मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

SHARE:

मोरङ पुस १२ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल नेपाल पक्षधर सांसद इन्द्रबहादुर आङ्बोको प्रस्तावमा आइतबार बिहान प्रदेशसभाको सचिवालयमा मुख्यमन्त्री राईविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता भएको हो । प्रस्तावको समर्थकमा लक्ष्मण तिवारी छन् । तिवारीले ३७ जनाको हस्ताक्षरसहित प्रस्ताव दर्ता भएको जानकारी दिए ।

‘प्रदेश सरकारबाट जनताले ठूलो आशा गरेका थिए, नयाँ संविधान जारी भएपछि संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा मुख्यमन्त्री चुकेको, सुशासन, कानुनी राज्य, समृद्ध प्रदेश बनाउने अवसरको सदुपयोग गर्न मुख्यमन्त्री गम्भीर नदेखिएको’, प्रस्तावमा उल्लेख छ ।

त्यस्तै प्रदेश १ सरकार बनेको ३ वर्ष हुँदा पनि प्रदेशको नामकरण गर्न नसकेको कारण देखाइएको छ । जसले प्रदेश सरकारको औचित्य पुष्टि गर्न नसकेको उनीहरुले कारण बनाएका छन् । अविश्‍वासको प्रस्तावमा प्रदेशसभा तत्काल बोलाउन माग गरिएको छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने खोजिएको भन्दै मुख्यमन्त्री राईले शनिबार साँझ दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजनामन्त्री रहेका आङ्बोलाई बर्खास्त गरेका थिए ।

प्रचण्ड-नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव समेत गरेका छन् ।

कुल ९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद थिए । सभामुखबाहेक ६६ जना सांसद छन् ।

पार्टी विभाजनपछि ओली समूह अर्थात् शेरधन राईको पक्षमा २० जना मात्रै छन् भने प्रचण्ड–नेपाल पक्षमा ४७ सांसद छन् । केही सदस्यहरु यता उता गरिरहेका छन् ।

पार्टी विभाजनसँगै मुख्यमन्त्री राईले संसदीय दलभित्रको बहुमत गुमाएका छन् । यसअघि माधव नेपाल पक्षले साथ दिएका कारण भीम आचार्यलाई हराएर शेरधन राई संसदीय दलको नेता अनि मुख्यमन्त्री बनेका थिए । माधव नेपाल पक्षको साथ नपाएको भए ओली पक्षले प्रदेश १ मा मुख्यमन्त्री पाउने सम्भावना यसअघि पनि थिएन ।

तीन मन्त्रीको राजीनामा

प्रदेश १ का तीन मन्त्रीले आइतबार बिहान राजीनामा दिएका छन् । उनीहरु नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर हुन्

राजीनामा दिनेमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री गजमेरलाई केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए तर उनले त्यसलाई अस्वीकार गर्दै दाहाल–नेपाल पक्षमा बस्ने निर्णय गरेकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री शेरधन राईले शनिबार साँझ दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!