नुवाकोटको पञ्‍चकन्यामा होमस्टे सञ्‍चालनको सुरसार

SHARE:

घलेभन्ज्याङ (नुवाकोट) कात्तिक २२ । जिल्लाको पञ्‍चकन्या गाउँपालिकामा होमस्टे (घरबास) सञ्‍चालन गर्ने प्रक्रिया थालिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याइ समुदायको आर्थिकस्तर उकास्ने, स्थानीय उत्पादन र ठाउँको पहिचान गराइ ग्रामीण पर्यटन प्रवर्द्धन उद्देश्यअनुरुप होमस्टे सञ्‍चालन गर्न पालिकावासी जुर्मुराएका हुन् । स्थानीय र पञ्‍चकन्या गाउँपालिकाको प्रतिनिधि सहितको शुक्रबार गाउँपालिका वडा नं ३ स्थित घलेभन्ज्याङमा प्रारम्भिक छलफल भएको छ ।

समाजका अगुवा, बुद्धिजीवी, शिक्षक, स्थानीयको भेलाले पञ्‍चकन्या होमस्टे सञ्‍चालनका लागि भन्दै छिरिङ दोर्जे तामाङको नेतृत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । त्यस्तै संस्था दर्ताका लागि आवश्यक विधान मस्यौदाका लागि समेत ३ सदस्यीय समिति गठन गरिएको छ ।

होमस्टे सञ्‍चालनको लागि पञ्‍चकन्या गाउँपालिका र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था रुडेकको आर्थिक सहयोग गर्ने तदर्थ समिति अध्यक्ष तामाङले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाबाट होमस्टे सञ्‍चालन तथा पर्यटन विकास शीर्षकमा १० लाख रुपैयाँ विनियोजन भएको छ ।

छलफलमा धारणा राख्दै अध्यक्ष तामाङले मुलुक संघात्मक बनेर स्थानीय सरकारको रुपमा गाउँपालिका आएपछि चहलपहल भए पनि बाहिरी वातावरणसँग स्थानीयको साक्षात्कार नहुनु, गाउँपालिकाभित्र आउने पाहुनालाई बसोबासको व्यवस्था नभईरहेको अवस्थामा होमस्टे सञ्चालन गर्दा पाहुनाको स्वागत सत्कार हुने र स्थानीयको सामाजिक, आर्थिक, सांस्कृतिक पक्षको विकास हुने बताए । उनले अन्य जिल्ला र क्षेत्रको अनुभव लिने र निश्चित मापदण्डभित्र रहेर होमस्टे सञ्‍चालन गर्ने तयारी रहेको बताए ।

पञ्चकन्या गाउँपालिका ३ नम्बरका वडाध्यक्ष रामबाबु पराजुलीले चितवनको माडी लगायतका होमस्टेको अनुभव सुनाएका थिए । क्या. राम थापाले गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्र पहिचान गरी तत्काल होमस्टे सञ्‍चालन गर्नुपर्ने बताए ।

व्यवसायी महेश सिटौलाले पर्यटक आकर्षण गराउन प्रकृतिले दिएका वा मानव निर्मित पूर्वाधार हुने भन्दै यहाँ आगन्तुकलाई खुसी र रमाइलो पार्ने विषयमा सोच्नु पर्ने बताए ।

स्थानीय नेता कृष्णबहादुर तामाङले तत्काललाई गाउँपालिकाको वडा नं ३ र ४ को सीमाको उच्च भागमा रहेको घ्याङ्स्वाँरा क्षेत्रमा प्राथमिकता राखेर अघि बढ्नुपर्ने बताए ।

सहभागीले पर्यटक भित्र्याउनका लागि अन्य आवश्यक पूर्वाधार निर्माण गर्ने र स्थानीय मौलिकताको प्रचारप्रसारमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।

 

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!