काठमाडौं । आउँदो माघ १२ गते सगरमाथा क्षेत्रको ५ हजार ६ सय ४४ मिटर उचाईको कालापत्थरमा फेसन सो हुने भएको छ ।

नेपालको प्रकृतिलाई विश्वभर चिनाउन तथा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पुर्याएको असरबारे विश्व समुदायलाई जानकारी गराउने उद्देश्यले कालापत्थरमा फेसन सो हुन लागेको हो ।
नेपाल पर्यटन बोर्डकी कार्यवहाक सीइओ नन्दीनी लाहे थापाका अनुसार माघ १२ गतेका दिन हुने कार्यक्रममा ५ नेपालीसहित नौंवटा मुलुकका १८ जना मोडल सहभागी हुनेछन् । उनीहरु नेपाली भेषभूषा तथा पहिरनमा सजिएर कालापत्थरको स्टेजमा प्रदर्शनी गर्नेछन् । द माउन्ट एभरेस्ट फेसन रनवे नाम राखिएको कार्यक्रमको आयोजकमा चारवटा नेपाली संस्था तथा व्यक्तिहरु के फिल्मस प्रालि, कासा, आरबी डायमन्ड, डा. पंकज के गुप्ता छन् ।
आयोजकमध्येका गुप्ताका अनुसार, कार्यक्रममा सहभागी हुने मोडलहरु इटली, रोमानिया, सर्बिया, जिम्बाबिया, इन्डोनेसिया, घाना, श्रीलंका, लिथुआनियाका छन् ।
सन् २०१८ की मिस नेपाल युनिभर्स मनिता देवकोटा, मिस नेपाल इन्टरनेसनल रोनाली अमात्यसहित सहभागी हुने अधिकांश मोडल विश्व सुन्दरी प्रतियोगितामा भाग लिएकाहरु छन् । आयोजकले यो कार्यक्रमलाई गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा दर्ज गर्दै छ । आयोजकले गिनिजमा सबै प्रक्रिया दर्ता गराइसकेको र एक जना निर्णायक (जज) गिनिजबाट सहभागी हुन लागेको जनाएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई कालापत्थर जाने तय भइसकेको बताइएको छ । यो फेसन शोमा आयोजकले पुनः प्रयोग गर्न मिल्ने अल्लो लगायतका नेपाली कच्चा पदार्थबाट उत्पादन गराएका लुगा बनाउँदै छ । ती लुगा मोडलहरुले लगाई तीस मिनेटको शोमा प्रदर्शनी गर्नेछन् ।
त्यस्तै नेपाली गहनाहरु आरबी डायमन्डले बनाउँदै छ । उक्त कार्यक्रमका दिन कालापत्थरमा ३० जना सहभागी हुनेछन् । प्रमुख अतिथिबाहेक सबै लुक्लाबाट पदयात्रा गर्दै कालापत्थर पुग्ने छन् । यो कार्यक्रमको चर्चित फेशन टिभी एमटीभीले ८ वटा भागमा डकुमेन्टी बनाई उक्त च्यानलबाट प्रसारण गर्ने भनेको छ ।
आयोजकले यो कार्यक्रमको लागत कम्तीमा ८० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । जलवायु परिवर्तनबारे चेतना दिने उद्देश्य राखिएको कार्यक्रमका सहभागीहरुले काठमाडौंमा १ हजार बिरुवा पनि रोप्दै छन् ।






