एटा संवाददाता
लन्डन । तमु समाज यूकेले अघिल्लो वर्षहरुमा झै यस वर्ष पनि गुरुङहरुको महान् पर्व ल्होछार (नयाँ वर्ष) लाई भव्य तथा सफलताका साथ मनाउने भएको छ ।

समाजले गत शनिबार १४ डिसेम्बरका दिन आफ्नै भवनमा बैठक बसी च्यु (मुसा बर्ग) ल्होछार÷ल्होसारलाई विविध कार्यक्रमका साथ मनाउने निर्णय गरेको छ । ल्होछार/ल्होसारको तयारीबारे बसेको बैठकले तमु (गुरुङ) भेषभुषा, कला संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्दै आफ्नो पहिचानलाई जीवन्त राख्न आफ्नै मौलिक पर्व ल्होछार÷ल्होसारलाई तामझामका साथ आगामी शनिबार ४ जनवरी २०२० दिन ह्यारो लेजर सेन्टर, ह्यारो, लन्डनमा मनाउनका लागिएकोले कार्यक्रममा उपस्थितिका लागि बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । साथै, समाजले त्यस दिन कार्यक्रममा सहभागी भई एकअर्कामा शुभकामना आदानप्रदान गर्दै भव्य रुपमा तमु च्यु (मुसा बर्ग) ल्होछार÷ल्हासार मनाउन सबैमा हार्दिक अनुरोध गरेको छ ।
तमु समाज यूकेका अग्रजहरुको समेत विशेष उपस्थिति रहेको बैठकले समाजका संयोजक कमल गुरुङले सबै कार्यक्रमको संयोजन गर्ने, कल्चरल सेक्रेटरी सरु गुरुङले र आमा समूहकी अध्यक्ष बिन्दु घलेले कल्चरल डान्सको तयारी गर्ने निर्णय गरेको छ ।
बैठकले आमा समूहकी निवर्तमान अध्यक्ष माया गुरुङलाई प्रायोजकहरु खोज्ने जिम्मेवारी प्रदान गरेको छ । त्यस्तै, हरिमान गुरुङले खाना, पूर्वअध्यक्ष शिवशरण गुरुङले स्टेज डेकोरेशन, निवर्तमान अध्यक्षल अर्जुनकुमार गुरुङले सिर्टिफिकेट र प्रोग्राम लगायत प्रिन्टको तयारी गर्ने, उपाध्यक्ष शिव कुमारले भिआईपी सिटिङ्ग प्लान गर्ने र आमा समूहको अध्यक्ष बिन्दु घलेले अतिथिहरुलाई स्वागत तथा हेरविचार गर्ने भएको छ । साथै, बैठकले कोषाध्यक्ष यम गुरुङ र सहकोषाध्यक्षलाई अर्थ व्यवस्थापन, ओमकार गुरुङ तथा टेक गुरुङलाई फोटोग्राफी र बिशन गुरुङलाई भिडियोमा जिम्मा दिने निर्णय गरेको छ ।
ल्होछार/ल्होसारलाई कसरी व्यवस्थित र प्रभावकारी ढंगले आयोजना गर्न सकिन्छ भन्ने विषयमा व्यापक रुपमा छलफल भएको बैठकले सचिव बुद्धि गुरुङले सेक्युरिटी टिमको व्यवस्थापना गर्ने, उपाध्यक्ष कन्याप्रसाद गुरुङले अतिथिहरुलाई खाना र पेय पदार्थको व्यवस्था गर्ने, अध्यक्ष र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले सबै ठाउँमा हेर्ने जिम्मेवारी बाँडफाँड गरेको छ ।
संस्थापक अध्यक्ष, निवर्तमान उपाध्यक्ष ले. मिम र बिजु गुरुङको पनि उपस्थिति रहेको बैठकको अन्त्यमा च्यु ल्होछार÷ल्होसार भव्य रूपमा सफल बनाउनको लागि आफ्नो तन, मन, धन, भौतिक, आर्थिक अनि नैतिक रुपले सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
समाजका अध्यक्ष शिवचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकको सुरुवातमा संस्थाका कोषाध्यक्ष यम गुरुङले आर्थिक विवरण प्रस्तुत् गरेका थिए भने महासचिव हर्क गुरुङले बैठक सञ्चालन गरेको तमु समाज यूकेले जानकारी गराएको छ ।






