नगेन्द्रराज नेम्बाङ
लन्डन । तमु समाज यूकेले गुरुङहरुको महान् पर्व च्यु ल्होछार/ल्होसार मनाएको छ । गत ४ जनवरी शनिबार दिन लन्डन ह्यारोस्थित ह्यारो लेजर सेन्टरमा विविध कार्यक्रमका साथ मनाइएको हो ।



लन्डन बोरो अफ ह्यारोका डिपुटी मेयर काउन्सिलर घाजान्फर अलि र समाजका अध्यक्ष शिवचन्द्र गुरुङले पानसमा दिपप्रज्ज्वलन सँगसँगै नेपाल र बेलायतको राष्ट्रिय गान बजाएर कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा शैक्षिक क्षेत्रमा मास्टर्स, व्याचलर्स र पिएचडी गरेका समाजका विद्यार्थी भाइबहिनीहरुलाई प्रशंसा पत्रसहित खादा ओढाई सम्मान गरेका थिए । सो अवसरमा समाजलाई विशेष योगदान दिएका विभिन्न व्यक्तिहरुलाई ‘लाईफ टाईम अवार्ड’ र ‘सोसियल सर्भिस अवार्ड’ बाट सम्मान गरिएको थियो । त्यस्तै, ब्रिटिस सेनामा कार्यरत रही पदोन्नती भएकाहरुलाई पनि खादा ओढाई सम्मान गरेका थिए ।
बेलायतवासी तमुहरुको हजारौंको उपस्थिति रहेको कार्यक्रममा विशेष अतिथि काउन्सिलर मोहमद बट, अतिथिहरु मगर संघ यूकेका अध्यक्ष सुनिल राना, राई यायोक्खा यूकेका अध्यक्ष कल्पना राई, तनहुँ समाज यूकेका अध्यक्ष लेख गुरुङ, सहारा यूकेका अध्यक्ष कुमार गुरुङ, पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ, यती नेपाली एशोसिएसन यूकेको पूर्वअध्यक्ष उमेशराज मोक्तान, आईएमई लन्डनका प्रबन्ध निर्देशक कमल पौडेल, एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्बाङ लगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा काउन्सिलर डिपुटी मेयरले प्रमुख अतिथिको आशनबाट बोल्दै, ‘तमु समाज यूकेले अति नै राम्रो र उदाहरणीय काम गर्दै आएको’ प्रशंसा गर्दै आउँदो दिनहरुमा अति उत्तरोत्तर प्रगतिको शुभकामना दिए । त्यस्तै, समाजका अध्यक्ष गुरुङले उपस्थित अतिथि लगायत सबै महानुभावहरुलाई सम्बोधन गर्दै कार्यक्रम सफल बनाउन खटिएका कार्यसमितिका साथीहरु धन्यवाद दिए ।
कार्यक्रमको दोस्रो चरणमा गुरुङ तथा मगर समाजमा रहेको अति नै लोकप्रिय कौडा नृत्य स्थानीय सांस्कृतिक कलाकार समूहले प्रस्तुत् गरेका थिए । त्यस्तै, नेपालबाट आएका अतिथि कलाकार चर्चित गायक विरु लामा र प्रकाश गुरुङले विभिन्न गीत गाएर भरपूर मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रम सफलताका लागि भिडियो ग्राफर बिशन गुरुङ, युवराज माबो, फोटोग्राफर मिलन तमुले विशेष भूमिका खेलेका थिए ।
समाजका अध्यक्ष शिवचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न ल्होछार÷ल्होसार कार्यक्रममा संयोजक कमलबहादुर गुरुङले हेल्थ एण्ड सेफ्टीबारे जानकारी गराएका थिए । त्यस्तै, उपाध्यक्ष शिवकुमार गुरुङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव हर्कबहादुर गुरुङ, लक्ष्मी गुरुङ र निरज गुरुङले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।






