
लन्डन माघ १५ । नेपाल सरकारले सर्तसहित बेलायतबाट नेपाल जाने हवाई उडान प्रतिबन्ध खुला गरेको छ ।
नेपाली दूतावास लन्डनले बिहीबार सूचना जारी गर्दै संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टाबाट नेपाल भ्रमण गर्ने सम्पूर्ण यात्रुहरुले आवश्यक शर्तसहित उडान गर्न पाउने बताएको जनाएको हो । नेपाल सरकारले बिहीबारको निर्णयानुसार तत्कालै लागू हुने गरी ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टिनसम्बन्धी आदेश, २०७७’ जारी गरेको छ ।
यात्रा प्रतिबन्ध फुकुवापछि बेलायतबाट नेपाल जाने यात्रुहरुले विभिन्न शर्त भने पूरा गरेको हुनुपर्नेछ । यात्रा गर्नुअघि ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट, नेपालमा गएर होटेल क्वारेन्टिन् बस्नको लागि होटेल बुक गरेको प्रमाण साथमा हुनुपर्नेछ । साथै, यात्रापूर्व आफ्नो यात्राबारेको विवरण लन्डनस्थित नेपाली दूतावासलाई पठाउनुपर्नेछ । त्यस्तै, नेपाल सरकारको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको वेबसाईटमा उपलब्ध अनलाइन फाराम अनिवार्य रुपमा भरी सोको बारकोड प्रिन्ट गरी साथै लिएर जानुपर्नेछ ।
बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेपछि डिसेम्बर तेस्रो सातादेखि संयुक्त अधिराज्य लगायतका मुलुकबाट नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो ।
नयाँ नियमहरु
१) संयुक्त अधिराज्यबाट नेपाल प्रस्थान गर्ने सम्पूर्ण यात्रुले यात्रा गर्नु अघि आफूले यात्रा गर्ने मिति तथा हवाई उडान सम्बन्धी विवरण (Flight details) अनिवार्य रुपमा यस राजदूतावासको इमेल consular@nepembassy.org.uk मा उपलव्ध गराउनु पर्नेछ ।
२) हवाई मार्गबाट नेपाल प्रस्थान गर्ने सम्पूर्ण यात्रुले यात्रा गर्नुअघि स्वाब संकलन भएको ७२ घण्टाभित्रको सम्बन्धित देशको स्वीकृति प्राप्त प्रयोगशालामा परीक्षण गरेको कोभिड-१९ परीक्षण नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा साथमा लिनु पर्नेछ ।
३) विदेशबाट नेपाल आगमन गर्ने यात्रुले यात्रा गर्नु अघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको वेबसाईट (www.ccmc.gov.np) मा रहेको Abroad Returnee Management System अनलाइन फाराम अनिवार्य रुपमा भरी सोको बारकोड प्रिन्ट गरी साथै लिएर जानुपर्नेछ ।
४) कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण भएका संयुक्त अधिराज्य लगातयका मुलुकबाट प्रस्थान गर्ने सबै यात्रुले हवाई टिकट खरिद गर्नु अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटलमा क्वारेन्टिनका लागि अनिवार्य रुपमा बुक गरेको हुनुपर्ने ।
सम्बन्धित वायु सेवाले Check-inगर्दा अनिवार्य रुपमा होटल बुकिङ गरेको प्रमाण हेर्ने भएकोले बुकिङ गरेको प्रमाण लिएर यात्रा गर्नु पर्ने । होटल बुकिङको खर्च सम्बन्धितले व्यहोर्नु पर्नेछ ।
यसरी होटल क्वारेन्टिनमा बस्ने यात्रुले पाँच दिनपछि आफ्नै खर्चमा कोभिड-१९ परीक्षण गर्दा नतिजा नेगेटिभ आएमा थप पाँच दिन Home Quarantine मा रहने गरी गन्तब्यमा जान सक्ने एवं कोभिड-१९ को परीक्षण नगर्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा अनिवार्य रुपमा रहनु पर्नेछ ।
५) गैरआवासीय नेपालीहरु तथा विदेशी नागरिकहरुले अनिवार्य रुपमा यस दूतावासबाट भिसा लिई मात्र यात्रा गर्नुपर्नेछ । हाल बेलायतमा घोषणा भएको राष्ट्रिय लकडाउनका कारण भिसा लगायतको सुविधाका लागि अर्को व्यवस्था नभएसम्म https://nepaliport.immigration.gov.np/onlinev…/application मा गई अनलाइन भिसा आवेदन फाराम भरी सक्कल राहदानी, भिसावापतको शुल्कको लागि Postal order एवं Prepaid envelope सहित हुलाकमार्फत यस राजदूतावासमा आवेदन गर्नुहुन समेत अनुरोध गरिन्छ ।
६) नेपाली नागरिक र नेपालसँग सीमा जोडिएका छिमेकी मित्रराष्ट्रका नागरिक वाहेक अन्य विदेशी नागरिकले स्थल मार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएकोले उक्त रुट भई यात्रा नगर्नु हुन समेत अनुरोध गरिन्छ ।







