडौंमा हुर्केका आनन्दलाई गुरुङ भाषा अलि कम आउने भएकाले त्यस चलचित्रमा सहनायक हुन पर्यो । ‘म काठमाडौंमा हुर्केकोले गुरुङ भाषा बोल्नमा कमजोर थिएँ, त्यसैले सहनायकको रोल पाएँ ।’ गुरुङ भाषाको चलचित्र खेल्ने अवसरले आफूलाई तमु भाषा सिक्ने मौका मिलेको उनी बताउँछन् ।
०००
लगातारजस्तै गुरुङ भाषाको चलचित्र खेलेपछि आनन्दमा नेपाली चलचित्र खेल्ने हुटहुटी चल्यो । त्यही सिलसिलामा अभिनय तिखार्न प्रशिक्षणतिर लागे । ‘राम्रो गर्ने र नेपाली चलचित्र खेल्ने इच्छा जागेपछि केही समय चलचित्र खेल्न छोडेर अभिनय प्रशिक्षणमा ज्वाइन गरेँ’ उनले सुनाए, ‘अनुप बरालसँग एक्टर स्टुडियो झम्सिखेल ललितपुरमा ३ महिना सिकेँ ।’ उनी गुरुङको छोरा भएर नेपाली चलचित्र फाँटमा चिनिने इच्छा पालिरहेका छन् । उनले भने, ‘चर्चित हिरो बन्ने सपना पूरा भएको छैन ।’
छोरा (आनन्द) को इच्छाविपरीत लाहुरे बनाउन चाहने आमाबुबा पछि उनकै बाटोमा डोरिए । रोधीं डिजिटलको प्रस्तुति, गोविन्द गुरुङ (ज्याक), धनराज गुरुङ र आनन्दकी आमा चिनमाया गुरुङको निर्माण र चलचित्र लेखक एवं निर्मातासमेत रहेका प्रितम गुरुङको निर्देशनमा बनेको ङोलो ङोल्स्यो चलचित्रबाट भने नायकको परिचय बनाए उनले । गुरुङ समुदायमा चिनिएका कलाकार आनन्द खै ओ म्हीथेबा चलचित्र प्रदर्शनका क्रममा हङकङ र कतार पुगे । अब नोभेम्बर ५ मा थाइल्यान्ड जाने सुरसार गरिरहेका छन् । खै ओ म्हिथेबा चलचित्र नोमिनेसनमा परेकाले अवार्ड वितरण समारोहमा भाग लिन थाइल्यान्ड जान लागेको उनले बताए ।
खै ओ म्हीथेबा नेपालका काठमाडौं, पोखरा, चितवन, गोरखा र विदेशमा बेलायत, हङकङ, अमेरिका, कतार लगायत देशमा प्रदर्शन भइसकेका छन् ।
०००
अचेल भने गुरुङ फिल्म र म्युजिक भिडियोकै काममा व्यस्त रहेको उनले सुनाए । किन चलचित्र खेल्नुहुन्छ भन्ने प्रश्नमा आनन्द भन्छन्, ‘आफ्नो समुदायको संस्कार, संस्कृति अरुलाई देखाउने, नयाँपुस्तामा सारेमा संरक्षण हुन्छ र पछि पछिसम्म हेर्छ भन्ने लागेर चलचित्र र म्यूजिक भिडियो खेल्दै आएको हुँ ।’ ५ वर्षदेखि लगातार चलचित्र क्षेत्रमा लागिरहेका आनन्द यही क्षेत्रमा आनन्द मिलिरहेको बताउँछन् । भन्छन्, ‘चलचित्रबाट गुरुङ समुदायको संस्कार, संस्कृति भाषा, चालचलन सबै के हो भन्ने नयाँपुस्तालाई देखाउन पाउँदा संरक्षण भएको महसुस गर्दै पैसा नकमाए पनि सन्तुष्टि लिन्छु ।’
०००
चलचित्र राम्रो भए पनि राज्यको नीति र मूलधार भनिएका नेपाली भाषाका कलाकर्मीका कारण मातृभाषाको चलचित्र हलमा प्रदर्शन हुन पाउँदैनन् । च्यारिटीको रुपमा मात्रै देखाउँदै हिँड्नुपरेकोले यो चलचित्र व्यावसायिकता लिन नसक्दा निर्माता, कलाकाहरुहरुले मार खेपिरहनु परेको उनको बुझाइ छ । तमु चलचित्रले व्यावसायिकता लिन नसके पनि सोही चलचित्र हेरेर देश, विदेशमा रहेका गुरुङहरुले आफ्नो संस्कार, संस्कृति थाहा पाउने र भाषा सिक्ने माध्यम बनेकोमा उनी खुसी छन् । ‘गुरुङ कथावस्तुमा बनेको चलचित्रमा भाषा पनि गुरुङ नै होस्’ उनको अनुभव छ, ‘गुरुङ चलचित्र हेरेर भाषा सिकिरहेको मैले पाएको छु । अबको दिनमा पनि यसको संरक्षण चलचित्रबाट हुन्छ भन्ने विश्वास छ ।’
०००
पढे–नपढेका युवावर्ग बिदेशिनेक्रम बढ्दै गइरहेको बेला आनन्द नेपालमै केही गर्नुपर्ने सोचमा छन् । चलचित्र क्षेत्रलाई निरन्तरता दिन पनि साइड बिजनेस आवश्यक ठान्ने उनी भविष्यमा रेस्टुरेन्ट व्यवसायमा हात हालूँ कि भन्नेमा छन् । ‘चर्चामा नपुगेसम्म चलचित्रमा लागेर जीवन धान्न गाह्रो छ । साइड बिजनेस रेस्टुरेन्ट खोल्ने सोच छ,’ उनले अठोट व्यक्त गरे, ‘तर, चलचित्र मुख्य रुपमै हुन्छ ।’
०००
चलचित्रमा लागेको छोटो अवधिमै अवार्ड हात पार्नेमध्येमा पर्छन् आनन्द । २०७५ मा ङोलो ङोल्स्यो चलचित्रबाट नवनायकको रुपमा रोधीं सिने अवार्ड स्रष्टा सम्मान प्राप्त गरे । त्यस्तै संसारभरका गुरुङ समुदायका मनमनमा बस्न सफल चलचित्र खै ओ म्हिथेबाबाट भेनेजुएलामा भएको FICOCC (Five Continents International Film Festival) मा ‘वेस्ट योङ याक्टर फिचर फिल्म अवार्ड’ थापे ।
त्यत्तिमात्रै होइन, सागर आले र मेलिना राईद्वारा स्वरबद्ध ‘कमल फुल्यो हिलैमा’ म्युजिक भिडियो ‘World Nepali Music Award, NewYork 2019’ मा टपटेन हुँदै थ्रीमा पुगेको छ । जसको रिजल्ट नोभेम्बरमा हुने जनाइएको छ ।
०००
आनन्दको परिचय नायक, मोडल त हुँदै हो । उनी ‘जुरी’, नाच्ने कला भएका र सामाजिक सेवकका रुपमा पनि चिनिएका छन् । गाउँमै सानो छँदा मेला, महोत्सव र विभिन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा नाच्थे उनी । त्यही अभ्यासले बिनाप्रशिक्षण आनन्द नाच्नमा खप्पिस भए । सामाजिक सेवाकै लागि भनेर आँधीखोला तमु (गुरुङ) समाज काठमाडौंका सदस्य, आँधीखोला तमु युवा क्लबको अध्यक्ष, तमु कलाकार संघ, गुरुङ फिल्म एसोसिएसन (जिफान)को सदस्य छन् भने उनी पाँचौं नुवाकोट महोत्सव २०७४ मा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
०००
विवाहको उमेर भए पनि उनी सिंगल छन् । करियर नबनाई विवाह नगर्ने मुडमा छन् आनन्द । लभ परेको छ कि ? भन्ने प्रश्नमा उनले हाँस्दै भने, ‘त्यस्तो छैन ।’ अहिले नै विवाहको तयारी नगरिएको बताउने आनन्दलाई आमाबुबाले विवाह गर, कमाउनु पर्यो भनेर झकझक्याइरहन्छन् रे ! उनले अलि ढिला बिहे गर्ने भन्दै टार्ने गरेको सुनाए ।
प्रायः मान्छेले जीवनसाथीका लागि बाहिरी सुन्दरतालाई ध्यान दिएको देखिन्छ । तर, नायक आनन्द आफ्नो भावी जीवन संगिनीको विशेषताबारे भन्छन्, ‘मन मिलोस्, बाहिरीभन्दा भित्री रुप होस् । सबै कुरा बुझ्ने, परिवारको ख्याल गर्ने होस् ।’
०००
भनिन्छ, जातीय पहिचान भनेको मौलिक संस्कार, संस्कृति, भाषा, भेषभूषा आवश्यक छ । आफूलाई गुरुङको रुपमा स्थापित गर्न भाषा जान्नुको साथै गुरुङ ड्रेस मनपर्ने उनले सुनाए । बीच बीचमा नेपालका आदिवासी जनजातिले आफ्नो भेषभूषा लाउन र भाषा बोल्न छोडे पनि पछिल्लो समयमा सांस्कृतिक रुपमा पुनर्जागरण देख्दा आफूलाई खुसी लाग्ने गरेको उनी बताउँछन् । सुझाव छ, ‘आफ्नो पहिचान बिर्सनु हुँदैन । कर्मथलो जहाँ भए पनि जन्मथलो बिर्सनु भएन ।’
प्रस्तुति : टीकाराम तामाङ






