जातीय छुवाछूत र लैंगिक विभेदरहित संसार देख्‍ने चाहना छ : सरु सुनार

SHARE:

सरु सुनार (सरिता बिक) १२ वर्षभन्दा लामो समयदेखि महिला, सामाजिक न्याय र समानताका लागि सशक्त रुपमा आवाज उठाउँदै आएकी अभियन्ता हुन् । सामाजिक विभेदविरुद्ध सञ्चार क्षेत्रबाट वकालत गरिरहेकी उनले गत वर्ष संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले शान्ति स्थापना र लैंगिक समानताका लागि स्थापना गरेको अन्तर्राष्ट्रिय अवार्ड ‘एनपीस–२०१९’ जितेकी थिइन् । स्याङ्जाकी सुनार दलित एकता सञ्जाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजक, थाहा अनलाइनको उपसम्पादक, नारी आवाज फाउन्डेशनको अध्यक्ष छिन् । जातीय विभेदका कारण आफूमा सानैदेखि समाज परिवर्तनको सोच आएको बताउने अभियन्ता सुनार ग्रेटर रसमुर नेपाली कम्युनिटी यूकेले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमसमा सहभागी हुनेक्रममा ५ मार्चमा बेलायत आएकी हुन् । अभियन्ता सुनारसँग एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङ (घान्द्रुके कान्छा) ले गरेको कुराकानी ।

तपाईंले कहिलेदेखि बेलायत भ्रमण सुरु गर्नुभयो ?
म मार्च ५ तारिख (बिहीबार) बेलायत आइपुगेकी हुँ । ११० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ग्रेटर रसमुर नेपाली कम्युनिटी यूकेद्वारा आयोजित कार्यक्रममा सहभागी भएँ । मेरो पहिलो बेलायत भ्रमण हो ।

कहिलेदेखि महिला हकहित र सामाजिक विभेदविरुद्ध लाग्नुभयो ?
सामाजिक विभेदविरुद्ध र समानताका लागि औपचारिक रुपमा संघसंस्थामा आबद्ध भएको त १२/१३ वर्ष भयो । नेपालमा जातीय विभेद भूगोलअनुसार फरक–फरक हुन्छन् । जहिलेदेखि म समाजमा जान्ने, बुझ्ने भएँ, त्यहाँदेखि नै समाजलाई परिवर्तन गर्नुपर्छ भनेर लागिरहेकी छु । त्यसको एउटा औपचारिक क्रान्ति, लडाइँ सुरु गरेको चाहिँ १२/१३ वर्ष भयो ।

कत्तिको सफल हुनुभयो त, नेपाली समाज परिवर्तन गर्न ?
नेपाली सोसाइटीमा जुन अन्धविश्वास, कुरीति छ । त्यहाँभित्र महिलाहरुले पीडा, विभेद भोग्नु परिरहेका छन् । नेपालमा ५१ प्रतिशत जनसंख्या रहेको महिलालाई जनसंख्याको अनुपातमा राज्यका हरेक निकायमा प्रतिनिधित्वको व्यवस्था संविधानमा छ । जुन अधिकारका लागि विभिन्न आन्दोलनहरु भए, ती सबै लडाइँहरु हेर्दा अहिले धेरै परिवर्तन भएको छ ।

हिजोका दिनमा हाम्रा दिदीबहिनी घरको बन्दकोठामा हुनुहुन्थ्यो । कुनै गोष्ठी, सेमिनार, कार्यक्रममा उहाँहरुको सहभागिता वा बोल्न पाउने अवस्था थिएन । आजचाहिँ त्यो घेराबाट उहाँहरु (दिदीबहिनी) बाहिर निस्केर राजनीतिक फड्को मार्नुभएको छ । विभिन्न संघसंस्थामा आबद्ध हुनुभएको छ । पहिले महिला भनेको घरको काम गर्ने, बच्चा कियरिङ गर्ने हो भन्ने सोच थियो । त्यसलाई बदल्न विभिन्न संघर्ष भए । अहिले समाजका आमाबुबा, पुरुष दाजुभाइहरुले बुझ्न थाल्नुभएको छ । अब हाम्रा छोरीचेलीलाई पनि अगाडि बढाउनुपर्छ भन्ने खालका चेतना समाजमा विकास हुँदै गएको छ, यसलाई परिवर्तन भएको मान्नुपर्छ । तर अझै महिलाले पूर्णरुपमा अवसर पाइरहेका छैनन्, हिंसा र विभेदको भोगाइ अन्त्य भएको छैन ।

नयाँ संविधानले महिलालाई हरेक निकायमा ३३ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेको छ, त्यो लागू भएको जस्तो लाग्छ ?
छैन, छैन । महिलाको ३३ प्रतिशत सहभागिता सांसद बन्नका लागि मात्रै होइन । राज्यभित्र कार्यपालिका, व्यवस्थापिका, न्यायापालिका छन् । ती महत्वपूर्ण निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व खोइ त ? भएको छैन ।

संविधानमा त महिलाहरुलाई हरेक निकायमा ३३ प्रतिशत प्रतिनिधित्व गराउ भनेको हो । विशेष अधिकारको कुरा गरिएको छ । राज्यले मात्रै होइन, अहिले कुन पार्टीले ३३ प्रतिशत महिलालाई केन्द्रीय सदस्य बनायो त ? धेरै पार्टीले प्रतिनिधित्व गराएको छैन । अर्को कुरा, स्थानीय तहहरुमा महिला उपमेयरै उपमेयर छन् । वडाहरुमा हेर्दा अध्यक्ष पुरुष, जनप्रतिनिधि सदस्यचाहिँ महिला । अवसर र अधिकारका कुरा गर्दा जहिल्यै नेतृत्वमा पुरुषहरुलाई लैजाने प्रवत्ति अझै छ । नेपालमा कति हुनुहुन्छ त महिला मेयर, अध्यक्ष, कति हुनुहुन्छ त महिला मन्त्रीहरु ? लिंगीय रुपमा कहीं पनि ३३ प्रतिशत ग्यारेन्टी भएको छैन ।

नेपालमा हिंसाका घटना बढेको देख्नुहुन्छ कि कम भएको ?
महिलाहरु राजनीतिक रुपमा चेतनशील र आफ्ना अधिकारबारे सचेत हुँदै गएका छन् । उनीहरुले एक खालको क्रान्ति गर्दै गए नि त । जस्तो, म हिंसामा परेँ भने प्रतिकार गर्नुपर्छ । सहनु हुँदैन, बोल्नुपर्छ भन्ने चेतना भयो ।

दोस्रो, पहिले सामाजिक सञ्जालहरु थिएन । हिंसाका घटना पत्रपत्रिकाहरुमा ढिला आउँथ्यो । तर, अहिले सोसल मिडियाका कारण घरेलु हिंसा, बलात्कारका कुराहरु तुरुन्तै बाहिर आउँछन् । पहिलेका महिलाहरुले सोच्थे, बलात्कार भए भने बलात्कारीलाई भन्दा पनि आफूलाई समाजमा व्यारियर हुने । लाज मान्नुपर्ने, डराउनुपर्ने, इज्जत जाने भन्ने खालको थियो, अहिले त्यो सोचाइबाट उहाँहरु (महिला दिदीबहिनी) माथि उठ्नु भा’छ । कुनै पनि घटना, विभेद भयो भने उहाँहरु बाहिर उत्रिन सक्नुभा’छ । जसले गर्दा ती घटनाहरु बढी भएको हो कि जस्तो हामीलाई लागेको हो ।

ह्वात्तै बढेको पनि छैन । सामाजिक सञ्जाल, पत्रपत्रिका, मिडियाहरुले तुरुन्तै कभर गर्ने भएकोले, महिलाहरुमा चेतना बढेकोले बढी हो कि जस्तो लागेको मात्र हो । हिजोका दिनमा ती घटना थिए, बाहिर आएनन्, आज घटना बाहिर आउँदा बढी भएको हो कि जस्तो लाग्या हो ।

तपाईंले समाजमा दिनुभएको अतुलनीय योगदानका कारण गत वर्ष एनपीस अवार्ड जित्नु भयो, यो कस्तो खालको अवार्ड हो ?
एनपीस अन्तर्राष्ट्रिय अवार्ड हो । यो एसियाका देशहरुमा महिला हिंसा, समानता, महिला अधिकारका लागि लड्दै गरेका महिलाहरुलाई दिने अवार्ड हो । यो अवार्डका लागि एसियाका देशहरुका महिलाहरुबीच प्रतिस्पर्धा गराउँछ । र, नेपालकै दिदीबहिनीहरुसँग पनि फाइट गर्नुपर्ने हुन्छ ।

यसको प्रक्रिया भन्दा सुरुमा हामीले प्रोफाइल पठाउँछौं । त्यसपछि उनीहरु (यूएनडीपी)ले भेरिफिकेसन पठाउँछ । हामीले डकुमेन्ट पठाइसकेपछि उनीहरुले नोमिनेसनमा हालिदिन्छ । त्यसमा छनोट भोटिङको सिस्टमबाट हुन्छ । एउटा देशबाट एक जनामात्रै विनर (विजेता) हुन्छन् ।

मैले एनपिस अवार्ड जित्दा नेपालबाट उमा थापामगरसहित तीनजना थियौं । महिला अधिकारका लागि लड्ने महिलाहरुका लागि दिने अवार्ड हो यो । मलाई विश्वभरिबाट दाजुभाइ, दिदीबहिनीले भोट गर्नुभयो । बेलायतबाट पनि धेरैले भोट गर्नुभयो । त्यसकै परिणाम हो, एनपीस अवार्ड जित्नुमा । त्यो अवार्ड लिन मार्च ८ मा थाइल्यान्ड जानुपर्ने थियो, चीनबाट पैmलिएको प्राणघातक नोवल कोरोना भाइरसका कारण केही समयपछि सरेको छ । अप्रिलको विटविनमा अवार्ड लिन थाइल्यान्ड जाँदैछु ।

तपाईं आफ्नै परिचय कसरी दिनुहुन्छ ?
मेरो घर स्याङ्जाको चापाकोट नगरपालिका २ सुन्टौलीटार बैंडीमा पर्दछ । बुबा भागिरथ र आमा कोपिला विककी कान्छी सन्तान हुँ म । मभन्दा अघि ३ दाजुहरू हुनुहुन्छ ।

बाल्यकाल कसरी बित्यो ?
म १६ वर्षकी थिएँ । २०५९ सालमा आमाको मृत्यु भो । तीनै जना दाजुहरू घरमा हुनुहुन्नथ्यो । रोजगारको सिलसिलामा देशबाहिर । मुटुको बिरामी आमाको मृत्यु भएपछि घरमा बुबा र म मात्रै रह्यौं । बुबा आमाको शव छोराले काँध हाल्नुपर्छ भन्ने मान्यता । दाजुहरू नभएपछि काका ठूलाबुबाका छोराहरूले काँध हाल्ने कुरा भए । मलाई त्यो कुरा सह्य भएन । म पनि आमाकै पेटबाट जन्मिएको सन्तान । दाइहरूको जस्तै आमाप्रतिको कर्तव्य मेरो पनि । मेरो आमालाई म हुँदाहुँदै अरुले काँध हाल्न पाउन्न । म आफै हाल्छु भनेँ । अरुले मानिरहेका थिएनन् । मैले नै काँध हाले । घाट गएँ र आमालाई दागबत्ती दिएँ ।

मैले शव बोकेर दागबत्ती दिएको कुरा त्यतिबेला निकै हल्ला भो । एकाध व्यक्तिबाहेक धेरैले मेरो प्रशंसा गरे रे । त्यो आमालाई काँध हालेर छोरीले दागबत्ती दिने म नै जिल्लाको पहिलो भएँ रे । त्यसपछि छोरी पनि आमाबुबाको मलामी जाने र दागबत्ती दिने चलन सुरु भो । जसका छोरा छैनन् उनीहरूका छोरीहरू मात्रै नभई सिंगो समाजकै लागि म उदाहरण बने । त्यो घटनाले मलाई थप केही उदाहरणीय काम गर्न प्रेरणा मिल्यो ।

किशोरी अवस्थामै तपाईंले हलो पनि जोत्नु हुन्थ्यो रे’ नि ?
मैले हलो जोत्नु बाध्यता पनि थियो र समाजलाई चुनौती दिनु पनि थियो । दाजुहरू सबै विदेश भएपछि घरमा हलो जोत्ने मान्छे बुबाबाहेक अरू भएनन् । हली छुट्टै कोही थिएन । अनि सँगै खेतमा काम गर्दा बुबा थाकेको बेला र नभएको बेला मकै रोप्दा हलो जोत्ने र धान छर्दा खोक पनि लाउँथेँ । त्यो थाहा पाएर हजुरबुबा लगायत गाउँलेहरूबाट मैले मात्रै नभई बुबाले समेत निकै आलोचित हुनुपर्यो‍ । छोरीले हलो जोतेपछि अन्नको सास जाने र अलल्छिन लाग्छ भन्ने अन्धविश्वास थियो । तर मेरो बुबाले कसैका कुरा सुन्नुभएन । अन्धविश्वासविरुद्ध मलाई अगाडि बढ्न उहाँले सधैं हौस्याउनु भो । बुबाको दाहिने हात नै थिएँ म । बुबा सुनको काम गर्नुहुन्थ्यो । मैले पनि बुबाको सीप सिकें । त्यसैले मलाई पनि सुन चाँदीका विभिन्न गहना बनाउनसमेत आउँछ । बनाउन थाले भने अहिले पनि म गहना बनाउन सक्छु । महिलाले लाउने फुलीका बिक्रा, सिक्री बनाउनका लागि बुबाको सहयोगी बनेर काम गर्थे ।

बुबाको चाहना छोरीले धेरै गर्न सक्छन् । उनीहरूलाई आमा बुबाले साथ दियो भने केही फरक काम पनि गर्न सक्छन् भन्ने बुझाईले गर्दा मलाई निडर बनेर काम गर्ने प्रेरणा मिल्यो ।

स्कुले जीवनमा तपाईं के बन्ने चाहना राख्नुहुन्थ्यो ?
हुन त बुबाले मलाई डाक्टर बनाउने र सगरमाथा चढाउने सोच्नुभएको थियो । तर डाक्टर बन्नु र सगरमाथा चढ्नुभन्दा ठूलो जातीय र लैंगिक विभेदविरुद्ध काम गर्नु हो भन्ने लाग्यो । अनि आफ्नै विद्यालय, गाउँ, धारा पधेंरा, बाटोघाटो जतासुकै भोग्नुपरेका जातीय र लैंगिक विभेदका घटनाले मलाई विद्यालय क्याम्पसको कोरा शिक्षाभन्दा सामाजिक चेतनाको दीयो बाल्ने काम महत्वपूर्ण लाग्न थाल्यो ।

पढाईभन्दा धेरै रुची छुवाछूत र लैंगिक विभेद गर्नेलाई कारबाही गराउनमै ठिक्क हुन थाल्यो । म किन दलित भएर जन्मिएँ भन्ने हिन भावना बढ्दै गएपछि शिक्षालाई अगाडि बढाउन सकिनँ । २०५७ सालमा एसएलसी दिएँ । २ विषयमा फेल भएँ । अनि फेरि परीक्षा दिनै मन लागेन । आफ्नै कक्षाका साथीहरूबाट भोगेको जातीय विभेद र यौन दुव्र्यवहारको घटनाले मैले १० कक्षामा त एक दिन पनि क्लास लिइनँ । भर्नामात्रै भएकी थिएँ । कसरी पास हुनु ? तर, पछि मैले पढाइलाई निरन्तरता दिँदै अहिले भने म एलएलबी प्रथम वर्षमा पढिरहेकी छु । वकिल बनेर गरिब र विपन्नको पक्षमा वकालत गर्ने ठूलो धोको छ ।

स्कुल पढ्दा मलाई लाग्थ्यो, म विद्रोह गर्नकै लागि जन्मिएकी हुँ । समाज परिवर्तनका लागि भनेर माओवादीले थालेको जनयुद्धले पनि मलाई आकर्षित ग¥यो । माओवादी भएपछि शोषक, सामन्त, बलात्कारी, बहुविवाह गर्ने, छुवाछुत गर्नेलाई कारबाही गर्न सकिन्छ भन्ने लाग्यो । २०६१ मा मैले माओवादी पार्टी प्रवेश गरेँ । अनि गाउँमा बहुविवाह गर्ने, जातीय विभेद गर्नेको उजुरी गरिदिएँ । म माओवादीको अनेम संघ स्याङ्जा जिल्ला सदस्य हुँदा चार÷पाँच जनालाई कारबाही गरियो । जेठी श्रीमतीलाई पिटेर दुई दाँत भाँच्ने एउटा श्रीमान्लाई त रुखमा बाँधेर कालोमोसो दलेरै कारबाही गरियो । तर, तत्कालीन माओवादीले लिएको नीति व्यवहारमा नदेखिएपछि केही समयपछि म पार्टीबाट अलग भएर सामाजिक कार्यमा सामेल भएँ ।

जीवनका आरोह–अवरोहहरबारे केही भनिदिनुस् न ?
एकदम कहालीलाग्दो आरोह अवरोहरु छन् । श्रीमान्ले अर्को विवाह गरेपछि मेरो जीवनले नितान्त फरक मोड लियो । आमाको मृत्यु र श्रीमान्को कुटाइ, पिटाइ र अन्त्यमा अर्को विवाह गरेपछि सदाको लागि श्रीमान्सितको दाम्पत्य जीवन टुङ्गियो । बच्चासँगै आफ्नो जीवनको सबै जिम्मेवारी काँधमा आइपरेपछि एकल महिला, बेसहारा महिला भएर यो समाजमा बाँच्नु र फेस गर्नु कति गाह्रो रहेछ भन्ने मैले भोग्ने र समाजको पुरुषवादी सोच र संरचनालाई बुझ्ने मौका पाएँ ।

सामाजिक क्षेत्रमा गर्नुभएका उल्लेखनीय काम केही छ ?
समाजमा समानता र न्यायका लागि सचेतना फैलाउनुका साथै विभिन्न जिल्ला र क्षेत्रमा सहयोग गरेकी छु । जसअन्तर्गत कास्कीको पोखरा हेम्जामा अपांगता भएका र वृद्धवृद्धाहरुलाई घर निर्माण गरिदिएँ । त्यस्तै नुवाकोटमा विद्यालय बनाइदिँए भने हिंसाबाट जोगिन महिलाहरुका लागि आत्मरक्षाको तालिमसमेत दिँदै आएकी छु ।

विभेदका कुनै अविष्मरणीय क्षण छ ?
गाउँमा हुने चरम जातीय विभेदले नै मलाई सामाजिक क्षेत्रमा सक्रिय हुने उत्प्रेरणा जगाएको हो । श्री गंगालाल माध्यमिक विद्यालय स्याङ्जा चापाकोटमा कक्षा पाँचमा पढ्दै थिएँ । सँगै पढ्ने मिल्ने साथी कला पंगेनीको बुबा बित्नु भो । कला र म लगायत पाँच जना साथीहरू एउटै बेन्चमा बस्थ्यौं । किरियामा रहुञ्जेल दलितलाई छुन हुन्न रे । अनि कलाले मलाई सँगै बस्ने बेन्चबाट अलग गरेर १३ दिनसम्म अर्को बेन्चमा बस्न लगाइन् ।

कक्षा ८ मा पढ्दा मेरो कक्षाकै साथी जानकी पंगेनीले टाउकोमा रुमाल राखिन् । ‘म कमिनीजस्तो देखिएँ’ भनेर मलाई हेर्दै इन्सल्ट गरिन् । मैले असाध्यै अपमानित महसुस गरे । हिनताबोध भो । विद्यालयका प्रधानाध्यापकसँग गुनासो राखेपछि कक्षा कोठामै ४५ मिनेट बेन्चमाथि उभ्याएर माफी मगाएँ ।

स्कुलमा धारा थिएन । कार्यालय सहयोगीले ल्याएको पानी १ बजे हाफ टाइममा मात्रै पिउन दिन्थे । अफिसमै गाग्रीबाट सारेर सबैले खान्थे । तर म लगायत स्कुलमा पढ्ने दलित विद्यार्थीहरूलाई शिक्षकले नै अलग्गै जगबाट माथिबाट हालिदिन्थे । हामीले दुई हातले अंजुली थापेर खानुपर्दथ्यो । पानी पोखेर लगाएको सर्ट भिज्थ्यो । भिजेको सर्टबाट भित्री कपडा पनि चिसो हुन्थे । अनि केटाहरूका लागि मजाकको पात्र बनाउँथे । त्यो भनेको यौन दुर्व्यवहार थियो ।

एकपटक साह्रै तिर्खा लागेर अफिसमा कोही शिक्षक नभएको बेला आफै पानी सारेर खाएँ । कार्यालय सहयोगी बाहुन पाण्डे जातका थिए । उनले देखे । त सानो जातको भएर पनि यति हिम्मत गर्ने भनेर निकै गाली गरे । र मैले छोएको सबै पानी फालेर गाग्री घोप्ट्याउन लगाए । र आइन्दा गाग्री छोएको देखे भने स्कुलबाट हटाउने चेतावनी दिए । तर शिक्षकहरूले यति कुरा सुनेर पनि केही प्रतिक्रिया दिएनन् । अथवा मैले गल्ती गरेकै हो भन्ने बुझे । किनकि विद्यालयका सबै शिक्षक बाहुन थिए ।

सञ्चार क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
२०७२ साल वैशाखमा वैदेशिक रोजगारबाट नेपाल फर्किएँ । भूकम्प प्रभावितको राहत र पुनस्र्थापनाका लागि सिन्धुपाल्चोक, दोलखा, धादिङ, गोर्खा लगायत १५ जिल्लामा काम गरें । जसबाट दलित समुदायको भौगोलिक र आर्थिक अवस्थाको पहिचान गर्न सफल भएँ । नजिकबाट दलितका दुःख बुझ्ने मौका मिल्यो भूकम्पले ।

दुःखी र पीडितको लागि सञ्चारमाध्यम नै ठूलो कडी रहेछ । जातीय विभेदका मुद्दामा प्रहरीले साथ नदिएको कुराबाट प्रभावित भएर म बाध्यताले पत्रकार बन्ने निधो गरेँ । न्यूज २४ मा एक वर्ष जातीय विभेदसम्बन्धी ‘सामाजिक सरोकार कार्यक्रम’ चलाएँ । जसबाट अन्तरजातीय विवाह गर्दा ज्यान गुमाएका अजित मिजारको मुद्दालाई बाहिर ल्याउन सफल भइयो । त्यस्तै कैलालीका जिल्ला शिक्षा अधिकारीले दलित समुदायका विद्यालय निरीक्षक विरबहादुर नेपालीलाई गरेको विभेदलाई पर्दाफास गरियो । पछि विरबहादुरले सर्वोच्च अदालतबाट न्याय पाए ।

टीभीबाट छोडेपछि रेडियो मिर्मिरेमा दुई वर्ष जातीय विभेदसम्बन्धी सामाजिक सरोकार कार्यक्रम चलाएँ । जहाँ बलात्कार, जातीय छुवाछूत, लैंगिक हिंसाका मुद्दा सयौं घटनाको पर्दाफास गरियो । सयौंले न्याय पनि पाए । अहिले म दलित एकता सञ्जाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजक, नेपाल सांस्कृतिक कलाकर्मी संघको उपमहासचिव, नारी आवाज फाउन्डेशनको अध्यक्ष, सैघाली खबर मिडिया ग्रुपको सञ्चालक समिति सदस्य, थाहा अनलाइनको सहसम्पादक भएर काम गरिरहेकी छु ।

अबको योजना ?
मेरो जीवन नै दुःख र पीडामा परेका मान्छेका लागि समर्पित छ । बाँचुञ्जेल जसको कोही छैन, उसैका लागि काम गर्ने इच्छा छ । ठूलै मान्छे हुने सपना छैन । असल छु, असल रहिरहने कोसिस गर्नेछु । धेरै ठूला महत्वकांक्षा नहुँदा मनमा अशान्ति पनि हुँदोरहेनछ । सुखीभन्दा खुसी छु, यसैमा आनन्द छ । जातीय छुवाछूत र लैंगिक विभेदरहित संसार देख्ने चाहना छ । त्यो सम्भव पनि छ । मैले जहाँ जहाँ विद्रोह र विरोध गरें, त्यहाँ परिवर्तन भएको आफैंले देखेकी छु । त्यसैले परिवर्तन सम्भव छ र मानवता अझैं ज्युँदै छ भन्ने मेरो बुझाई हो ।

अन्त्यमा केही भन्नुहुन्छ ?
ग्रेटर रस्मुर नेपाली कम्युनिटी यूकेले मलाई स्पोन्सर र सिर्जनशील नेपाली समाज यूकेले ‘होस्टिङ’ गर्नुभएकोे छ । यस क्रममा धेरैले सपोर्ट गर्नुभाछ । सबैलाई धन्यवाद !

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!