नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार ताजपुरिया जातिको जनसंख्या महिला ९ हजार ९ सय २१ जना र पुरुष ९ हजार २ सय ९२ जना गरी जम्मा १९ हजार २ सय १३ जना रहेका छन् । ताजपुरिया जाति अल्पसंख्यक जनजातिभित्र पर्ने एक जाति हो । नेपाल सरकारले जनजाति हो भनेर सूचीकृत गरेको उन्नानसाठी जनजाति मध्येका एक जनजाति मगर जातिको जनसंख्या महिला १० लाख १३ हजार ३ सय १७ र पुरुष ८ लाख ७४ हजार ४ सय १६ जना गरी जम्मा १८ लाख ८७ हजार ७ सय ३३ जना रहेका छन् । त्यही जनजातिभित्र सूचीकृत भएका ताजपुरिया जातिको भने २० जना हजार नाघ्दैन । त्यसैले पनि होला नेपाल सकारले अल्पसंख्यकमा परेको भनी ताजपुरिया जातिलाई सिमान्तकृत समूहमा सूचीकृत गरेका पनि ।
हिन्दु संस्कारको प्रभाव रहेको ताजपुरिया जातिको विशेष गरी नेपालको पूर्वाञ्चलको झापा र मोरङ जिल्ला मुख्य बसोबास गर्ने क्षेत्र हो । यो जिल्लाको पनि सबै गाउँ विकास समितिहरुमा बसोबास गरेको देखिन्न । झापा र मोरङ जिल्ला बाहेक अन्य जिल्लामा छिटफुट रुपमा कतै–कतै भेट्न सकिन्छ । देशभरिमा जम्मा जम्मी २० हजार जनसंख्या ननाघ्ने ताजपुरिया जाति देशैभरि छ भनेरै पनि भन्न सकिन्न । पाँचथर जिल्लाको एक फिमिद नगरपालिका र एकचालिस वटा गाउँ विकास समितिहरुको गाउँहरुमा पनि ताजपुरिया जातिको ऐलेसम्म बसोबास गरेको भेटिन्न ।
ताजपुरिया जातिको रहनसहन, पहिरन, भाषा र संस्कार संस्कृतिहरुमा पनि राजवंशी जातिसँग मिल्न जान्छ । धेरै कुरामा ताजपुरिया जाति र राजबंशी जातिमा मिलेता पनि उनीहरु बीचमा बिहे भने गर्ने चलन छैन । ताजपुरिया जाति जनजाति भएर होला उनीहरुले गर्ने हरेक धार्मिक कार्यहरुमा जाँड र रक्सीको अत्यधिक प्रयोग गर्ने गर्दछ । जाँड रक्सी भएन भने संस्कारहरु नै नपुरो हुने कुरामा उनीहरु विश्वास गर्दछ । जाँडरक्सी नचढाए भगवान रिसाउँछ भन्ने गर्दछ । त्यसैले उनीहरुले मनाउने धार्मिक कार्यहरुमा अरु नभए पनि जाँडरक्सी अनिवार्य प्रयोग गर्दछ ।
जनजातिको सूचीकृतमा परेता पनि उनीहरु हिन्दु धर्म मान्ने गर्दछ । त्यसैले गर्दा पनि उनीहरु दशैतिहार, तीज र शिवरात्री जस्ता चार्डहरु ताजपुरिया जातिले धुमधामका साथ मनाउने गर्दछ । ताजपुरिया जातिलाई हस्तकलामा राम्रो सिप भएको जातिमा गनिन्छ । हस्तकलामा मात्र हैन ऐलेका युवा तथा युवतीहरु अन्य–अन्य काममा पनि लाग्न थालेका देखिन्छ ।
ताजपुरिया जातिको मुख्य पेशा भनेको कृषि नै हो । कृषि पेशाबाट वर्षभरि खान नपुग्ने हुँदा यी जातिका मान्छेहरु मजदुरी गर्न जाने गर्दछ । ताजपुरिया जातिमा मागी विवाह र प्रेम विवाह गर्ने चलन रहेको छ । ताजपुरिया जातिमा मान्छेको मृत्यु हुन गएमा लासलाई जलाउने र गाड्ने चलन रहेको छ । धेरै जसो जलाउने नै गर्दछ । कसै–कसैले मात्र लासलाई गाड्ने पनि गर्दछ । उनीहरु हिन्दुधर्मावलम्बी भएकोले जन्मदेखि मृत्युसम्मको संस्कारहरु हिन्दु धर्मको विधिविधान अनुसार सम्पन्न गर्ने गर्दछ ।
सन्दर्भ सामाग्री
१. लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिबासी जनजातिहरु जेष्ठ–२०६६
२. लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्वारा प्रकाशित तमु (गुरुङ) सांस्कृतिक दिग्दर्शन–असोज २०६८
३. लेखकद्वय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौंद्वारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४. लेखक मधुसूदन पाण्डेय, पैरबी प्रकाशनद्वारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५. सम्पादक पवन चाम्लिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्वारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण संस्कृति विशेषाङ्क, अप्रिल– सन १९९९
६. लेखक डा.हर्क गुरुङद्वारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्वारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक पहरी जातिबारे लेख प्रकाशन गरिनेछ)






