कम्युनिष्ट शक्ति विश्व इतिहासमा कमजोर बन्दै गर्दा नेपालमा कम्युनिष्ट आन्दोलन र वामपन्थी विचार इतिहासमै शक्तिशाली बनेको छ । नेपालका कम्युनिष्टहरुले देखाउने चरित्रले यति ठूलो कम्युनिष्ट शक्ति बन्लान भनेर अनुमानसम्म पनि गर्न कसैले भ्याएका थिएनन् । तर सम्भव भयो । स्वर्गीय पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा जन्मिएको कम्युनिष्ट पार्टी सात दशकको बीचमा कैयौं पटक टुटफुट भए पनि पुनः एकीकृत भएर पुष्पलालको टुटेको सपना पुनः एकपटक साकार भएको छ । अनेकौं विशेषणधारी कम्युनिष्ट घरहरुको आवश्यक छैन, अब एउटै कम्युनिष्ट केन्द्रको आवश्यकता छ र देशमा अब क्रान्तिकारी रोमान्टिसिजमको हैन, विकास र स्थिरताको नेतृत्व गर्नसक्ने कम्युनिष्ट शक्तिको आवश्यकता छ भन्ने तथ्यमा नेताहरुको सुझबुझपूर्ण कामले आजको स्थिति निर्माण भएको छ । जेठ ३ गतेसम्म अलग धारको नेतृत्व गर्दै आएका दुई कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र विघटन भएर बनेको शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी बनेको छ । यो अहिलेको आवश्यकता थियो थिएन, विश्लेषणको पाटो पक्कै पनि हो । तर, मुलुकमा छाएको अस्थिरता, मौलाएको भ्रष्टाचार र सुशासनका लागि बहुमतको दिगो सरकार चाएिकै थियो । कम्युनिष्ट शक्ति एक हु“दा त्यो आशा गर्ने ठाउँ पक्कै पनि छ ।
असोज १७ गते चामत्कारिक रुपमा पार्टी एकताको घोषणा गरेका तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अस्तित्व समाप्त भएको छ, २०७५ जेठ ३ गतेदेखि । अस्तित्व यसमानेमा समाप्त भयो की, दुवै पार्टी विघटन भए । तर, विघटन पछि नयाँ शक्तिशाली कम्युनिष्ट पार्टीको जन्म भयो । नेपाल कम्युनिष्ट पार्टीको नाममा । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । २०७५ सालमा पुनः कम्युनिष्ट पार्टीको पुनर्गठन भयो । अब यो पार्टी दक्षिण एशियाको शक्तिशाली पार्टी बनेको छ । यो पार्टी विश्वको तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको चर्चा हुनु र सेलाउनु नयाँ परिघटना होइन । सशस्त्र युद्धकाल र त्यसपछिको शान्तिकालमा समेत अनेकौं चरणमा वार्ता र संवाद गरेका दुई पार्टीका शिर्ष नेताबीच गत असोज १७ गतेको पार्टी एकता घोषणा आकस्मिक नभएपनि बांकी सबैका लागि आकस्मिक थियो । एमाले र माओवादी केन्द्र मिलेर एउटै शक्तिशाली कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टीको पुनर्जन्म भएको छ । यो ऐतिहासिक परिघटना हुनका लागि अनेकौं आयामहरुले काम गरेको छ । राजनीतिशास्त्रमा अनुसन्धान र चासो राख्ने जो कसैका लागि पनि एमाले–माओवादी एकता भोलिको दिनमा एउटा गतिलो सन्दर्भ सामग्री बन्न सक्छ । एमाले माओवादी एकता त्यति सहज ढंगले भएको पक्कै हैन । यसका लागि दुवै पार्टीको अध्यक्षले धेरै मेहनत र पसिना बगाएका पनि छन् । दुई शीर्ष नेतालाई एक गराउन विभिन्न परिघटनाहरुले बाध्य पनि बनाएका छन् । अनेकौं आशंकाहरुका बीच पनि एकता प्रक्रियालाई पुरा गर्न नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डले कैयौं ठक्कर खाएका छन्, अनि खुवाएका पनि छन् । अबको चुनौति भनेको पार्टीलाई एकढिक्का बनाउने र उनीहरुले नै भन्दै आएको दिगो सरकार, सुखी र खुशी नेपाली बनाउने अभियान नै हो । इतिहासमा यो पहिलोपटक कम्युनिष्टलाई प्राप्त भएको अवसर हो । यो अवसरबाट चुक्नु हुँदैन ।






