मिलन तमु
अल्डरसट । गोर्खा इन्टेक १९८५ ले ३५ औं वार्षिकोत्सव मनाएको छ । गत शनिबार ८ फेब्रुअरीका दिन अल्डरसटस्थित एम्पायर हलमा वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रमलाई गोर्खा इन्टेक १९८५ का संस्थापक अध्यक्ष शेरबहादुर सुनार र वर्तमान अध्यक्ष गञ्ज आलेले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । सो अवसरमा शेरबहादुर सुनार र वर्तमान अध्यक्ष गञ्ज आले, पूर्वअध्यक्षहरु राजेन्द्र क्षेत्री, नेपालधन राई र योगकुमार फगामीले ३५ औं वार्षिकोत्सवको केक काटेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष शेरबहादुर सुनारले सन् १९८५ सालमा सँगै भर्ती भएको स्मरण गर्दै संस्थाको स्थापना, संस्थाले गरेका विभिन्न कार्यबारे जानकारी गराए ।
त्यस्तै, उनले अल्डरसटमा निर्माण गर्न लागिएको पहिलो भिक्टोरिया क्रस (भीसी) कुलविर थापाका सालिकको बारेमा जानकारी गराउँदै आफ्नै सक्रियतामा एकहजार पाँच सय ५५ पाउन्ड संकलन गरी ग्रेटर रस्मुर नेपाली कम्युनिटीकी महासचिव प्रमिला लावुङ्ग राईलाई हस्तान्तरण गरेका थिए ।
विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा नेपालबाट आएकी चर्चित हास्य कलाकार एवं गायिका सन्ध्या बुढा (काउली बूढी) र गायक प्रकाश गुरुङले विभिन्न चर्चित गीतहरु गाएर भरपूर मनोरञ्जन गराएका थिए । सो सांस्कृतिक सचिव तुलसी रानाले संयोजन गरेका थिए ।

बेलायतमा रहेको गोर्खा इन्टेक १९८५ का परिवारजनको विशेष उपस्थिति रहेको कार्यक्रममा प्रोडेक्सन थ्रिले फोटोग्राफी, कृष्णदेव गुरुङले साउण्ड सिस्टम र एम्पायर हलले स्वादिष्ट खानाको व्यवस्था गरेका थिए । सन् १९८५ सालमा ब्रिटिस गोर्खा आर्मीमा भर्ती भएका नम्बरी परिवारबीच भेटघाट गर्ने, एकअर्कामा सुखदुःख साटासाट गर्ने उद्देश्यअनुरुप गोर्खा इन्टेक १९८५ गठन भएको हो । साथै, प्रत्येक वर्ष भेलासमेत आयोजना गर्दै आएको छ ।
इन्टेक १९८५ का अध्यक्ष गञ्ज आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव विजय गुरुङले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी दिएका थिए भने उपाध्यक्ष तथा कार्यक्रम संयोजक पिताम्बर रानाले स्वागत मन्तव्य दिएका थिए । त्यस्तै, महासचिव लाल लिम्बुले कार्यक्रम सञ्चालन गरेका थिए ।







