काठमाडौँ फागुन ८ । ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ का उपलक्ष्यमा फागुन ७ गते प्रज्ञा भवन, कमलादीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्तरूपमा ‘साहित्यिक तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए।
सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वि.सं. २००७ को परिवर्तन नै देशमा लोकतन्त्रका लागि मुख्य जग भएको उल्लेख गरे । उनले बेला बेलामा आन्दोलनका उपलब्धि खोसिने गरे पनि जनताको चेतना भने कसैले खोस्न नसक्ने बताए । “२००७ सालको परिवर्तनले सर्वाधिक दूरगामी महत्त्व राख्दछ, त्यही परिवर्तनको जगमा देशमा अन्य परिवर्तनहरू भएका हुन” उनले भने ।
वि.सं. २००७ अगि लेखक, साहित्यकार र कविहरूले राणा शासन हटाउनमा अहम् भूमिका निर्वाह गरेको उनले स्मरण गरे । “परिवर्तनका लागि कवि तथा लेखकहरूले जागरण अभियान चलाएका हुन्”, उनले भने । बुद्धिजीवीहरूले देशको यथार्थता बुझेर घट्नाक्रमहरूको विश्लेषण गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।
“बुद्धिजीवीहरू अलमलिए पनि जनता अलमलिँदैनन्”, उनले भने, “बुद्धिजीवीले सही बाटो देखाउन सहयोग गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले युवाहरूले गलत कुराका लागि कहिल्यै पनि सम्झौता गर्न नसक्ने बताए । “सही बाटोबाट मात्र सहज परिस्थिति निर्माण गर्न सकिन्छ”, उनले भने ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले वि.सं. २००७ सालकै परिवर्तनका कारण नेपाल नयाँ युगमा प्रवेश गरेको बताए । बिच बिचमा विभिन्न विघ्न बाधा आए पनि २००७ सालकै जगमा देशमा महत्त्वपूर्ण परिवर्तन भएको उनले उल्लेख गरे ।
“आजकै दिन महत्त्वपूर्ण जनसङ्घर्ष एवम् जनताको साहस र वलिदानपूर्ण समर्पणले मध्ययुगीन अन्धकारको युगबाट हामी नयाँ युगमा प्रवेश गरेका थियौं । जबाट दिन पवित्र दिनका साथै जीवनको अभिन्न अङ्ग समेत बनेको छ”, कुलपति उप्रतीले भने, “आजको दिन आगामी यात्राका लागि पनि प्रेरणा बन्ने छ ।” उनले आजको कार्यक्रमले देशको प्राज्ञिक एवम् सांस्कृतिक विशेषता झल्किने विचार व्यक्त गरेका थिए।
कवितातर्फ परियार र निबन्धतर्फ भट्टराई प्रथम
सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रव्यापी कविता र निबन्ध प्रतियोगितामा उत्कृष्ट भएका कवि तथा निबन्धकारहरूलाई नगद र सम्मानपत्रसहित सम्मानित गरेका थिए। निबन्धतर्फ गणेशप्रसाद भट्टराई प्रथम, रेजिना आपगाई दोस्रो र प्रेमराज सिलवाल तेस्रो तथा कवितातर्फ विक्रम पवन परियार प्रथम, गोविन्दगोपाल खतिवडा दोस्रो र तेज राई तेस्रो भएका थिए। उनीहरूलाई क्रमशः रु ५० हजार, रु ४० हजार र रु ३० हजार नगद प्रदान गरिएको थिए। पुरस्कृत प्रतिभाहरूलाई कुलपति उप्रेतीले फूलमाला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नगद पुरस्कार र प्रधानमन्त्रीले सम्मानपत्र अर्पण गरेका थिए।
कार्यक्रमको समापनमा प्रधानमन्त्री आलीले नेपाल प्रज्ञा–प्रतिष्ठानमा सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायमार्फत् प्रज्ञा–प्रतिष्ठानका कलाकार र सांस्कृतिक संस्थानका महाप्रवन्धक अशोकप्यासी राईमार्फत् सांस्कृतिक संस्थानका कलाकारहरूलाई धन्यवादपत्र प्रदान गरेका थिए। सो अवसरमा प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका कलाकारहरूद्वारा नेपालका सात ओटै प्रदेशका लोकसंस्कृति झल्किने साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थिए।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका साथै सरकारका विभिन्न निकायका प्रमुखहरूको उपस्थिति रहेको थिए।
कार्यक्रमको सञ्चालन नेपाल टेलिभिजनकी भावना केसीले गरेका थिए।