सुखानीको सन्देश : शहीदले देखाएको बाटामा हिँड

SHARE:

सत्चालीस वर्षअघि झापाको चन्द्रगढीबाट इलामको जेल सार्ने निहुँमा सुखानीको जङ्गलमा गोली हानी झापा किसान विद्रोहका पाँच जना होनहार योद्धाको सामूहिक हत्या भएको थियो । जनताको हातमा राज्यसत्ता ल्याउने प्रस्ट उद्घोषका साथ झापामा सुरु भएको सो विद्रोहलाई दमन गर्न पञ्चायती सरकारले वीर योद्धा वीरेन राजवंशी, रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको त्यसबेला सुनियोजित हत्या गरेको थियो ।

मुलुकभर विद्रोहको लहर सिर्जना गर्न सफल सो बलिदानीपूर्ण घटनाको १७ वर्षपछि २०४६ साल चैत २६ गते जनआन्दोलनको बलमा पञ्चायती सत्ता ढलेको थियो भने अर्को १७ वर्षपछि सशस्त्र विद्रोही नेकपा माओवादीको सहकार्यमा भएको दोस्रो जनआन्दोलनले २०६३ वैशाख ११ गते २५० वर्षदेखिको राजतन्त्रीय व्यवस्था अन्त्य गरेको थियो । विसं २००७ मा राणाशाहीको अन्त्य र प्रजातन्त्रको प्रादुर्भाव गर्न भएको ऐतिहासिक जनक्रान्तिमा समेत नेपाल कम्युनिष्ट पार्टीको महत्वपूर्ण भूमिका थियो ।

नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि भएका सबै जनआन्दोलन र सशस्त्र सङ्घर्षमा नेपाली कम्युनिष्टको भूमिका अग्रणी रहँदै आएको छ । विसं २०४६ यता सुखानीका पाँच शहीदलाई बलिदानीपूर्ण सङ्घर्षको प्रतीक एवं प्रेरणा स्रोतका रूपमा उच्च सम्मान व्यक्त हुँदै आएको छ । हरेक सरकारले तिनै शहीदका सपना पूरा गर्न सक्रिय रहेको बताउँदै आएका छन् ।

जमिन्दारको शोषण र पञ्चायती निरङ्कुश सत्ताको उत्पीडनमा परेका झापाका मोही किसानका पक्षमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको पूर्वकोशी प्रान्तीय कमिटीबाट विद्रोह गर्दै गठन भएको झापा जिल्ला कमिटीको नेतृत्वमा विसं २०२८ मा भएको सशस्त्र विद्रोहलाई इतिहासकारले झापा विद्रोह वा झापा किसान विद्रोहको संज्ञा दिँदै आएका छन् । नेपालको कम्युनिष्ट इतिहासमा योजनाबद्धरूपमा सञ्चालन गरिएको पहिलो सशस्त्र विद्रोह थियो झापा किसान विद्रोह ।

मुलुकमा परिवर्तनकारी चेतनाको उभार ल्याउने सुखानीका तिनै क्रान्तिकारी शहीदको बलिदानीको जगमा हुर्किएको कम्युनिष्ट मूलप्रवाह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुई वर्षअघि दुई तिहाइ बहुमतका साथ निर्वाचित भएर पाँच वर्ष नढल्ने सरकार गठन गर्न सफल भएको छ भने झापा विद्रोहको नेतृत्वदायी भूमिकामा रहेका कारण डेढ दशकसम्म कठोर जेलनेलसमेत व्यहोर्नुभएका क्रान्तिकारी नेता केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकारले मुलुक हाँकिरहेको छ ।

पञ्चायती शासन र राजतन्त्रको उन्मूलन गर्न भएका सबै आन्दोलनको प्रेरणा र ऊर्जाको स्रोत सुखानीका शहीदले देखाएको बाटो नबिराई निम्न वर्गीय नेपाली जनतालाई सुखी र समृद्ध तुल्याउन बलिदानको पृष्ठभूमिमा उभिएको वर्तमान नेकपाको सरकार अग्रसर हुनुपर्ने सुखानीका शहीद नेत्र घिमिरेकी पत्नी जीवन घिमिरेको धारणा छ । शहीदले देखाएको बाटो बिराएमा शिशु अवस्थामा हुर्किंदै गरेको लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती बढ्ने बताउँदै संविधानसभा सदस्यसमेत रहेकी घिमिरे वर्तमान सरकारले आर्थिक विकासका माध्यमबाट आमजनतालाई लोकतन्त्रको अनुभूति गराउनुपर्ने बताउँछिन् ।

विसं २०४६ अघिदेखि कम्युनिष्ट आन्दोलनमा होमिएका संविधानसभा सदस्य रवीन कोइराला २००७ सालदेखि विभिन्न कालखण्डमा गठन भएका अधिकांश सरकारबाट नेपाली जनताले निराशा मात्र पाएको हुँदा अहिलेको सरकारसँग जनअपेक्षा धेरै हुनु स्वाभाविक भएको बताउँछन् । उनले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा गठन भएको दुई तिहाइको सरकारले सात दशकदेखि जनताले गर्दै आएको अपेक्षा पूरा गर्नुपर्ने दायित्व काँधमा बोक्नुपरेको जिकिर गर्छन् । ‘जनताले खोजेको कुरा आमूल परिवर्तन हो’, संविधानसभा सदस्य कोइराला भन्छन्, ‘राजनीतिक क्रान्तिले मात्र तल्लो वर्गका जनतालाई लोकतन्त्रको अनुभूति दिलाउन सकेन, आर्थिक समृद्धि प्राप्तिको लक्ष्यमा अविराम वेगमा दायाँबायाँ नहेरी अघि बढ्नु अहिलेको सरकारको कार्यभार बनेको छ ।’

लामो अवधिदेखि पराधीन अर्थतन्त्र र अस्थिर राजनीतिक भुमरीमा फँसेको नेपाली समाजलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थिर र जनपक्षीय बाटोमा मुलुकलाई हिँडाउन वर्तमान सरकारले छोटो अवधिमा हासिल गरेको उपलब्धि आशलाग्दो भएको बताउनुहुन्छ काँकडभिट्टा क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती । आर्थिक विकास र सुशासनले मात्र जनतालाई लोकतन्त्रको अनुभूति दिलाउने हुँदा तीन तहको सरकारले आफ्नो लक्ष्य त्यही जनचाहनाअनुरूप निर्दिष्ट गर्नुपर्ने उनको धारणा छ ।

शहीद वीरेन राजवंशीका छोरा नेत्र राजवंशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन स्थापना भएपछि राज्यले शिक्षा, स्वास्थ्य र रोजगारीको ‘ग्यारेन्टी’ गर्नुपर्ने आम चाहना भएको बताउँछन् ।

राणाविरोधी आन्दोलनमा साथ र सहयोग पोखराको उमेरले ९० वर्ष पुगेका पोखराका प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको स्मरणमा २००७ सालको प्रजातन्त्र प्राप्तिपूर्वको आन्दोलनका हरेक गतिविधि अझै ताजै छन् । विसं २००६ मा २० वर्षे जोशिलो उमेरमा राणाशासनविरुद्धका गतिविधिलाई प्रत्यक्षरूपमा जान्ने, बुझ्ने र भोग्ने अवसर पाएका उनले २००७ सालको प्रजातन्त्रको स्थापना हुँदै २०४६ सालको प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनदेखि २०६२÷०६३ को आन्दोलनका अनुभव र भोगाइ सँगालेका छन् । नेपाली जनताको स्वतन्त्रता एवं परिवर्तनका प्रत्येक आन्दोलनमा पोखराले नेतृत्वदायी भूमिका निर्वाह गरेको आचार्यले बताए । उनका अनुसार २००७ साल फागुन ७ गते जहानियाँ राणशासनको समाप्ति भई प्रजातन्त्र स्थापना हुनुपूर्व पोखरा क्षेत्रमा धनशमशेर राणा यहाँका बडाहाकिम थिए । तिनताकाको पोखरामा रातो माटाले पोतिएका कच्ची घर, फराकिला चौर, ढुङ्गा बिच्छाइएका सडक, सडकका छेउमा बाटुले चौतारा आदि थिए । सेती नदीमा काठका मुढा राखेर आवतजावत गर्नुपर्ने तत्कालीन पोखरामा विन्ध्यवासिनी, भैरवटोल, भीमसेनटोल, नालाको मुख, तेर्सापट्टी, साँघुको मुखजस्ता ठाउँ यहाँका मुख्य बस्ती एवं बजार थिए ।

पोखरामा राणाशासनको निरङ्कुशताका विरुद्धमा जनचेतना अभिवृद्धि गर्न र उक्त अभियानलाई साकार पार्न रामानन्द योगी (तत्कालीन अवस्थामा कानो जोगी भन्ने गरिएको), प्रेमचैतन्य ब्रह्मचारीलगायतको ठूलो भूमिका रहेको आचार्यले जानकारी दिए । उनीहरुले तत्कालीन समयमा छरेका पर्चाले राणा विरोधी गतिविधिमा जनचेतना अभिवृद्धिमा ठूलो योगदान पुर्‍याएको थियो ।

जहानियाँ राणाशासनसँगै शुरु भएको निरङ्कुशताका विरुद्धमा सङ्गठित बन्ने उद्देश्यका साथ विसं १९८८ मा खुलेको प्रचण्ड गोर्खा, १९९३ मा खुलेको प्रजापरिषद्, १९९४ मा खुलेको नागरिक अधिकार समितिले गरेका विभिन्न गतिविधिको पनि पोखरामा प्रभाव परिरहेको थियो ।

राणा विरोधी गतिविधि बढ्दै जाँदा १९९७ माघमा शुक्रराज, गङ्गालाल, धर्मभक्त र दशरथ चन्दलाई फाँसी दिइयो भने विरोधमा उत्रेका कृष्णप्रसाद कोइराला भारत निर्वासन हुन बाध्य भए । त्यससमयमा राणाको अन्याय, अत्याचारका विरुद्धमा गोर्खे खबर कागज, युगवाणी, नेपाल पुकारजस्ता पत्रपत्रिकाका माध्यमबाट जनचेतना अभिवृद्धिका कामलाई अघि बढाइयो । राणाविरोधी गतिविधि बढ्दै जाँदा त्यसको प्रभाव पोखरेली युवामा पनि परेको थियो । यसै क्रममा २००४ सालमा भएको जयतु संस्कृतम् आन्दोलनमा त पोखराका केही युवा प्रत्यक्ष सहभागी भएको आचार्यले जानकारी दिए ।

जयतु संस्कृतम् आन्दोलनमा सहभागी भएको भन्दै पोखराका मीनराज पराजुली, यदुनाथ अधिकारी, विष्णु पहारी, टेकनाथ बराललगायतका युवा पाठशालाबाट निष्कासनमा परेको प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुली बताउँछन् । ‘जयतु संस्कतम् आन्दोलनमा सहभागी भएकै कारण दाजु मीनराजसहित उहाँका साथीहरू पाठशालाबाट निष्कासनमा परेका थिए,” तत्कालीन समयको अनुभव सुनाउँदै ८५ वर्षीय पराजुलीले भने, ‘त्यो समयमा चेतनाको अभाव पनि थियो, निष्कासन हुने विद्यार्थीका अभिभावकले यी उरन्ठेउलाहरूले नै गल्ती गरे होलान् भन्दथे ।”जयतु संस्कृतम् आन्दोलनका साथै २००४ सालमा भारतमा बस्ने नेपाली युवाले बिपी कोइरालाको नेतृत्वमा गठन गरेको राष्ट्रिय काँग्रेस, गिरिजाप्रसाद कोइरालाको नेतृत्वको विराटनगरको जुटमिल आन्दोलन आदिमा पोखरेली युवाको सक्रिय सहभागिता थियो ।

लीलाभक्तका अनुसार २००७ साल पुसको २१/२२ गतेतिर पोखरामा पहिलो पटक प्रेम हाराङ, उत्तरकुमार पालिखे र भारतीय वैद्य राणाका विरुद्धमा काँग्रेसको झण्डा लिएर राणा विरोधी नारा लगाउँदै घोडामा चढी नालाको मुखबाट निस्किए । उनीहरुलाई तत्कालीन प्रशासनले नियन्त्रणमा लिएर भोलिपल्ट मात्रै छाडेको थियो । राणाकै विरुद्धमा दोस्रो दिन पोखरामा निस्केका ठानेश्वर कोइराला, माधव बाँस्तोला, मानबहादुर कार्की, केशव बरालसहितका छ जनालाई प्रशासनले पुनः पक्राउ गर्‍यो ।

तेस्रो दिन पोखरेलीको ठूलो समूह विरोधमा उत्रेपछि तत्कालीन वडाहाकिम धनशमशेर दरबारबाट बाहिर निस्किएर तत्कालीन आन्दोलनरत काँग्रेसको सदस्यता लिएको लीलाभक्तले जानकारी दिए ।

पोखरामा भएको उक्त आन्दोलनमा मोहन शमशेरका आठ पहरियाले भने विभिन्न तवरबाट रोक्ने प्रयास गरेका थिए । तत्कालीन समयमा पोखराबाट गएका युवाले नुवाकोट कब्जामा समेत योगदान गरेको लीलाभक्तको भनाइ छ ।

पोखरामा सर्वसाधारणमा चेतना अभिवृद्धि गर्न २००४ सालमा बाटुलेचौरमा खोलिएको आधार स्कूलको ठूलो भूमिका रहेको पोखरेली इतिहासका अनुसन्धानदाता एवं संस्कृतिविद् तीर्थ श्रेष्ठले बताए । उक्त स्कुलमा माधव घिमिरे, श्रीकान्त अधिकारी, पण्डित मुक्तिनाथ तिमल्सिनालगायतले अध्यापन गराउनुहुन्थ्यो । त्यस समयमा राणाको निरङ्कुशताका विरुद्ध गतिविधि बढाउन महेन्द्र गुफामा बसेर छलफल गरिन्थ्यो भन्ने पाइएको उनको भनाइ छ ।
श्रेष्ठका अनुसार पोखराका तत्कालीन बडाहाकिम धनशमशेरले आन्दोलन दबाउनकै लागि ठूलो बल प्रयोग गरेको भने पाइँदैन । धनशमशेर पोखरामा बडाहाकिम हुँदा पाल्पामा उनका बुबा रुद्र शमशेर बडाहाकिम हुनुहुन्थ्यो । तत्कालीन समयमा बिपी कोइराला र रुद्र शमशेरबीच समयसमयमा छलफल हुने गरेको र तत्कालीन आन्दोलनरत काँग्रेसप्रति उनको सहानुभूति पनि थियो । रुद्र शमशेर राणाको दरबारमा नरुचाइएका मध्येमा पर्दथे । त्यसैले आन्दोलनलाई खासै दबाउने पक्षमा रुद्रशमशेर नभएको र त्यसको केही प्रभाव पोखराका बडाहाकिम धनशमशेरमा पनि देखिन्थ्यो ।

त्यस्तै तत्कालीन समयमा पोखराको चिसाखोला ब्रह्मचारी आश्रममा संस्कृत भाषाका अध्यापक ब्रह्मचारी प्रेम चैतन्यसँग संस्कृत भाषा एवं धार्मिक प्रवचन सुन्नका लागि व्यक्ति जमघट हुने गरेको र त्यहाँबाट पनि राणा विरोधी गतिविधि बढ्न थालेको पाइन्छ । सो समयमा पोखरेली युवाको सक्रियतामा २००६ साल मङ्सिरमा नदीपुरको नारायणस्थानस्थित पौवामा खुलेको मिडिल स्कूल पनि जनचेतना अभिवृद्धिको महत्वपूर्ण माध्यम बनेको संस्कृतिविद् श्रेष्ठको तर्क छ ।

विसं २००६ चैत २९ गते विन्ध्यवासिनी मन्दिरमा लागेको आगोले यहाँका पाँच÷सात जना मानिसको मृत्यु भएको थियो । राणा विरोधी गतिविधि बढिरहेका अवस्थामा घरबारविहीनका लागि गरिएको क्षतिपूर्तिको माग बडाहाकिम धनशमशेरमा मात्र नभई केन्द्रीय सरकारसम्म पुगेको थियो ।

बढ्दै गएको राणा विरोधी गतिविधिबाट त्रसित तत्कालीन सरकारले आगलागीको स्थलगत अध्ययन गर्ने बहानामा दिव्य शमशेर र फत्तेबहादुरलाई पोखरा पठाएर यहाँका गतिविधिको सूक्ष्म अध्ययन गरिएको पाइन्छ । उक्त समयमा पर्चा छर्न खटिएका रामानन्द योगी (कानो जोगी) कास्की, लमजुङ र तनहुँका गाउँमा क्रियाशील थिए । पर्चा छर्ने क्रममा २००६ सालको चैततिर उहाँ तनहुँको बन्दीपुरमा पक्राउ परे । उनँका साथबाट फेला पारिएका कागजातका कारण राणाले धरपकड गर्दा कास्कीबाट माधवप्रसाद घिमिरे, सुन्दरप्रसाद मर्सानी, धर्मशीला अनागरिका, विष्णुहरि पहारी, मीनबहादुर गुरुङलगायतका व्यक्ति पक्राउमा परे । आन्दोलन बढ्दै जाँदा २००७ साल पुस २२ गते प्रेमबहादुर प्रधान, ऋषिकेशव पराजुली, दयाशङ्कर पालिखेलगायतका युवा काँग्रेसको झण्डा लिएर सडकमा निस्केपछि पहिलोपटक उनीहरूलाई गिरफ्तार गरियो । गिरफ्तारीले थप चर्काएको आन्दोलनसँगै पुस २४ गते पोखराका सरकारी कार्यालय आन्दोलनकारीको कब्जामा परेका थिए ।

पोखरा र आसपासका सचेत युवाले हिम्मतका साथ गरेको सङ्घर्षले २००७ सालको प्रजातन्त्रप्राप्तिको आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान गरेको प्रजातन्त्र सेनानी आचार्यको तर्क छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!