आसफोर्ड (बेलायत) । याक्थुङ समुदायको सबैभन्दा ठूलो चाडका रूपमा विकास भएको चासोक तङ्नामलाई देश विदेशमा पनि भव्यतापूर्वक मनाउने क्रम जारी छ । नेपालमा सामान्यतया मंसिर पूर्णिमाका दिनदेखि मनाउन थाल्ने परम्परा भए पनि प्रवासमा भने बिदाका दिन पारेर मनाउने प्रचलन छ ।

नेपालबाहिर याक्थुङ (लिम्बु) समुदायको सबैभन्दा दोस्रो ठूलो जनसांखिक बसोबास रहेको बेलायतमा पनि आधा दर्जन बढी ठाउँहरूमा चासोक थिसोक पर्व उत्सवका रूपमा मनाइएको छ । दुई साताअघि मात्रै कियाचु यूकेले पहिलो पटक आफूले खरिद गरेको चुम्लुङ देनमा चाःसोक तङ्नाम मनाएको थियो । शनिबार २९ डिसेम्बरका दिन याक्थुङ समुदायको बाक्लो उपस्थिति रहेको केन्टको आसफोर्ड नगरमा पनि चाडका अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको चुम्लुङ आसफोर्डका अध्यक्ष टङ्क येङ्देनले बताए ।
आसफोर्डको बिहीबारे हलमा सम्पन्न कार्यक्रममा यसपटक युवापुस्ताको सहभागिता उल्लेख्य रूपमा भएको अध्यक्ष येङ्देनले उत्साहित स्वरमा सुनाए । ‘विगतका दिनहरूमा भन्दा यस वर्ष युवापिँढीको सहभागिता बढेको छ,’ उनले भने, ‘सांस्कृतिक कार्यक्रमदेखि लिएर भाषा लिपिको संरक्षणमा युवाहरूले देखाएको चासो लोभलाग्दो छ ।’ गत जुलाईमा मेडस्टोनस्थित याल्डिङमा रहेको चुम्लुङ देनमा सिसेक्पा तङ्नामका अवसरमा आयोजित केलाङ प्रतियोगितामा आसफोर्डका युवाहरू सम्मिलित केलाङ समूहले उपाधि हात पारेको थियो । विजयी टिमलाई शनिबार नगद पुरस्कार र ट्रफी अध्यक्षले हस्तान्तरण गरेका थिए ।
यसैगरी, तङ्नामकै अवसर पारेर शाखा समिति तथा याक्थुङ भाषा, लिपि तथा संस्कृति प्रवद्र्धन अभियानले सिरिजङ्गा लिपि लेखन प्रतिस्पर्धासमेत आयोजना गरेको थियो । शाखा सहसचिव तथा मातृभाषा बचाउ अभियानका पहलकर्ता अमित थेवेले संयोजन गरेको प्रतिस्पर्धामा दुई दर्जन बढीको सहभागिता थियो । सहभागीहरूमध्ये उत्कृष्ट तीनका रूपमा नमुना नेम्वाङ, दिवाना पालुङ्वा र यमुना नेम्वाङलाई नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । प्रतियोगिता सुरु हुनुअघि चाःसोक तङ्नाम र संस्कृतिबारे युवा संस्कृतिकर्मी दिवाना पालुङ्वाले संक्षिप्त धारणा राखेकी थिइन् ।
सर्वव्यापी शक्ति मानिने तागेरानिङ्वाफुमाङको आराधना गरेर सुरु भएको कार्यक्रम उद्घाटन ज्येष्ठ नागरिक कुबेरसिं नेम्वाङ र अध्यक्ष टङ्क येङ्देनले संयुक्त रूपमा गरेका थिए । खचाखच भरिएको हलका आगन्तुकहरूलाई याक्थुङ संस्कृतिअनुसार चेलीबेटीहरूले ल्याएको हुक्वा(हातले तयार पारेको खाद्य र पेय पदार्थ) का मौलिक परिकारहरूले स्वागत गरिएको थियो । सो अवसरमा चुम्लुङको सदस्यता नवीकरण र विवरण अद्यावधिकसमेत गरिएको कोषाध्यक्ष सुन्दर लिङ्थेपले बताए ।
शाखा सचिव दिवस थोप्राले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष काजी साम्यूले स्वागत मन्तव्य दिनुका साथै तथा सुरक्षा विधिबारे जानकारी गराएका थिए । कार्यक्रममा पूर्वअध्यक्षहरू सिरी साम्यू, डम्मर सिङ्गक, पूर्वकेन्द्रीय कोषाध्यक्ष देव हुक्पा चोङवाङ, केन्द्रीय सदस्य पूर्ण मादेन, नगर सल्लाहकार राजेन्द्र खिम्दिङ लगायत अतिथिहरूको सहभागिता रहेको उपाध्यक्ष सोदिप थोप्राले जानकारी दिए ।






