पोखरा माघ ४ । कास्की मादी गाउँपालिका– २ स्थित अन्नपूर्ण र लमजुङ हिमालको काखमा अवस्थित पर्यटकीय गाउँ ताङ्तिङ चिनाउने यहाँस्थित हिमालय मिलन माविका प्रधानाध्यापक ओमप्रकाश गुरुङले पुस्तक लेखेका छन् । उनले प्राकृतिक सुन्दरताले भरिपूर्ण गुरुङ जातिको आदिम थलो क्लोरासोंथरको सहित ताङ्तिङको चिनारीलाई ‘ताङ्तिङ मेरो गाउँ’ मा उतारेका हुन् ।
शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएका उनी पछिल्लो समयमा ताङ्तिङलाई पर्यटकीय गाउँ बनाउन ‘जाउँजाउँ ताङ्तिङ’का अभियानमा समेत सक्रिय छन् । लाहुरे परिवार र संस्कृतिमा हुर्किएका उनी तत्कालीन समयमा लाहुरे बन्ने सपना त्यागेर शिक्षाको ज्योतिबाट गाउँलाई चिनाउन सक्रिय बने । पोखराको पृथ्वीनारायण क्याम्पसबाट भूगोलमा स्नातकोत्तर गरेका उनले २०७० सालमा कोरियास्थित युगनाम विश्वविद्यालयमा पार्क चु हि स्कुल अफ पोलिसी एण्ड समुलबाट समुदायको नीति, नेतृत्व र आर्थिक विकासमा दोस्रो स्नातकोत्तर गर्ने अवसर प्राप्त गरे ।
देशविदेशको फरक जीवनशैली, फरक परिवेश रहनसहन र संस्कृति देख्दा भोग्दा र अनुभव गर्दा नवीनतम सोंचले उहाँलाई आफ्नो गाउँप्रति माया जगाएको छ भने जन्मभूमिका लागि केही गर्न पनि प्रेरित गर्यो । उनले ताङ्तिङ मेरो गाउँमा छोटाछोटा ३० वटा संस्मरणलाई गाउँको समग्रतासहित विदेश घुम्दाका अनुभवलाई उतारेका छन् ।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल गण्डकी प्रदेशले उक्त पुस्तक पोखरामा विमोचन गरेको थियो । भिटोफका अध्यक्ष नवराज अधिकारीले गाउँको जनजीवनलाई उजागर गर्दै पर्यटन प्रवद्र्धनमा गुरुङ लिखित पुस्तक ताङ्तिङ मेरो गाउँ निकै उपयोगी हुने बताए ।