छेपारोको कथा र मेरो मे डे !

SHARE:

सबेरै उठी सम्पूर्ण नित्यकर्म सकी सधैंझैं बाटो लगियो । एक गिलास तातोपानी नियमित पिउने बानी परेकोले पिउँदा पिउँदै ढिलो भो ।
भित्ताको घडी हेर्न भुलेर हतार तलामुनी झरेकोले खुट्टामा जुत्ता घुसार्दै मोबाइल हेरें, ७ बजिसकेको रहेछ । घर नजिकको बसस्टप पुग्न नभ्याउला भनेर घर पछिबाट कोअपरेटिभ तिर दौडिएँ । लामो ड्युटी परेकोले दिनभरिको माना चामल बोकेर दौडिँदा झोला निक्कै गह्रौं भयो ।

दुई हातले झोला छातीमा नानीझैं टाँसेर स्या…स्यांह गर्दै बल्लतल्ल बसस्टप पुगेँ, तर बस आइपुग्न ५ मिनट छ भनि ईन्फर्मेसन बोर्डमा देखाइएको थियो, छक्क परें ! होइन मेरो नियमित बस छुटेकै हो त ? मनमनै बोल्छु भन्दै थिएँ आतिएर फुत्त आवाज बाहिरियो । ४ जना सानासाना स्कुले केटाहरु बस पर्खिरहेका थिए । सबैले मलाई पाल्याकपुलुक हेरेपछि पो थाहा पाएँ आत्तिएर निस्केको मेरो आवाजको परिणाम ! लाज, लाज लाग्यो बेवास्ता गर्ने पल्टिएर गोजीबाट फोन झिकी उनीहरुसँगै म पनि प्लस वान भएर फोनमा खेलाउन थालें । अचेल फोन नै संसार फोन नै साथी, के विद्यार्थी, के मजदुर, के गृहिणी । हामीले फोन हेर्दाहेर्दै बस आइपुग्यो भित्र बस्ने सिटले पुग्दैन भन्दै ठेलमठेल गरेर होइन, पालैपालो इमान्दारी ढंगले चढ्यौं हामी । जब बस चढेर बस पास बसको थुतुनोमा सुन्घाउँदै गर्दा पो ड्राईभरले भन्यो, आज मे डे हो सिटी सेन्टर जाने सडक बन्द छ सरी !

बल्ल पल्टियो पढ्न बिर्सिएको किताबको पाना अचानक हावाहुरीले ह्वारह्वार्ती पल्टाएझैं गरी, अघिल्लो सालको मे डेमा पाएको दुःख मनमा सररर ।

गएको वर्ष, म सबेरै उठेर आजजस्तो ढिलो होइन छिट्टै पुगेकी थिएँ बसस्टप, तर मे डे भएर बाटोमा ट्राफिक र आजजस्तै सिटी सेन्टरतिर जाने रोड बन्द थियो । अक्सफोर्ड सिटी सेन्टर पुग्ने बेलाको ठूलो चर्चमा अक्सफोर्ड थर्काउने गरी घन्टी बज्दै थियो । चर्चको ठीक तल रहेको थेम्स नदीको पुलमा विद्यार्थीहरु धमाधम नदीतिर हाम्फालिरहेका थिए । जताततै पुलिस र एम्बुलेन्ससँग सुरक्षा ज्याकेटलगाएका रंगीचंगी मान्छेहरु दौडधुप गरिरहेका थिए । कति त चिसो पानीमा हाम्फालेका कारण बिहोस भएर एम्बुलेन्सतिर हाल्दै जोन रेंक्लिफ हस्पिटलतिर कुदाइरहेका थिए । यो क्रम सदियौंदेखि हरेक मे १ तारिख दोहोरिन्छ अक्सफोर्डमा यसको पनि पुरानो इतिहास रहेको पाइन्छ । बेलायतको अक्सफोर्ड धेरै कलेज र युनिभर्सिटीहरुको सहर मानिन्छ, यहींबाट बिश्वको ठुल्ठूला वैज्ञानिकहरुले शिक्षा प्राप्त गरेका इतिहास सबैलाई सर्वबिदितै छ । वैज्ञानिक स्टिफन हकिङ्ग्स पनि अक्सफोर्डमै बस्थे । महात्मा गान्धीले शिक्षा यहींबाट प्राप्त गरेका थिए । यहाँ हरेक वर्ष विश्वका विभिन्न देशबाट विध्यार्थीहरु पढ़्न आउँछन् । धेरै धनी देशका ठुल्ठूला मान्छेका छोराछोरीहरु बस्ने र अध्ययन गर्ने भएकोले सर्वसाधारणका लागि निक्कै महँगो सिटी मानिन्छ । भन्नुको मतलब घरभाडादेखि लिएर खान बस्न हरेक महँगो छ ।
यसरी नै हरेक साल काउली रोड र सिटी सेन्टर जोड्ने सडकको मुख्य पुलबाट विद्यार्थीहरु हाम्फालेर खुसीयाली मनाउने गर्छन् । अक्सफोर्डमा मनाइने एक चाड नै हो यो मे डे । पुरानो भनाइअनुसार, अक्सफोर्डको यूनिभर्सिटीहरुबाट परीक्षा उत्रिन गरेपछि औधी खुसी भएर यसरी खोलामै हाम्फालेर खुसीयाली मनाउन सुरु गरेको कुरो इतिहासमा उल्लेख छ ।

म जसै पहिलो बस छुटेर ढिलो भइसकेको थिएँ । फेरि सडक बन्दले २ स्टप वरैबाट हिँड्नु पर्दाको दुःख र समयमा ड्युटी पुग्न नसक्नुको चिन्ता अघिल्लो साँझ खानासँग आँसु आँसु हुँदै खाएको पिरो अनि मीठो अकबरे खोसार्नीको अचारले मुख हुँदै ओठ भतभती पोलेझैं मन पोल्न थालेको थियो । म ओर्लिएको बसस्टप, लास्ट बसस्टप थियो त्यो दिन बिहानको । म सँगसँगै बसमा रहेका थरिथरिका रंगीचंगी मान्छे सबै ओर्लिएर दौडन थाले आ–आफ्नो गन्तव्य पछ्याउँदै । साँच्चिनै बेलायतमा बसोबास गर्ने मान्छेहरु रंगीचंगी नै देखिन्छन् । रीतिथिति फरक, वेषभूषा फरक, छालाको रंग फरक, भाषा फरक, खाली लटरपटर बोलिने अंग्रेजी भाषा मात्र मिल्छ, त्यसको पनि प्रोनौन्सेसन साउन्ड त फरक नै सुनिन्छ, नेपालमा डमरु बजाउँदै बरफ बेच्ने भैया र खाली बोतल बटुल्ने छिमेकी दाइले जबर्जस्ती नेपाली बोलेजस्तो ।

कसैले छि… यो भैया त कति कालो हो भन्दा पनि ! दिदी काला त काला हुँ पर, दिलवाला हुँ न भन्दै जमेको पानीमा चिनी घोलेर एकैछिनमा टन्नै पैसा कमाएर हिँड्ने ती भैयाहरुले बोल्ने नेपाली र हामीले बोल्ने अंग्रेजीमा के नै फरक छ र ?
घरबाट आएको बस छाडेर हस्पिटल जाने बस चढ्नु पथ्र्याे तर, त्यो बस बाटोको कारण निक्कै ढिलो आयो । अघिल्लो वर्षको एकान्द्रो मेटाउँदै थियो म सँग मस्त समयले दोहोरिएर । मैले गएको वर्ष पनि उही कुरो सोचेकी थिएँ जुन कुरो त्यो दिन सोचिरहेकी थिएँ । फरक यति थियो गएको वर्ष बसस्टपमा मसिनो विद्यार्थी होइनन् म जस्तै कामकारी ड्युटी हिँडेका मान्छेहरु भेटेकी थिएँ हुँला, अब गर्छु, गरिहाल्छु भनेर सम्झेको कुरो छिनमै बिर्सेर छेप्पारो जस्तो भूलकड मान्छेले, को को भेटियो भनेर के याद राख्नु ? आफैंले पाएको दुःख त बिर्सेर यत्रो टाढा १ वर्ष पछि सम्झिँदोरहेछु त्यो नि मे डेले गर्दा ।
आ जोसुकै भेटियोस् मतलब भएन, तर अर्को वर्षचाँहि मे डे याद गरेर उतैबाट ट्याक्सीमा जानु पर्यो ड्युटी ।

हुन त यो कुरो हरेक मे डेमा दोहोरिएकै छ म भित्र लागू नभए पनि । भोलि त म पनि ठूलो तीनतले घर बनाउँछु साला ! आज यो पानीले सारै पो भिजायो है भन्छ रे छेपारोले पानी परेको दिन । फेरि पानी रहेर भोलिपल्ट घाम लाग्दा ठूलो ढुंगा माथि उतानो पल्टिएर घाम ताप्दाताप्दै भुलिहाल्छ रे । अनि साँझमा फेरि पानी परेर भिज्दा आफंैलाई थुक्क भूलकड भनेर थुक्दै रिसले निधार ठोकेर रातै पार्छ रे, बोजुले सुनाएको यो कथा मेरो पनि जिवनमा लागू भएको छ । समाप्त
१ मे २०१८ अक्सफोर्ड

जानू काम्बाङ्ग लिम्बू
ताप्लेजुङ्ग, हाल : युके

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!