एटा संवाददाता
लन्डन । सहारा यूकेले विविध कार्यक्रमका साथ ११ औं वार्षिक च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको छ । गत शनिबार ३० नोभेम्बर साँझ अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरिएको हो । सो च्यारिटी डिनरमा सहारा यूकेको विकासमा महत्वपूर्ण भूमिका निभाउँदै आएका सहारा यूकेका पूर्वसचिव ओमप्रसाद गुरुङलाई सहारा यूके अवार्डबाट सम्मान गरेको छ ।

त्यस्तै, सहारा यूकेका पूर्वउपाध्यक्ष एवं वर्तमान सल्लाहकारसमेत रहेका डिलरास गुरुङ र कार्यसमितिका सदस्य योगेश गुरुङ सहारा यूके स्पेशल अवार्डबाट सम्मानित भएका छन् ।
सहारा यूकेले विगत केही वर्षदेखि सहारा यूकेमा आबद्ध रहेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउने सदस्यलाई सो अवार्डबाट सम्मान गर्दै आएको छ । सोही सम्मान गर्ने क्रममा पूर्वसचिव गुरुङले सहारा क्लब पोखराको अक्षयकोष संकलनमा संयोजक रही महत्वपूर्ण भूमिका खेलेको, पूर्वउपाध्यक्ष गुरुङले सहारा यूकेको च्यारिटी अनुदान संकलन अभियानमा संयोजक भई प्रायोजक खोजीमा विशेष भूमिका खेलेको र कार्यसमिति सदस्य गुरुङले सहारा यूकेद्वारा सिन्धुपाल्चोकमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणमा संयोजक भई विशेष भूमिका खेल्नुका साथसाथै तीनै जनाले सहारा यूकेको चौतर्फी विकासमा विशेष योगदान पुर्याएकोमा उनीहरुलाई सो अवार्डबाट सम्मान गरिएको पूर्वअध्यक्ष एवं अवार्ड कोर्डिनेटर दिलीप गुरुङले कार्यक्रममा जानकारी गराएका थिए ।
स्थानीय अल्डरसट क्षेत्रका निवर्तमान सांसद लियो डोचार्टी लगायत स्थानीय रसमुर बरो काउन्सिलका अधिकारी, काउन्सिलर लगायतको विशेष उपस्थिति रहेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले प्रमुख अतिथिको आशनबाट नेपाल र बेलायतको सम्बन्ध सन् १८१६ देखि गाँसिदै आएको बताउँदै गत जुन महिनामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको औपचारिक भ्रमण गरेको स्मरण गरे । उनले नेपालको राष्ट्रिय फुटबल टिमले मे २५ का दिन अल्डरसटमा इंग्ल्यान्ड टिमसँग फुटबल खेल्ने बताउँदै सो खेलको अवसर प्रदान गर्नका लागि सहारा यूकेका संस्थापक अध्यक्ष नविन गुरुङ, पूर्वअध्यक्ष दिलीप गुरुङ, मिन गुरुङ र वर्तमान अध्यक्ष कुमार गुरुङले खेलेको महत्वपूर्ण भूमिकाको खुलेर प्रशंसा गरे । साथै, उनले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएकोमा बेलायतबाट १ लाख पर्यटक भित्र्याउने लक्ष्य बनाइएकोले सो लक्ष्य हासिल गर्न बेलायतवासी नेपालीहरुलाई सहयोग गर्न अनुरोध गरे । उनले नेपाल सुरक्षित, शान्तिपूर्ण र प्रकृतिले सिंगारिएको अत्यन्त सुन्दर देश भएको बताउँदै बेलायतका स्थानीय बासिन्दाहरुलाई नेपाल भ्रमण गर्न अनुरोधसमेत गरे । त्यस्तै, उनले मिस वल्र्ड नेपाल अनुष्का श्रेष्ठ मिस वल्र्डको प्रतियोगितामा हाल बेलायतमै रहेको र उनलाई बिजय बनाउन सहयोग गर्न अनुरोधसमेत गरे ।
सो अवसरमा अल्डरसट क्षेत्रमा निवर्तमान सांसद लियो डिचार्टीले सहारा यूकेले अनाथ बालबालिकाहरुको सहयोगार्थ गर्दै आएको परोपकारी कार्यको प्रशंसा गर्दै रस्मुर बरो काउन्सिल र गोर्खा नगरपालिकाबीच भगिनी सम्बन्ध गाँसिन लागेको स्मरण गरे ।
बेलायतमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सहारा यूकेका अध्यक्ष कुमार गुरुङले प्रमुख अतिथि लगायत सबैलाई उपस्थितिको लागि धन्यवाद दिँदै सबैको साथ र सहयोगकै कारण सहारा यूकेले विभिन्न परोपकारी कामहरु गर्न सफल भएको जनाए ।
सहारा यूके उपाध्यक्ष ले.रि. कुसाङ्ग गुरुङको संयोजनमा सम्पन्न कार्यक्रममा सहारा यूकेमा आबद्ध रहेकी पुनम गुरुङ एनआरएनए यूकेको अध्यक्षमा, सहारा यूकेका सचिव बाचस्पति रेग्मी पाल्पाली समाज यूकेको अध्यक्ष, कार्यसमिति सदस्य विश्वजङ्ग गुरुङ लमजुङ समाज यूकेको अध्यक्षमा र आजीवन सदस्य पुरन गिरी अन्तर्राष्ट्रिय पर्वत समाज यूकेको अध्यक्षमा हालै निर्वाचित भएकोमा उनीहरुलाई अध्यक्ष कुमार गुरुङले सहारा यूके लोगो अंकित गलबन्दी लगाई बधाई दिँदै सम्मान गरेका थिए । त्यस्तै, हालै सहारा यूकेको सदस्यता लिएका नयाँ सदस्यहरुलाई सहारा यूके लोगो अंकित गलबन्दी तथा सहारा यूकेको ब्याच लगाई स्वागत गरिएको थियो ।
सहारा यूकेको विभिन्न कार्यक्रमलाई मिडियामार्फत प्रचारप्रसारमा सहयोग गर्दै आएका पत्रकारहरु मिलन तमु, वाचस्पति रेग्मी, सविन्द्रकुमार गुरुङ र पूर्ण गुरुङलाई सम्मान गरिएको थियो । साथै, कार्यक्रममा च्यारिटी रकम सहयोग गर्ने विभिन्न व्यक्ति र संघसंस्थालाई सहयोगका लागि धन्यवाद दिँदै सहारा यूके लोगो अंकित गलबन्दी लगाई सम्मान गरिएको थियो । विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा नेपालबाट आएका कलाकार सिर्जु अधिकारी, भिम पौडेल, स्थानीय गायिका ममता गुरुङ, रसना गुरुङ र सपन राईले विभिन्न चर्चित गीतहरु गाएका थिए ।
त्यस्तै, आकृति राई, आशा गुरुङ, मेलिसा गुरुङ, निशा गुरुङ लगायतले विभिन्न गीतमा आकर्षक नृत्य प्रस्तुत् गरेका थिए । त्यस्तै, सहारा यूकेले गर्दै आएको विभिन्न च्यारिटीमूलक कार्यहरु समेटिएको वृत्तचित्रसमेत प्रस्तुत् गरिएको थियो ।
नेपाली समुदाय बेलायतमा फुटबलको विकास गर्ने उद्देश्य अनुरुप स्थापना भएको सहारा यूकेले विशेषगरी पोखरास्थित सहारा एकेडेमीमा रहेका अनाथ बालबालिकाहरुको सहयोगमा जुट्दै आएका छन् । सोही अनाथ बालबालिकाहरुको सहयोगार्थ स्थापना गरिएको अक्षय कोषमा थप गर्ने उद्देश्यका साथ सहारा यूके अध्यक्ष कुमार गुरुङ र उपाध्यक्ष ले.रि. कुसाङ्ग गुरुङले गत अक्टोबर महिनामा १० माईलको सिम्प्mली हेल्थ रनमा भागलिई करिब पाँच लाख रुपैयाँ सहयोग रकम संकलन गरिसकेका छन् भने सो च्यारिटी कार्यक्रमबाट बचत भएको रकमसमेत सोही अनाथ बालबालिकाहरुको सहयोगार्थ स्थापना गरिएको अक्षय कोषमा सहयोग गर्ने सहारा यूकेले जनाएको छ ।
सहारा यूकेका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक एवं उपाध्यक्ष ले.रि. कुसाङ्ग गुरुङले स्वागत मन्तव्य दिएका थिए । त्यस्तै, महासचिव धनु थकालीले औपचारिक कार्यक्रम, सूर्य गुरुङ र योगेश गुरुङले साँस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।






