गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाअध्यक्षको जिम्मेवारीमा पूर्णबहादुर हितान मगर छन् । भारतीय सेनामा नौ वर्ष जागिर खाएपछि समाजसेवाका लागि गाउँ फर्किएका हितान मगर अहिले वडाअध्यक्ष भएर रातदिन कोरोना महामारी र विकास निर्माणका कार्यमा खटिरहेका छन् । सत्तरी वर्षको उमेरमा समेत जनप्रतिनिधिको रुपमा सक्रिय तिनै हितान मगरसँग कोरोना संक्रमणको जोखिम कम गर्न र विकास निर्माण तथा जनहितका कामलाई कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा देव पचभैयाले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत छ ।
१. कोरोना संक्रमणको जोखिमको अवस्था कस्तो छ तपाईंको वडा र नगरपालिकामा ? त्यसमा के-कस्तो काम गर्दै हुनुहुन्छ ?
उत्तर -कोरोना संक्रमणको जोखिम मुसिकोट नगरपालिकालगायत मेरो १ नम्बर वडामा पनि उच्च नै छ । विशेष गरेर भारतबाट आउने नेपाली दाजुभाइलगायत ११७ घरधुरीका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको थियो । सुरुमा सबैको आर.डि.टी. परीक्षण गरियो । परीक्षणमा नेगेटिभ आउनेहरुलाई १४ दिनपछि घरमा पठाइयो । आर.डि.टी मा पोजेटिभ आउने १८ जनाको पीसीआर परीक्षणको लागि स्वाब पनि परीक्षण गर्न पठाइएकोमा पछि सबै जनाको पीसीआर प्रतिवेदन पनि नेगेटिभ आएपछि अहिले सबैजना आ-आफ्नो घरमा हुनुहुन्छ ।
२. पूर्णबहादुर हितानजी हजुरको बिगतलाई सम्झिउ न । तपाईं अहिले वडा अध्यक्ष भएर समाजसेवा गरिरहनुभएको छ । पहिला कहाँ हुनुहुन्थो ? के गर्नुहुन्थ्यो ? कसरी राजनीतिमा प्रवेश गर्नुभयो ?
उत्तर-विगतलाई सम्झँदा मेरो बुवा भारतीय सेनामा जमदार हुनुहुन्थ्यो । दोस्रो विश्वयुद्धमा उहाँलाई एमसी बहादुरी पदक प्राप्त भएको थियो । उहाँ पनि सामाजिक कामकाजमा बढी मात्रामा हिँड्नुहुन्थ्यो । विद्यालय निर्माण, बाटो, कृषि, वन लगायतका विकास निर्माणको काममा हिँड्ने, समाजमा पढ्नुपर्छ, शिक्षित हुनुपर्छ भनेर समाजमा शिक्षाको महत्वको बारेमा सिकाउनु हुन्थ्यो । त्यसैको प्रभावले गर्दा पनि मलाई समाजसेवामा लाग्नको लागि प्रेरणा मिलेको हो । समाजमा हुने अन्याय, अत्याचार, असमानता जस्ता कुरितीहरुलाई सानैदेखि खुलेर मैले बिरोध गर्थे । समाजको विकासको लागि स्वत:स्फुर्त लाग्नुपर्छ भन्ने सोच थियो । पछि भारतीय सेनामा भर्ती हुन पुगे । सेनामा सेवारत छँदा परिवार र समाजको लागी केही गर्नुपर्छ भन्ने सोच आयो । त्यसपछि सैनिक पेसालाई त्यागेर गाउँघर फर्की सामाजिक कार्यमा लागे । गाउँलाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने, वन संरक्षण व्यवस्थापन, बाटो निर्माण, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गाउँमै बसेर सेवा गरे । तर मेरा छोराछोरिहरु धेरै भएको र कृषिबाहेक अन्य आय आर्जनको स्रोत नभएकाले घरको आर्थिक अवस्था कमजोर भएकोले गाउँ छोडेर फेरी जागिर खान भारत पसें ।
१४/१५ वर्ष भारतमा जागिर गरिरहँदा छोराछोरीहरु हुर्किए, बढे अनि पढे । त्यसपछि फेरि गाउँ फर्किएर सामाजिक कामलाई निरन्तरता दिन थाले । नेपालमा संघीयता आएपछि वि.सं २०७४ सालमा स्थानीय तहको निर्वाचन हुने भयो । गाउँलेहरुले तपाई नै उठ्नुपर्छ भनेपछि, नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएँ । अनि वडा नम्बर १ का जनताले जिताएर म आज यहाँसम्म आइपुगेको हुँ ।
३. भनेपछि तपाईं समाजसेवाको लागि भारतको सरकारी जागिर छोडेर नेपाल आउनुभयो, किन ?
उत्तर- विशेषत: म सानैदेखि समाजमा भएका विकृति र अत्याचारविरुद्व खुलेरै विरोध गर्थे । समाज विकासको लागि काम गर्ने चाहना भएको भएरै गाउँ फर्केर आएको हुँ ।
४. यसरी समाजसेवामा लाग्दै गर्दा तपाइले लिएको अनुभव कस्तो रहेको छ ? तपाईंले भोगेको समस्या र उपलब्धीलाई सम्झिउ न एकपटक ।
उत्तर-जब म वडाध्यक्ष पदमा विजयी भएँ, मेरो पहिलेदेखिकै सपनाहरु थियो- वडालाई अध्यारोमुक्त गाउँ घोषणा गर्ने, सुरुमै यसै अभियानमा लागे । वडामा जम्मा जनसंख्या ५,०५० रहेकोमा ५४ घरधुरीमा बिजुली पुगेको थिएन । नगरपालिकासँग अनुरोध र समन्वय गरेर सबैमा बिजुली बत्ति पुर्याइयो । गाउँमा खरको छानो भएकोले हरेक वर्ष छाउनुपर्ने समस्या थियो । खरको छानो सुरक्षित पनि नहुने र टिकाउ पनि नहुने भएकोले वडालाई खरको छानो मुक्त बनाउने अभियानमा लाग्यौ । सर्वेक्षण गर्दै तत्थ्याङ सङ्कलन गर्दा २३७ घरधुरी खरले छाएको पाइयो । त्यसमध्ये १३७ घरहरुलाई टिनले छाएर खरको छानोमुक्त बनाइएको छ । बाँकी घर टिनले छाउने अभियानमै छन् । आउने आर्थिक वर्षमा पुरा हुन्छन् ।
म आइसकेपछी १७० घरधुरीलाई लिफ्टिङ प्रणालीबाट खानेपानी वितरण भइरहेको छ । यसवर्ष बढी मात्रामा पानी परेको कारण पहिरो गएर केही क्षति पुगेको छ । मर्मतको काम भइरहेको छ । नगरपालिका र केन्द्रसंगको समन्वयमा करिब तीन करोडको लगानीमा कालढुंगा-छत्र मन्दिर खानेपानी योजना पारिएको छ र निर्माणको काम सुरु भएको छ । हाम्रो वडामा १६०० घरधुरी रहेकोमा हाम्रो कार्यसमितिले ७ वटा सडकहरु टोल टोलमा पुर्याएका छौं । यी त केही उदाहरण मात्रै हुन् । धेरै कामहरु जस्तै विद्यालय, मन्दिर, स्वस्थ्यचौकी लगायतका सार्वजनिक भवनहरु निर्माण गर्ने, शिक्षा, सिप तथा रोजगार सम्बन्धी कामहरु, जनचेतनामूलक क्रियाकलापहरु, कृषि तथा वन संरक्षण लगायतका क्षेत्रमा धेरै काम गरेका छौं ।
५. यसरी वडा अध्यक्षको हैसियतले काम गर्दै गर्दा विभिन्न अप्ठ्याराहरु, गुनासाहरु आइरहेका होलान । प्रतिपक्षले पनी विरोध जनाइरहेका होलान् । के भन्नुहुन्छ ?
उत्तर-जनताहरु म प्रति खुसी नै छन् । तर कैहिलेकाहीं समस्या आउँछ । जस्तै बाटो बनाइदिनु पर्यो भनेर बाटो माग गर्छन् । नगरपालिकासँग अनुरोध गरेर बल्लबल्ल योजना पार्यो, खन्ने बेलामा फेरी विवाद आउछ मेरो घर जोखिममा पर्छ, मेरो जग्गा पर्यो, खेत पर्यो भनेर । विवाद समाधान गरेर बाटो लग्यो वर्षातका कारण पहिरो खस्छ । फेरि उही समस्या आउँछ । मर्मतसम्भार साथै क्षतिपूर्ती पनी दिलाइदिनु पर्छ । एउटै काममा पटक पटक समय दिनु पर्छ । मर्मत तथा रेखदेख गर्न फेरी बजेटकै समस्या, यस्तै छ हेर्नुस । सरकार र नगरपालिकाले जथाभावी सडक नखन्नु भन्छ तर जनता मान्दैनन् । उनिहरु चाहन्छन् वडाले बाटो तिनको घरदैलोमै पुर्याइदियोस् ।
६. अबको बाँकी कार्याकालमा तपाईंको के गर्ने सपना छ ? योजना केके छन् ?
उत्तर – अरेवा जनज्योति मा.वी. चार कोठे भवन, सर्वोदय मा.वि.मा आठ कोठे भवन निर्माण हुँदैछन् । यी निर्माणाधीन कार्यलाई सम्पन्न गर्ने । छोरधारा-छत्र मन्दिर खानेपानी लिफ्टिङ खानेपानी योजना, टोल टोलमा पुर्याइएका बाटोहरुलाई स्तरोन्नती गरी वर्षभरी संचालन हुने बनाउने, अरेवा-घमिर-राजबारी-लिलिङ सडकलाई ग्राभेलिङ गर्ने जस्ता मुख्य कामहरु सम्पन्न गर्न बाँकी छ । मेरो कार्यकालसम्ममा सम्पन्न गरिसक्ने हो । अरु धेरै कामहरु गर्न बाँकी छ । शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, कृषि, बिद्युत लगायतको क्षेत्रमा थप कामहरु गर्नु पर्ने छ ।
७. अहिले कतिले स्थानीय तहमा वडा अध्यक्षको रुपमा काम गर्दा निकै गाह्रो छ भन्छन् । कसैले वडा अध्यक्षसँग धेरै अधिकार छ, धेरै विषयमा निर्णय गर्ने अधिकार छ भन्छन् । तपाईंको अनुभव कस्तो छ ?
उत्तर-मेरो विचारमा त लगतनशिलता र उद्देश्य बोकेर हिँडेको मान्छे जतिसुकै दुःख पाए पनि दुखित हुँदैन । त्यसैमा खुशी देख्छ । दु:ख मा पनि रमाउन सिक्नु पर्छ । जसलाई जे गर्ने इच्छा छ र लगाव छ त्यो गर्दा दुःख हैन खुशी हुन्छ । उदाहरणका लागि, एउटा गितार बजाउन मन पर्ने व्यक्ति रातदिन गितार बजाइरहेको हुन्छ । उ त्यसैमा खुशी भइरहेको हुन्छ । त्यस्तै समाजसेवामा लागेको व्यक्ति व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जनताको सेवामा जुटेको हुन्छ । म त्यस्तै किसिमको मान्छे हुँ । दौडधुप त धेरै नै हुन्छ ।
मेरो वडाले ठूलो क्षेत्रफल ढाक्ने भएको कारणले गर्दा शारीरिक तथा मानसिक दुवै रुपले खट्नु पर्ने हुन्छ । शनिबार अनि बिदाको दिन भन्न मिल्दैन । जनताले कहिले कहाँ बोलाउछन् कहिले कहाँ बोलाउँछन् । सानातिना झै झगडादेखि लिएर विकास निर्माणमा आउने समस्या समाधान गर्न हिँडिराख्नु पर्छ । जस्तै- कतै पहिरोले घर बगाइदियो भन्छन् । कतै बाटोले जग्गा मिचिएको हुन्छ । कतै घर जोगाइदिनु पर्यो, कतै पर्खाल लगाइदिनुपर्यो, कतै पहिरोले बाटो थुनियो खुलाउन आउन पर्यो भन्छन् । जनताका यस्ता उजुरीहरुलाई सकारात्मक रुपमा लिएको छु । यसरी खटिएर काम गर्न पाउँदा जनताले यसैको लागि मलाई जिताएका हुन् भनेर खुशी लाग्छ । म सरकारको प्रतिनिधि हुँ, सबै जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने सोच आउँछ । मेरो अनुभवले मेरो कार्यकाल सकिँदासम्म म ७२ वर्षको हुन्छु । यदि जनताले फेरि पनि तपाईं नै उठ्नुस् भन्नु भयो भने अर्को चुनावमा पनि उठेर जनताको सेवा गर्छु । तर आफ्नो इच्छाले भने वडाअध्यक्ष भएर फेरि उठ्न मन छैन । अरुलाई पालो दिनु पर्यो नि ! सामाजसेवामा लाग्नको लागि मेरो बुवा पदमसिङ हितान र माइला दाजु जयबहादुर हितानद्वारा म प्रभावित भएको हुँ । बुवा पनि गाउँ विकासको लागि धेरै काम गर्नुभएको थियो । र मेरो माइला दाजुले पनि यस गाउँ, आफ्नो समाज, र नेपाली कङ्रेसलाई अतुलनीय योगदान प्रदान गरेर जानुभएको छ । त्यतिबेला उहाँ लाङ्घाली समाजको संस्थापक सचिव हुनुहुन्थ्यो । नेपाल मगर समाज स्थापना र बिस्तार गर्नमा उहाँको महत्वपूर्ण योगदान छ ।
कुनै समुदायका मानिसहरु बढी मात्रामा रक्सी सेवन गर्ने र रमाइलो गर्ने, तर आफ्नो भविष्य र समाजप्रति चासो नदेखाउने कारणले गर्दा अगाडि बढ्न सकेका छैनन् । आफ्नो हक र अधिकारप्रति पनि सचेत हुँदैनन । सामाजिक कार्यमा त्यति चासो दिँदैनन् । आउने सन्ततिको लागि शिक्षा तथा तिनको भविष्य कसरी निर्माण गर्ने विषयमा चिन्तित देखिनन् । यी विषयहरुले पनि मलाई चिन्तामा पारेको छ र सुधारको लागि अघि बढ्दै छु ।
८. कतिपय जन प्रतिनिधिहरुले राजनितिमा लागेर चुनाव जितेर बेक्कार झमेला फसियो भन्नेहरु पनि छन्?
उत्तर- समाजसेवा त मेरो रहर र चासोको विषय हो । मलाई त्यस्तो दुःख लाग्दैन । जनप्रतिनिधी नहुँदा पनि सामाजिक काममा उत्तिकै हिँड्थे । अहिले पनि हिँड्छु । जस्तो परिस्थितिमा पनि सामाजिक काम छोड्दिन । जनताको दुखेसो सुन्छु । समस्या सुन्छु । यी त सामान्य कुरा हुन् मेरा लागि ।
९.घर परिवारले कति हिँडेको होला, यो बुढेसकालमा दुःख गरेको होला भन्छन् नि ?
उत्तर- मलाई त्यस्तो अवस्थाको सामना गर्नु परेको छैन । मेरो छोराछोरीहरु जागिरको सिलसिलामा र विवाह भएर बाहिर छन्, यहाँ गाउँमा छैनन् । घरमा श्रीमती र बुहारी छन् । मलाई मेरो छोराछोरी, श्रीमती र आफन्तबाट पूर्ण समर्थन र सहयोग प्राप्त भइरहेको छ । श्रीमती पनि सामाजिक काममा सक्रिय भएर हिँड्ने महिला हुन् । मेरो कामबाट मेरो परिवार खुसी छ ।
९ .अन्तमा तपाईंलाई पढ्दै गरेका पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?
उत्तर- समाज र जनताको लागी जहिले राम्रो काम गर्ने प्रयास गरेको छु । कहिलेकाहीं म र मेरो पक्षबाट अन्जानमा कुनै गलत काम भएको भए हामीलाई सचेत बनाउनु होला । सुधार गर्ने मौका दिनुहोला भन्न चाहन्छु ।