दुर्गा ढकाल
लन्डन । नेपाली महिला समूह यूके र रिडिङ एम्नेस्टी ईन्टरनेसनलको संयुक्त आयोजनामा नेपाली महिला मानवअधिकारसम्बन्धी जनचेतनामूलक अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।

गत ८ फेब्रुअरीका दिन रिडिङमा सम्पन्न कार्यक्रममा मूलतः नेपाली महिलाहरुको विद्यमान अवस्था, प्रचलित कानुन र महिला मानवअधिकार हनन्सम्बन्धी ईस्यु तथा त्यसमा गरिनुपर्ने सुधारहरुकाबारे व्यापक रुपमा छलफल गरिएको हो । कार्यक्रममा ६५ जनाभन्दा बढी महिलाहरुको उपस्थिति रहेको थियो । अन्तक्रियामा बर्कसायर वोमन एड, कम्युनिटी कनेक्सन लगायत विभिन्न संघ संस्थाका महिला प्रतिनिधिहरुको उपस्थिति थियो ।
ग्रेटर रिडिङ नेपाली समाजको सहयोगमा आयोजना गरिएको कार्यक्रममा रिडिङ एम्नेस्टी इन्टरनेसनलको तर्फबाट हिलारी विदिले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य, मानवअधिकारको अन्तर्राष्ट्रिय मान्यता लगायत विषयमा प्रस्ट्याइन् । साथै, उनले संसारभरि रहेका मानवले भेदभाव तथा हिंसारहित, स्वतन्त्र र सुरक्षित जीवनयापन गर्न पाउनुपर्नेमा जोड दिएकी थिइन् ।
अर्को वक्ता आन्दे्रय किमरोखले नेपालमा एम्नेस्टी ईन्टरनेसनलले गरिरहेका कार्य र गतिविधिहरुमाथि प्रकाश पारिन् । त्यसैगरी, मानवअधिकारकर्मी तथा समाजसेवी दुर्गा ढकालले नेपालमा विद्यमान महिला मानवअधिकार हनन्सम्बन्धी विषयमा विस्तृत रुपमा छलफल गरिन् ।
छलफलमा पितृसत्तात्मक समाजको कारण महिलाहरु कसरी शिक्षा, स्वास्थ्य, सम्पत्ति, नागरिकता र सांस्कृतिक समावेशितामा विभेदको चपेटामा परिरहेका छन् भन्ने कुराको अनुसन्धानमूलक खोजको व्याख्या गर्नुका साथै महिला बेचबिखन, घरेलु हिंसा, धर्मसंस्कृतिका कारण महिलाहरुमा हुने हिंसा तथा प्रभावकारी स्वास्थ्यसेवाको अभावले गर्दा महिलाहरुले भोग्दै आएका स्वास्थ्यसम्बन्धी समस्याका जटिलताहरुको पनि तथ्यांक प्रस्तुत् गरिएको थियो ।
त्यस्तै, बालबिवाह, दाइजो, बोक्सी, छाउपडी, देउकीलगायत कुरीतिहरु र कुसंस्कारको प्रचलन र निरन्तरताले गर्दा उत्पन्न भएका मानवअधिकार हनन्का घटनाबारे तथ्यांकसहित प्रस्तुत् गर्दै आगामी दिनहरुमा महिला मानवअधिकार कसरी सुरक्षित गर्न सकिन्छ भन्नेबारे सुझावसमेत पेस गरिएको थियो ।
कार्यक्रममा प्रेरणा दाहालले बेलायतजस्तो विकसित देशमा बसेर पनि नेपाली महिलाहरु कसरी घरेलु हिंसामा परिरहेका छन् भन्ने कुरा बताइन् । नेपाली समुदायमा बालबिवाह, जबरजस्ती विवाह यद्यपि विद्यमान रहनुका साथै भाषागत समस्या, संस्कार र संस्कृतिले गर्दा नेपाली महिलाहरु शिक्षित भएर पनि आफूमा आत्मविश्वासको कमी रहेको जानकारी गराइन् । कार्यक्रमको दोस्रो चरणमा बेलायत बस्ने नेपाली महिलाका समस्या र इस्युहरुलाई समूहगत रुपमा छलफल गरिएको थियो । कार्यक्रममा कल्पना पण्डितले सबै सहभागी दिदी बहिनीहरुलाई निर्धक्क भएर आफना विचारहरु प्रत्येक समूहमा राख्न र समूह समूहबाट आएका सुझावलाई अगाडि मञ्चमा आएर प्रस्तुत् गर्न जानकारी गराइन् ।
सहभागीहरुको तर्फबाट स्वस्फुर्त रुपमा चन्द्र बरनवाल, तुलसा सुवेदी, निराज थापा, सपना सुवेदी, निशा शर्मा, निर्मला न्यौपाने, सनमाया गुरुङ, नबिता निरौला, श्रेया पौडेल, शुभा अधिकारी, गोमा महेली, जानकी कायस्थ लगायत महिलाहरुले पनि आ–आफ्नो विचार राखेका थिए । सहभागी महिलाहरुले वर्कसपबाट धेरै जानकारीहरु प्राप्त गरेको, कार्यक्रम शिक्षाप्रद रहेको, समाजमा परिवर्तन गर्न र महिला हिंसालाई न्यूनीकरण गर्नको लागि पुरुषहरुलाई पनि संलग्न गराएर पुनः यस्तै प्रकारका चेतनामूलक कार्यक्रमहरु गरिनु पर्नेमा जोड दिए । महिलाहरुले परिवार र समाजका इज्जतका लागि कहिलेसम्म हिंसाको चपेटामा परिरहनुपर्ने भन्ने प्रश्नले केही समय कार्यक्रम हलको वातावरण भावुक बनाएको थियो ।
कोपीला सिटौलाले कार्यक्रमको मूल्यांकन तथा सारांश प्रस्तुत् गर्दै परिवर्तनलाई आफूबाट नै सुरुवात गर्नुपर्ने, छोराछोरीलाई बराबरी व्यवहार गरिनुपर्ने कुरामा जोड दिइन् र अन्त्यमा एम्नेस्टि इन्टरनेसनल, ग्रेटर रिडिङ नेपाली समाज, विभिन्न संस्थाका प्रतिनिधिहरु, सहभाग िसबै महिलाहरुलाई उपस्थिति र सक्रिय सहभागिताका लागि धन्यवाद दिए ।
कार्यक्रमको संयोजनमा हिलारी विदि, आन्दे्रय किमरोख, दुर्गा ढकाल, कोपिला सिटौला, विनस रिजाल, कल्पना पण्डित, ममता कार्की तथा प्रेरणा दाहालको सक्रिय सहभागिता थियो । समाजसेवी तथा ग्रेटर रिडिङ नेपाली समाजकी कार्यकारी सदस्य विनस रिजालले कार्यक्रमभर व्यवस्थापनलाई कुशलतापूर्वक निर्वाह गरिन् । साथै मनिता गुरुङले सहभागीहरुको सहजताका लागि र बन्दना केसीले महिला वर्कसपका सहभागीहरुको मनोबल बढाउन भूमिका खेलेका थिए । व्यवस्थापकीय भूमिकामा ममता कार्कीको पनि संलग्नता थियो ।
कार्यक्रमको सुरुवातमा दुर्गा ढकालले गे्रटर रिडिङ नेपाली समाजका अध्यक्षबाट प्राप्त कार्यक्रम सफलताको शुभकामनाको जानकारी सबै सहभागीहरुलाई गराएकी थिइन् ।






