तथानाम गालि गरेर मगरको बिकाश हुँदैन

SHARE:

 

 

 

 

 

चिम्खोले काइँला, बेलायत

गाली गरेर मगरको विकास हुँदैन
मगरहरु बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा बहुपहिचानले भरिपूर्ण भएको जाति हो, तर धेरै मगरहरु ब्यक्तिगत स्वार्थका लागि, राजनीतिक स्वार्थको लागि, धर्मको लागि, साँस्कृतिक तथा पहिचानको निहुँ बनाएर एक मगरले अर्को मगरलाई तथानाम गाली गर्ने चलन मगरहरुमा हाबी छ भन्दा फरक नपर्ल । यस्ता परम्परा, सोच र चिन्तनले गर्दा मगरको विकास र सम्वृद्धि कठिन छ । यसरी एउटा मगरले अर्को मगरलाई तथानाम गाली गरेर मगरको बिकास हुँदैन ।
उदाहरणको लागि एउटा प्रसंग जोड्न चाहन्छु, २००५ सालको दशैंको समयको कुरो हो, जुन समयमा म मगर संघ, युकेको महासचिवको कार्यभार संहालिरहेको थिएँ । ब्रिटिश सेनाबाट अवकाश पाएको धेरै वर्ष भएको थिएन, ब्रिटिश सेनामा हुँदा प्रायः हामी गोर्खाहरु सबैले दशैंको समयमा दशैं तथा तिहारको कार्ड पठाएर शुभकामना साटासाट गर्ने चलन थियो सोहि अनुरुप मैले पनि मगर संघ, युकेका पदाधिकारीहरुलाई दशैं र तिहारको शुभकामना कार्ड पठाएँ । मलाई लागेको थियो, अंग्रजी नयाँ वर्ष तथा क्रिसमसका कार्डहरु पठाएर एकअर्काले शुभकामनाहरु साटासाट गर्छौं भने नेपालीहरुले पुस्तांैदेखि मनाउँदै आएको दशैं र तिहारको कार्ड पठाउँदा केहि फरक पर्दैन होला । यही सोचेर मैले दशैं तिहारको शुभकामना कार्ड पठाएको थिएँ, तर बिडम्बना, मगर संघ, युकेका केहि पदाधिकारी तथा सदस्यहरुले आपत्ति जनाउनुको साथै घोर बिरोध गरे । मगर संघ, युकेको महासचिव जस्तो गरिमामय पदमा बसेर दशैंमा कार्ड पठायो भने साथै तत्कालै महासचिवबाट राजिनामा दिनु पर्छ भन्ने धम्की समेत आयो ।

त्यस्तै अर्को प्रसंग जोड्न चाहन्छ, एक झुण्ड मगरहरुले नेपाल मगर संघका पदाधिकारी तथा कार्य समितिलाई राजनीतिक पार्टीको संगठन भनेर तथानाम गाली गरेको सुनें । सुँगुर खाने मगरले भैंसी खाने मगरलाई होच्चाएर बोलेको सुनेको छु । सुँगुर र भैसी खाने मगरले गाई खाने मगरलाई मगरको तल्लो जाति भनेर खिस्सी गरेको पनि सुनेको छु । खाम भाषा बोल्ने मगरले ढुट भाषा बोल्ने मगरलाई खिस्सी गर्ने, खाम र ढुट बोल्ने मगरले काइके भाषा बोल्ने मगरलाई काइके भाषा त मगर भाषा होइन भनेर घुमाउरो पाराले भनेको पनि सुनेको छु । यि ढुट, खाम र काइके भाषा बोल्ने मगरहरुले भाषा नबोल्ने मगरहरुलाई मगर भाषा नबोल्ने पनि मगर हुन्छन र ? भनेको पनि मेरो कानले सुनेको छु ।

मगरहरुको पहिरन तथा ड्रेसमा धेरै असहमति रहेको पाएको छु तथा देखेको छु । बिशेष गरेर महिलाहरुले पहिरिने पटुकी पहेलो र निलोमा धेरै असहमति छ । पहेलो पटुकी पहिरिने महिलाहरुले निलो पटुकी पहिरिने महिलाहरुलाई गुरुङ महिलाको पटुकीसंग मिल्छ भन्ने गर्छन् भने निलो पटुकी पहिरिने महिलाहरुले पहेलो पटुकी झन धेरै जातिहरु तथा राई, लिम्बु तामाङ तथा क्षेत्री बाहुनसम्म ठ्याक्कै मिल्छ भनेर दाबी गर्न पछि पर्दैनन् ।

देश संघीयतामा गैसकेको छ, घनाबस्ती भएको मगर बस्तीहरूलाई प्रदेश नम्बर ४ र ५ तिर विभाजन गरिदिएका छन् । धेरै राजनीतिक पार्टीका मगरहरुले मगरात प्रदेश हुनु पर्छ भनेर डम्फु बजाउदै हिडेको सुनेको छु, देखेको छु । तर अन्त्यमा राज्यले मगरहरुको मगरात क्षेत्रलाई विभाजन गर्दा पनि टुलुटुलु हेर्नु शिवाय केहि गरेनन् । दुई चार दिन आन्दोलन त भयो तर आन्दोलन त्यति उचाइमा तथा निष्कर्षमा पुग्न सकेन । राजनीतिक पार्टीका मगरहरुले एकले अर्कालाई हिलो छ्यापाछ्याप गरे तथा तथानाम गाली गरे । एउटा राजनीतिक पार्टीका मगरहरुले अर्को राजनीतिक पार्टीका मगरहरुलाई धारे हात लगाउन शिवाय केहि गर्दैनन् । जुन धारे हात लगाउने तथा तथानाम गाली गर्ने चलन बिदेशमा तथा युकेमा समेत प्रवेश भइसकेको छ । व्यक्तिगत स्वार्थको नाममा, राजनीतिक पार्टीको नाममा र धर्मको नाममा धारे हात लगाउने तथा तथानाम गाली गरिरहेको अनुभव मैले गरेको छु ।

मगरहरु नेपालको भूभागहरु पूर्व, पश्चिम, उत्तर, दक्षिण बस्ने भएको हुँदा आआफ्नो भाषा, भेषभुषा, खानपान फरक छ । मगरहरु बिभिन्न धर्ममा आस्था राख्छन् । त्यसैले जुनसुकै धर्म माने पनि एउटा धर्ममा आस्था राख्ने मगरले अर्को धर्ममा आस्था राख्ने मगरलाई सम्मान गर्न सिक्नु पर्छ जस्तो लाग्छ । त्यस्तै गरेर संसार भरी स्थापित भएका मगर संघका पदाधिकारी तथा कार्यसमितिहरुले जुनसकै राजनीतिक पार्टीहरुमा आस्था राखे पनि मगरको हित हुने तथा बिकास हुने कार्यमा एक जुट हुनु पर्छ जस्तो लाग्छ । धर्मको स्वार्थ, राजनीतिक पार्टीको स्वार्थ तथा व्यक्तिगत स्वार्थ त्यागेर मगरको हित हुने र बिकास हुने एजेण्डातिर एकताबद्ध हुनु पर्छ जस्तो लाग्छ । हामी मगरहरुले अर्का देशको भाषा अंग्रेजी, हिन्दी, चाइनिज्, मलाया भाषा त सिकेका छौं भने हामीले आफ्नो मगरहरुको तीन वटा भाषा मध्ये जुनै भाषा सिके पनि फरक पर्दैन । जति धेरै भाषा सिक्यो त्यति धेरै फाइदा हुन्छ जस्तो लाग्छ । हामी मगरहरु जुन धर्ममा आस्था भए पनि, जुन राजनीतिक पार्टीमा आस्था भए पनि, जुन भाषा बोले पनि, जुन जनवारको शिकार खाए पनि तथा जुन पहिरन पहिरीय पनि एक अर्काले सम्मान गर्न सिक्नु पर्छ जस्तो लाग्छ । मगरहरु एक अर्काले सम्मान गर्न सकियो भने मगरहरुको एकता सम्भब हुने छ । मगरहरु एकता हुनु भनेको मगरहरुको बिकास तथा सम्बृद्ध हुनु हो । मगरहरुको बिकास र संबृद्ध हुनु भनेको हाम्रो देश नेपालको बिकास तथा संबृद्ध हुनु हो । त्यसैले एक मगरले अर्का मगरलाई तथानाम गाली नगरेर सम्मान गर्न सिकौं ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!