
त्रिलोक सिंह थापा मगर (लेखक मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्ष हुन्) ।
ऐतिहासिक पृष्ठभूमि
सदियौ देखि राज्यबाट उत्पिडित, थिचोमिचो तथा विभेदमा परेका भूमिपुत्र, मूलवासी मगर जनजातिका केहि सचेत मगरहरूद्वारा काठमाण्डौमा वि.सं. २०१२ बैशाख २६ गते “केन्द्रिय मगर समाज सुधार संघ” को स्थापना भएको थियो । सो संघको उद्देश्य मगर समाजमा व्याप्त सामाजिक कुरीतीहरू उन्मुलन गर्नु, शिक्षाको प्रचार तथा सामाजिक परिवर्तनलाई अघि बढाउनु थियो । यसै क्रममा वि.सं. २०१३ र २०१४ सालमा अधिराज्यका विभिन्न भेगहरूमा क्रमशः मगर संघ संस्थाहरू खुल्न थाल्यो । वि.सं. २०१४ सालमा गुल्मी जिल्लाको भार्से गाउँमा मगरहरूको पहिलो पश्चिमाञ्चल महासम्मेलन धुमधामले सम्पन्न भयो । त्यस पछि मगरहरू सामाजिक संस्थाका नाममा सङ्गठित हुन थाले । यी सम्पूर्ण मगर संघ÷संस्थाहरूको मुख्य उद्देश्यहरू सामाजिक जागरण, सामाजिक सुधार तथा मगरहरूको संस्कृति, परम्परा तथा सामाजिक रीतिथितकिो सम्वर्धन एंव विकास थियो ।
राजनैतिक परिवर्तन (वि.सं. २०१७)
वि.सं. २०१७ मा मुलुकमा बहुदलीय प्रजातान्त्रिक शासन प्रणालीको विघटन भयो । निर्दलीय, एकतन्त्रीय र निरकुंश पंचायन शासन प्रणाली लागु भयो । राजनैतिक दलका साथै सामाजिक संघ÷संस्थाहरूको सामाजिक, साँस्कृतिक, गतिविधीहरूमा राज्यले प्रतिबन्धित ग¥यो यसरी त्यी संस्थाहरू निष्कृय एंव खारेज हुन पुग्यो । वि.सं. २०१७ सालमा पञ्चायत व्यवस्था लागु भएको एघार वर्ष पछि वि.सं. २०२८ सालमा केहि उत्साही मगर युवा र विद्यार्थीहरूको प्रयासबाट पुन काठमान्डौमा मगरहरूको “लाङ्गघाली परिवार संघ”को नामले संस्था गठन भयो । त्यसपछि वि.सं. २०३२ मा “कानुङ्ग लाङ्गघाली परिवार” रुपनदेहीमा तथा “मगर समाज कल्याण समिति”को नामले म्याग्दीमा मगर संस्था खुल्यो । वि.सं. २०३५ देखि २०३६ सम्मको अवधिमा “लाङ्गघाली परिवार”, “मगर समाज सुधार समिति”, “मगर समाज कल्याण समिति” आदि नामहरूले अधिराज्यका विभिन्न जिल्लाहरू तथा भेगहरूमा मगरहरूको सामाजिक संस्थाहरू गठन हुन थाले । यो सम्पूर्ण संस्थाहरूको एउटै लक्ष्य मगर समाजमा जागरण र सामाजिक उत्थान थियो ।
नेपाल मगर संघ स्थापना दिवस (फाल्गुण १५ गते)
अधिराज्य भरि छरिएर रहेका तथा विभिन्न नामले स्थापना भएका मगर संघ÷संस्थाहरूको एउटै दर्शन, उद्देश्य र लक्ष्य रहेको हुदा त्यी सबैलाई एउटै छातामुनि आवद्ध, सङ्गठित र गोलबद्ध गर्न आवश्यक देखियो । यसै सन्दर्भमा “नेपाल मगर संघ”का संस्थापक अध्यक्ष्य हेम बहादुर पुनको अध्यक्ष्यतामा “नेपाल लाङ्गघाली परिवार” तदर्थ समिति (२०३८ माघ २८ र २९) गठन गरियो । सो समितिले अधिराज्य भरि छरिएर रहेका मगर समुदाय र मगर संघ- संस्थाहरूलाई एउटै ठाँउमा जुटाउने र जोड्ने प्रयास गर्न थाल्यो । सो समितिको प्रयासहरू यस प्रकार छन्ः
क) वि. सं. २०३९ साल फागुन १४, १५ र १६ गते तनहुँ जिल्लाको दमौलीमा “नेपाल लाङ्गघाली परिवार”को प्रथम राष्ट्रिय महाधिवेशन आयोजना गरियो । मेची देखि महाकालीसम्मका मगर संघ÷संस्थाहरुलाई एउटै संस्था अन्तरगत संगठित एवं आवद्ध गरियो । यो महाधिवेशन मगर जनजातिका लागि अत्यन्त महत्वपूर्ण र ऐतिहासिक हुनगयो । २०३९ फागुन १५ गतेका दिन अधिराज्य भरि छरिएर रहेका मगरहरूको सामाजिक संस्था एक ठाउँमा ऐक्यबद्ध र गोलवन्द भए ।
ख) मगर समाजमा तीन थरिका भाषा बोल्ने वक्ता, विविध धर्ममा आस्था राख्ने मगरहरु, विभिन्न थरका मगरहरु, स्थानीय वातावरण अनुसारका भेष भूषा, पहिरन, सामाजिक चाडपर्व, विविध पेशामा संलग्न एवं राजनैतिक दर्शनमा विश्वास राख्ने मगर समुदाय र मगरहरु एउटै संस्थामा ऐक्यवद्ध हुन आए । एउटै लक्ष्य र एउटै बाटोमा हिड्न संकल्प गरे । मिलेर जाने जुटेर हिड्ने अठोट गरे ।
ग) त्यसै लागि फाल्गुण १५ गतेलाई विविधताले भरिएको मगर समाजले मगरहरूको “मगर एकता दिवस”, “लाङ्गघाली दिवस”, “मगर संघ स्थापना दिवस” आदि नामले सास्कृति एंव सामाजिक चाडपर्वको रुपमा मनाउने गर्दछन् ।
घ) “विश्व भरिका मगरहरू एक हौ” नाराले फाल्गुण १५ गते गुञ्जयमान हुन्छ ।
ङ) मगरात समाजको मौलिक संस्कृति, भेषभूषा, पहिरन, नाँचगान, खाना, खेलकुद, मनोरञ्जनका साथै ऐतिहासिक सामाजिक विशिष्ठताहरूको सार्वजनिक प्रदर्शन भव्यरुपमा गर्ने गर्दछन् ।
च) ठाउँठाउँमा विशाल जन समूह, ¥याली तथा मार्चपाष्ट गरेर मगरहरूले आफ्नो एकता र एकवद्धता देखाउँछन् । वास्तवमा मगर र मगर समुदायको “राजनैतिक शक्ति”को प्रर्दशनको दिन पनि फाल्गुण १५ गते हो ।
छ) “नेपाल मगर संघ”ले विगतमा गरेका गतिविधीको समीक्षा, मुल्याङ्कन तथा आगामी वर्षहरूमा गरिने भावी कार्यक्रमहरूको घोषणा गर्ने दिन पनि हो ।
ज) मगर समाज र मगरहरू आफ्नो आदिकाल देखिको पहिचान एंव चिनारीलाई सम्वर्धन, संरक्षण तथा प्रवर्धन गर्न गराउन अलिकति पनि पछि हट्ने छैन भन्ने दृढ्तालाई सामुहिक तथा सस्थाँत्मक रुपमा सञ्चार गर्ने दिन पनि हो ।
सुझावहरूः
१) मगरात राज्यको पक्षमा जनमत तयार गर्न तथा आवश्यक वातावरणको सृर्जना गर्न गराउनको लागि “फाल्गुण १५ गते”को दिनलाई “मगरात दिवस”को नामले भव्य समारोह मनाउने अभियान सञ्चालन गर्नु गराउनु उपयुक्त हुनेछ ।
२) प्रथम सहिद लखन थापाको बुङ्गकोट गोर्खामा तथा मगर राजा बलिहाङ्गको पाल्पामा स्थित किल्लाहरूको जिर्णोद्वार, पुर्ननिमाण अविलम्ब हुनुपर्नेै माग र दवाव राज्य माथि दिनु पर्ने ।
३) गोर्खाको बुङ्गकोटमा लखन थापा मगर म्यूजियम स्थापना गर्ने । सो स्थलमा वि.सं. २००७ सालको क्रान्ति, दुवै जनआन्दोलन तथा दशवर्षे जनयुद्धमा सहिद भएका मगरहरूको सालिक स्थापना गर्न राज्यमाथि दवाब दिने अभियान सञ्चालन गर्नु पर्ने ।
४) “नेपाल मगर संघ केन्द्रिय समिति”मा क) मगर अनुसंधान मुल्याङ्कन र अनुशरण उपाध्यक्ष्य, ख) मगर जनशक्ती उपाध्यक्ष्य तथा ग) सूचना एंव प्रकाशन उपाध्यक्ष्य पदहरू सृर्जना गर्नु पर्ने घ) संघको सूचना र अनुसन्धानमूलक मूखपत्र “मगरात” लाई प्रत्येक चौमासिक रुपमा प्रकाशन गर्नु पर्ने ।
निष्कर्शः
क) राष्ट्रिय स्तरका राजनीतिक दलहरूले मगर जनसंख्यालाई प्रभावित गर्न आ–आफ्नो दलमा मगर भातृ संगठन गठन गरेका छन् । यस सन्दर्भमा “नेपाल मगर संघ”ले राजनैतिक दलहरूको प्रभावबाट सकेसम्म आफूलाई अलग राखेर विशुद्ध सामाजिक संस्थाको रुपमा भूमिका खेल्नु पर्ने हुन्छ । त्यसका लागि संघको केन्द्रिय समितिका पदाधिकारीहरूले आ–आफ्नो पदावधिसम्म सम्बन्धित राजनैतिक दलको साधारण सदस्यता बाट स्वच्छाले परित्याग गर्ने नियम संघको विधानमा समावेस गर्न उपयुक्त हुनेछ ।
ख) मगरहरूको गुमेका र खोसेका भूमि फिर्ता लिन विविध सामाजिक, राजनैतिक दल, प्राज्ञिक, व्यवसायिक, शैक्षिक र साँस्कृतिक आदि पक्षसँग जोडिएका सम्पूर्ण मगर तथा गैर मगर समाजको प्रतिनिधित्व एंव संलाग्नतामा “मगरात संघर्ष मोर्चा”लाई अझ व्यापक तथा सशक्त बनाउन “नेपाल मगर संघ”ले समन्वयनात्मक निर्णायक भूमिका खेल्नु पर्ने हुन्छ ।
फाल्गुन १५ गते मगर दिवस (एक मुक्तक)
त्रिलोक सिंह थापा मगर
आजका दिन मगर जनजातीको दिन हो।
१५ गते मगर दिवस मगरातको दिन हो।
आजकै दिन मगरहरूले प्रिती गाँसेका थिए।
आ–आपस्तमा माया साटेका थिए ।
हाते मालो गरेर बन्धन बाँधेका थिए ।
आजको दिन मगरहरूको एकताको दिन हो ।
१५ गते मगर दिवस मगरातको दिन हो ।
आजको दिन मगरहरुको उत्सवको दिन हो ।
मगराती रीति थिती परम्परा जोगाउने दिन हो ।
सुख दुख गहभरि आँश र मुस्कानको दिन हो ।
मगरहरूको हक हित अधिकारको दिन हो ।
आजको दिन मगर जनजातिको दिन हो ।
१५ गते मगर दिवस मगरातको दिन हो ।
खबरदार सोझा सिधा मगरहरूलाई नजिस्काउन,
मगरातीहरूलाई नविच्काउन, नघच्घच्याउन,
मगर जागे भने, धरतीमा भुइचालो आउने छ ।
सारा भूमण्डल झरझर झर्न थाल्ने छन ।
बह्माण्डका जिउ जन्तुहरू कम्पन थाल्ने छन ्।
शान्तीका प्रतीक मगरहरूको मिलनको दिन हो।
१५ गते मगर दिवस मगरातको दिन हो ।
आजको दिन मगरहरूको दिन हो।
खबरदार हाम्रो बन्धनलाई फुटाउन न खोज्नु ।
हामीले गाँसेको प्रितीलाई छुट्याउन नखोज्नु ।
आजको दिन हाम्रो प्यार, प्रेम, मायाको दिन हो ।
आजको दिन मगरहरूको भ्यालाइनटाइनको दिन हो ।
१५ गते मगर दिवस मगरातको दिन हो ।
आजको दिन मगर जनजातीको दिन हो ।


