खासमा दिदी वा बहिनीकी छोरीलाई भान्जी भनिन्छ । तर, इन्डियन आर्मी, ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भने कार्यरत अथवा भूतपूर्व गोर्खालीका छोरालाई भान्जा र छोरीलाई भान्जी साइनो लगाइन्छ । नजिकैका नातागोता र साइनो थाहा हुनेले साइनोअनुसार नै बोलाउँछन् । तर, नचिनेका परिवारका अभिभावकलाई काका, क्षामा, मामा, माइजु भनिन्छ भने छोराछोरीलाई भान्जाभान्जी भनेरै बोलाइन्छ । यो उनीहरूका लागि पचिसकेको नाता हो । सजिलो सम्बोधन हो ।
निरुता त्यस्तै सिक्स गोर्खा राइफल्सकी भान्जी । पल्टनका सबैभन्दा उच्च दर्जा पाएका गोर्खा मेजर गुमानसिंह साहेबकी एक्ली छारी । १६ लाग्दै गरेकी निरुता हङकङको बर्मालाइनबाट हरेक दिन बस चढेर सेकोङको मलाया लाइनस्थित गोर्खा हाइस्कुलमा पढ्न जान्छिन् । हलक्क बढेकी निरुताको अनुहार कुनै कलाकारले मिहिनेत गरेर कुँदेजस्तै मिलेको छ । गोरीगोरी ठ्याक्कै चिनीजस्ती उनको शरीरमा खोट लगाउने ठाउँ छैन ।
दुई चुल्ठी बाटेकी, चुल्ठीको टुप्पोमा रातो रिबनको फुर्का, आँखामा हल्का गाजल, टम्म मिलेका सेता दाँत, लामोलामो घाँटी, सेतो कमिज अनि कमिजलाई माथि उकासेर बटनै चुँडाउन खोज्ने दुई दाना अनार, छोटो नीलो फ्रक, त्यसले नछोपेका सेता साँप्रा, सेतै लामो स्टकिङ मोजा र सेतै जुत्ता निरुता उम्दाकी लाग्छे, बंैसालु आँखाहरूका लागि । सिक्स गोर्खा राइफल्सभरि नै भान्जी निरुताको सुन्दरताको खुबै चर्चा चल्ने गर्छ । उनलाई कल्पनामा आफ्नो मनमा सजाउने मुग्लिसे जवानहरू लाइनका लाइन छन् । मुग्लिसे जवानहरू निरुतालाई हेर्न अनेक बहाना बनाएर उनी बस चढ्ने र झर्ने स्टपमा खचाखच हुने गर्छन् ।
गोर्खा मेजर गुमानसिंहको आर्मीबाट रिटायर्ड हुने बेला पनि आइसक्यो । तर, निरुता बल्ल नौ कक्षामा पढ्दै छिन् । त्यसैले मेजर साहेबले छोरीलाई गोर्खा हाइस्कुलको गल्र्स होस्टेलमा छाडेका छन् । होस्टेलमा निरुताजस्तै भान्जीहरूको ठूलै जत्था छ । कोही उनीभन्दा सिनियर छन्, कोही जुनियर । सबैसँग भेटघाट दोस्ती हुने नै भयो । तर, होस्टेलका भान्जीहरूको बानी व्यवहार भने निरुताका लागि अनौठा छन् ।
कुत्कुत्याउनेखालका छन् । त्यहाँका प्रायः सबै भान्जीहरूले पल्टनका मुग्लिसे मामाहरूसँग मायाप्रीति गाँसेका छन् । कसैकसैको त एकजनासँग मात्र होइन, दुई र त्योभन्दा पनि बढी मुग्लिसे मामाहरूसँग चिट्ठी चलेको छ । होस्टेलको वार्डेनलाई ढाँटेर भेट्न जाने गरेका छन् । अनि उनीहरूले फर्केर आएपछि सुनाउने अनुभव पनि कम्ता मीठा छैनन् । लाहुरे मामाहरूसँग घुमेको, सपिङ गरेको, पहिलोपटक चुम्बन गरेको, पहिलोपटक माया साटासाट गरेको अनुभवले निरुतालाई पनि आकर्षित गर्दै लगेको छ । उनी चाख मानेर अरूको अनुभव सुन्छिन् ।
आफैं पनि त्यस्तै कल्पनामा डुब्छिन् । उमेर पनि त त्यही हो, उनी आफैं अरूको अनुभवले पानी–पानी हुन्छिन् । आफूलाई पनि लिन, बोलाउन कोही आए हुन्थ्यो भन्ने कामना गर्छिन् ।
लाहुरे मामाहरू हरेक दिन खानेकुरा र गिफ्ट लिएर होस्टेलमा सिनियर भान्जीहरू भेट्न आउँछन् । उनीहरू लामो समय गफिन्छन्, लहसिन्छन् । तर, निरुता ती सबै गतिविधि छड्के लाएर हेर्छिन् । आफूलाई पनि गिफ्ट लिएर कोही आइदिए, त्यसरी नै गफिइदिए भन्ने कल्पनाको संसारमा डुबुल्की मार्छिन् ।
यस्तैमा निरुताको दिन बितिरहेको बेला उनलाई खोज्दै एकजना लाहुरे मामा आइपुग्छन् । नेपालबाट बाबाआमाले पठाएको पार्सल पुर्याउन आएको हुन्छ ऊ । उनीहरूबीच कुराकानी हुन्छ । परिचय साटिन्छ । उनको नाम निर्मल, घर मेजर गुमानसिंहको गाउँदेखि पल्लो गाउँ । फर्कने बेलामा निर्मलले निरुतालाई केही परे सम्पर्क गर्न भन्दै कम्पनीको फोन र सम्पर्क ठेगाना दिन्छन् ।
निरुतालाई भाग्यले जुराएजस्तो लाग्छ ।
अनेक बहाना बनाएर उनी निर्मलसँग टेलिफोनमा गफ गर्छिन् । हरेक हप्ता पत्र पठाउँछिन् । शनिवार र आइतवार निर्मलसँग भेट्ने समय पनि मिलाउँछिन् । निर्मल गाउँको सोझो, इमानदार र मिहिनेती लाहुरे, त्यसमा पनि आफ्नै गाउँठाउँको मानिस निरुताको अभीष्टबारे थाहा पाउँदैनन् । या थाहा पाउने कोसिसै गर्दैनन् । त्यसैले निर्मल निरुताले आफूलाई समस्या परेको भनेर फोन गर्नसाथ होस्टेल पुग्छन् र समस्या समाधान गर्छन् । यसरी नै निरुतालाई भेट्न आउने–जाने क्रम जारी रहन्छ । निरुताले निर्मललाई बजार घुमाउन आग्रह गर्छन् ।
निर्मलले पनि होस्टेलको वार्डेनसँग अनुमति मागेर बजार घुमाउन लैजान्छन् । यसरी आउने–जाने बजार घुम्नेक्रममा उनीहरूबीच नजिकको सम्बन्ध बनेको छ । निरुताले निर्मलसंग प्रेमप्रस्ताव राख्ने विचार नगरेको पनि होइन । तर, सामुन्नेमा आँट गर्नै सकिनन्, त्यसैले पत्र लेख्छन् :
निर्मल मामा नमस्ते, आराम छु, हजुरको सुस्वास्थ्यको कामना गर्दछु । चिनजान र भेटघाट भएको धेरै भयो, हजुरसँग धेरै नजिक भएको आभास भएको छ । किन हो किन हिजोआज आकाशको चन्द्र र सूर्यले पृथ्वीलाई हेरेजस्तै यो मेरो लोभी दुई नयनले पनि हजुरलाई हेरिरहेकोजस्तो हुन्छ । यी मेरा पीपलपाते ओठले हजुरको ओठलाई खोजिरहेको हुन्छ । मेरो कोमल शरीरले हजुरको स्पर्श चाहिरहेको छ ।
हजुरसँगको मिलनको कल्पनाले मेरो दिनको भोक र रातको निद्रा छैन । म हजुरको काखमा हराउन चाहन्छु, म मेरो तन र मन हजुरमा समर्पित गर्न चाहन्छु । हजुरको जो इच्छा । यदि यो मेरो पत्रले हजुरको मन दुखाएमा क्षमा चाहन्छु । क्रमशः
उही हजुरलाई हृदयदेखि माया गर्ने
निरुता भान्जी






