तेजेन्द्र केसी
बुटवल । संघीय सरकारका कृषि मन्त्री चक्रपाणी खनाल बलदेबले नेपालको जग्गाजति दलालको हातमा रहको खुलासा गरेका छन् ।
देशभरका जग्गाहरु न ब्यक्ति न त सरकारको भन्दै उनले दलालको मनपरिले जमिन ध्वस्त भएको दाबी गरे । रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले कृषियोग्य जमिन बचाउन नया कार्ययोजना र नीति बनाउन लागेको उल्लेख गरे ।
भुमिसम्बन्धि नीति, ऐन भुउपयोग नीती लगायतका नीतिहरु बनाएर कृषियोग्य भूमि बचाउन ठोस कदम चालिने उनले बताए । मैले जग्गाको २५ प्रकारको बर्गिकरण गरेको छु, नीति बाहिरको अंशबण्डा रोक्ने मेरो पहल छ उनले सुनाए ।
कृषिको लागी हरियो लालपूर्जा बनेको बताउँदै कृषिको लालपूर्जाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको लागी समेत सहुलियतको ब्यवस्था गरिने उल्लेख गरे । अंशबण्डाको नाममा कित्ताकाट रोक्ने बताउँदै मन्त्री खनालले नीति बाहिरको अंशबण्डा रोक्नको लागी पहल गर्ने बताए ।
नेपालमा १ लाख २१ हजारको संख्यामा मोहीहरु रहेको बताउदै उनले देशमा रहेका मोहीहरु हटाउने दाबि गरे ।
कार्यक्रममा बोल्दै मन्त्री खनालले अहिलेको सराकारबाट जनताको अपेक्षा अनुसारको गति नआएको बताउँदै केही योजनाहरु बन्दै गरेको बताए । नेपालमा हरेक स्थानमा सिण्डीकेट रहेको बताउँदै त्यसको अन्त्यको लागी सरकार लागी पर्ने बताए ।
कृषिमा पनि रहेको सिन्डिकेट हटाउने उनले दाबी गरे । कृषिको लागी आवश्यक मल, किटनासक बिसादी लगायतका कुराहरु सिण्डीकेटकै सञ्जालभित्र रहेको बताए । उनले भने– ‘मालपोत, नापी, वकिल देखि अदालतसम्म जोडिएको दलालको गिरोहको संजाल छ ।’
जग्गा दलालको गिरोहले गर्दा रुपन्देहीमा यहि दरमा जग्गाको कारोबार गरेमा अबको १० भित्र सबै बस्तुहरु किनेर खानुपर्ने बताए । यो समस्या रुपन्देही, कपिलबस्तु, नवलपरासी लगायतका क्षेत्रहरुमा समस्याले ठूलो रुप लिएको बताए ।
‘यसअघि पनि हजारौं पटक अनुगमन भए,तर यस्को कुनै अर्थ देखिएन, उनले भने आबश्यक नीति बनाएर अघि बढ्न जरुरी छ ।’ बहुमतको सरकार चल्ने तरिका अझै शुरु नभएको बताउँदै सरकार अझै कठोर भएर अगाडि बढ्ने बताए । उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेन्डा अगाडि बढाउने बताए । ‘हामीले हिजो उठाउँदै आएको प्रत्यक्ष कार्यकारी राष्टपतिको एजेन्डा अगाडि बढाउने बढाउछौं,यो आबश्यक छ देशले खोजिरहेको छ’ उनले भने ।


