एटा संवाददाता
लन्डन । नेपाली वेलफेयर सोसाईटी यूकेको गठन भएको छ ।
गत आइतबार २४ नोभेम्बरका दिन हन्स्लो वेष्ट, लन्डनस्थित स्पोर्टस् क्लब हन्स्लोमा सम्पन्न बेलायतमा बसोबास गर्ने नेपाली (सार्की, मिजार) हरुको भेलाले धनबहादुर सार्कीको अध्यक्षतामा नेपाली वेलफेयर सोसाईटी यूकेको गठन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्णबहादुर नेपाली, महासचिवमा शर्मिला नेपाली, सचिवमा समसेर नेपाली, कोषाध्यक्षमा थमबहादुर रोका, सहकोषाध्यक्षमा किरण नेपाली चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा आशादेवी रोका, धबिन्द्र बौडेल र बुद्धिबहादुर रोका चयन भएका छन् । भेलाले सोसाईटीको वरिष्ठ सल्लाहकारमा गोपाल रोकालाई चयन गरेको छ । कार्यक्रममा सोसाईटीका जेष्ठ नागरिक श्यामबहादुर सार्की, वरिष्ठ सल्लाहकार गोपाल रोका लगायतले नयाँ कार्यसमितिको सफल कार्यकालको शुभकामनासहित बधाई दिए । त्यस्तै, सोसाईटीका वरिष्ठ सल्लाहकार रोकाले नवनिर्वाचित अध्यक्ष लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।
साथै, भेलाले पहिलो साधारणसभा तथा अन्तर्राष्ट्रिय जातीय रंग दिवस २१ मार्च २०२० का दिन विविध कार्यक्रमका साथ मनाउने निर्णय समेत गरेको छ ।
सिर्जनशिल नेपाली समाज यूकेका निवर्तमान अध्यक्ष धनबहादुर सार्कीको संयोजकत्वमा सम्पन्न भेलामा सहभागीहरुले समाजको आवश्यकता र एकता लगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
आफ्नो सदस्यहरुबीच एकअर्कामा सुख–दु:ख बाँड्ने लगायतका उद्देश्यका साथ स्थापना भएको सोसाईटीले बेलायतमा स्थायी तथा अस्थायी रुपमा बसोबास गरिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लगायत आफ्ना समुदायका सदस्यहरुको हकहित तथा कल्याण र पहिचानका लागि संस्थाको आवश्यकता महसुस भई सो संस्था स्थापना गरिएको जनाएको छ । भेलामा संयोजक धनबहादुरले सार्की समुदायबारे जानकारी गराएका थिए ।
कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष एवं भेला संयोजक सार्कीले भेलामा सहभागी सबैलाई धन्यवाद दिँदै नवनिर्वाचित कार्यसमितिका साथीहरुलाई बधाई ज्ञापन गरे ।