इलामको डकुमेन्ट्री सार्वजनिक

SHARE:

मुकेश राई
लन्डन । इलाम समाज बेलायतले गृहजिल्लालाई विश्वव्यापी रुपमा चिनाउने हेतुले “इलाम हाम्रो पहिचान” नामक वृत्तचित्र शनिबार, १९ मईमा अल्डरसटस्थित एम्पायर हलमा सार्वजनिक गरेको छ ।

ग्रेटर रसमुर नेपाली समाजका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि जीवा बेल्वासे, इलाम समाज बेलायतका अध्यक्ष गोपाल गिरी अनि वरिष्ठ सल्लाहकार कमल राईले वृत्तचित्र सार्वजनिक गरेका हुन् । विमोचनपछि इलाम समाजका कार्यसमिति सदस्यहरु, विशेष अतिथि अनि इलाम समाजका विशिष्ट सदस्यहरुको उपस्थितिमा वृतचित्र प्रदर्शन गरिएको थियो । करिब दुई घण्टाको वृतचित्रमा इलामको भौगोलिक अवस्था, प्राकृतिक सौदर्य, कला, संस्कार, संस्कृति, भाषा र मौलिक परम्पराहरुको सांगोपांगो अनुभूत गर्न सकिन्छ ।

वृत्तचित्र निर्माणमा उल्लेखनीय योगदान दिने डिल्लीकुमार गुरुङले जनवरीमा सुटिङ समाप्तिसँगै एडिटिङ र अन्य प्राविधिक कार्यहरु अप्रिलमा पूर्ण गरी सार्वजनिक गरिएको जानकारी दिए । वृत्तचित्र इलामको परिवेशलाई चारै ऋतु अनि हरेक महिनामा मनाइने चाडपर्वजस्ता महत्वपूर्ण कुरा समाविष्ट गर्ने हेतुले सन् २०१७ को जनवरीबाट छायांकन सुरु गरिएको थियो ।

वृत्तचित्रमा निर्देशन, क्यामेरामेन र सम्पादनको काम सुरेश काफ्लेले गरेका छन् भने इलाम हाम्रो पहिचान बोलको गीतमा शब्द संयोजन गीतकार मुकेश राईले गरेका छन् । संगीत, स्वर मन थुलुङले दिएको वृत्तचित्रमा सुनिता थेगिमको पनि आवाज भरिएको छ । भिडियो निर्माणका निम्ती समग्र बेलायतवासी इलामेहरुले आर्थिक सहयोग अनि स्पोन्सर गरेका छन् ।

वृत्तचित्र हेरेपछि दर्शकहरुले रोचक रहेको भन्दै आफ्नो गाउँ पुगेको अनुभूति भएको प्रतिक्रिया दिएका थिए । कतिपयले आफ्नै जिल्लामा रहेर पनि छायाँकन गरिएको कुरा थाहा नभएको र परदेशमा रहेर पनि यसरी यस वृत्तचित्रमार्फत जान्न पाउँदा खुसी लागेको बताए ।

अन्त्यमा इलाम समाज बेलायतका अध्यक्ष गिरीले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै आउँदा दिनहरुमा यो भिडियो इलामेलीका निम्ती मात्रै नभई सम्पूर्ण नेपालीहरुलाई गर्व महसुस गराउने दस्तावेजको रुपमा रहने विश्वास व्यक्त गरे । साथै यो वृतचित्र निर्माणको निम्ती ऐक्यबद्ध भएर सल्लाह, सहयोग गर्ने सम्पूर्ण इलामेलीहरूप्रति आभर व्यक्त गरेका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!