यूके मगर संघ केन्ट शाखाको माघे संक्रान्ति भेटघाट कार्यक्रम सम्पन्न

SHARE:

गोपाल थापा
केन्ट (लन्डन) । केन्ट मगरवासीहरुले माघे संक्रान्तिको उपलक्ष्यमा भेटघाट कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न गरेका छन् ।

गत शनिबार ११ जनवरी २०२० दक्षिणपूर्वी सुन्दर नगरी फोक्सटन सहरको स्थानीय खेल मैदानमा रहेको सुविधायुक्त पाठशालाको बैठक कक्षमा मगरहरुको भेटघाट कार्यक्रम भएको हो । संयुक्त अधिराज्य बेलायत केन्टमा छरिएर बस्दै आएका सम्पूर्ण मगरबन्धुहरुलाई एकैथलोमा जमघट गराई वर्षभरीको दुःखसुखका बाँड्ने, आपसी सद्भाव तथा सौहार्दता अभिवृद्धि गराउने उद्देश्यले भेटघाट कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । सो अवसरमा यूकेको व्यस्तताको बाबजुत पनि केन्ट मगरवासीहरुको बाक्लो उपस्थिति थियो । त्यही उपस्थितिमा सम्पूर्ण साना नानीहरुदेखि ठूलासम्म मगर भेषभुषामा सजिएका थिए । जसले आफ्ना समाज र गाउँठाउँका कला, संस्कृति र मौलिकता झल्काएको थियो ।

केन्ट शाखाका अध्यक्ष रामबहादुर पुनको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव कमारे बुढाले उपस्थित भेला र आमन्त्रित विभिन्न अतिथिहरुलाई आसनग्रहण गराई स्वागत मन्तव्यसहित औपचारिक रुपमा ढोका खोलेका थिए । उनले लगतै स्वास्थ्य र सुरक्षासम्बन्धी पालना गर्नुपर्ने विषयमा जानकारी गराएका थिए ।

त्यसपश्चात् अध्यक्ष पुनले माघे संक्रान्ति र संस्थाको विषयमा केही जानकारी दिँदै उपस्थित सम्पूर्ण अतिथि तथा समाजका महानुभावहरुलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए । मुख्य अतिथि मगर संघ यूकेका उपाध्यक्ष छममाया पुन, नेपाली समाज फोक्स्टनका अध्यक्ष टिकासिंह ठकुरी, निवर्तमान अध्यक्ष चन्द्रबहादुर गुरुङ, पहिलो गोर्खा रेजिमेन्टका गोर्खा मेजर ललितबहादुर गुरुङ एमभीओ र अध्यक्ष पुनले पानसमा दीप प्रज्ज्वलन गरी औपचारिक रुपमा कार्यक्रम शुभारम्भ गरेका थिए । उद्घाटनपछि नेपाली राष्ट्रिय गानको साथ कार्यक्रम अगाडि बढाइएको थियो ।

पहिलो चरणको कार्यक्रम समापनपछि मुख्य अतिथि पुन, अध्यक्ष ठकुरी र ए स्टार मोर्गेज सल्लाहकार रमेशसिङ सराङ्कोटी सबैले कार्यक्रममा मन्तव्य राखेका थिए । जसमा सल्लाहकार सराङ्कोटीले थप नयाँ घर खरिद गर्ने प्रकृया, निवृत्तिभरण, घरको धितो, अंश, जीवन बीमा आदि विषयमा प्रकाश पारेका थिए ।

दोस्रो चरणमा कलाकाहरुले एकल र सामूहिक गीत तथा नाच प्रस्तुत गरेका थिए । जसमा कलाकारहरु ईज्मी थापा, रिया थापा, प्रिया पुन, सभ्यता पुन, रूबिना गुरुङ, नुमा लिम्बु, मन्दिप थापा, सुलव थापा, नेत्रराज राना, निसा पुन, निस्ता पुन, फानु राना, पुमा, विष्णु, अस्मिता, ओम, हिक्मतसिङ रोका अनि समूह रहेका थिए । साथै गीतपश्चात् संस्थाका बाल कलाकारहरुले आआफ्ना उत्कृष्ट नृत्य प्रस्तुत गरी दर्शकलाई भव्य मनोरञ्जन गराए ।

उद्घोषिका सजना थापाले मनोरञ्जनात्मक कार्यक्रमका बीचबीचमा रमाइला चुट्किला, कविता र मुक्तक वाचन गरी थप रौनकता थपिन् । त्यसलगतै विभिन्न विषयमा सफलता प्राप्त गर्ने उत्कृष्ट ब्यक्तिहरुलाई समुदायको तर्फबाट हार्दिक धन्यवादको साथमा प्रमाणपत्र र खादा ओढाई सम्मान गरिएको थियो । त्यस्तैगरी संस्थाप्रति सदैव सद्भाव र सहयोग गर्ने बाल कलाकारहरुलाई पनि केही उपहारको साथ सम्मान गरिएको थियो ।

कार्यक्रमलाई थप रमाइलो बनाउन भाग्योदय तम्बोलाको पनि आयोजना गरिएको थियो । जुन कार्यक्रम केसर रोका अनि साथीहरले सञ्चालन गरेका थिए । त्यस्तैगरी नेत्र रानाले सालैजो अनि अन्य गीतहरु प्रस्तुत गरी सबैलाई भरपुर मनोरंजन दिए ।

कार्यक्रमको अन्तमा संस्थाका अध्यक्षले यस वर्षको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र कार्यक्रममा सहभागी सम्पूर्ण आगन्तुकलाई धन्यवाद दिए ।
माघे संक्रान्तिलाई मगरहरुका राष्ट्रिय र सांस्कृतिक महत्व बोकेको पितृ चाडको रुपमा लिइन्छ । यो पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । मूलतः यो चाड मध्य जाडो यानिकी हरेक वर्ष माघ १ गते मनाइन्छ ।

समयानुकुल मानिसहरुलाई कसरी बाँच्ने, रमाउने र कसरी प्रकृतिसँग एकाकार हुने भन्ने कुरामा हरेक पर्वले वैज्ञानिक रुपमा सिकाइरहेका हुन्छन् । त्यसैले कुनै पनि पर्व बुझेर वा विधिपूर्वक मनाउनु आवश्यक हुन्छ ।

यसको विशेष महत्व छ, जब पुस मासमा सूर्यले धनु राशिलाई छोडेर मकर राशिमा प्रवेश गरेको तिथिलाई आधार मानेर यो पर्व मनाउने गरिन्छ । यस दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने गर्दछ । अर्थात् न्यानोपन बढ्दै जाने गर्दछ । यो समयमा प्रायः खाद्यान्न अभाव हुने भएकाले पनि होला जंगलमा पाइने कन्दमुल खाने परम्परा बसेको ठम्याउन गाह्रो पर्दैन । विशेष यो पर्वमा खिचडी, तरुल, पिडालु, गिठाभ्याकुर, सगरखण्ड, गेडागुडी आदि परिकारहरु खाने गरिन्छ । यी खोनकुरा खाँदा शरीरलाई निरोगी र पोसिलो बनाउन मद्दत गर्छ भन्ने भनाइ पनि छ । त्यसैले होला प्रकृतिले पनि यसै समयमा यस्तै चिजहरु उत्पादन गरिरहेको छ । यी परिकारहरुले शरीरमा आवश्यक पोषण तत्व पूरा गरी जाडोसँग लड्ने क्षमता पनि बढाउने गर्दछ भन्ने भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!