लोकसंगीतमा रञ्जिता थापा मगरको डेढ दशक

SHARE:

नेपाली गीत, संगीतमा आधुनिकता, छाडापन, चोरीजस्ता विकृति आइरहँदा कतिपय कलाकारले भने मातृभूमिप्रति समर्पण गरेर राष्ट्रिय गीत पस्केका छन् । लगानीको प्रतिफल आशा नगरी गायिका रञ्जिता थापा मगर र दीपसागर थापाले केही साताअघि ‘नेपाल प्यारो लाग्छ’ एल्बम श्रोता, दर्शकमाझ ल्याए । सुमन बैरागीको शब्द र दीपसागरको लयमा बनेको यो गीत गायिका रन्जिताका लागि भने कोशेढुंगा सावित भएको छ । उनको करिब डेढ दशकको कलाकारितामा राष्ट्रिय गीत गाएको यो पहिलो हो ।
०००
पहिले–पहिले कौरा, सालैजो, झ्याउरे, घाँटु, लोकदोहोरीलगायत विधाका गीत गाउँदै आएका रञ्जिता राष्ट्रिय गीत गाउँदा गौरवान्वित छिन् । ‘मैले पहिलोचोटि राष्ट्रिय गीत गाएँ, राष्ट्रभक्तिको गीत गाउँदा गौरव अनूभूति हुँदोरहेछ’ एभरेष्ट टाइम्स संवाददातासँग गएसाता काठमाडौंमा भएको भेटमा सुनाइन्, ‘राष्ट्रिय गीतले इतिहास बन्ने छ ।’
०००
गृहजिल्ला तनहुँबाट २०६० सालमा एसएसली पास गरेर कला क्षेत्रमा लागेकी रञ्जिता सुरु सुरुमै पनि राष्ट्रिय भावले ओतप्रोत भएका गीत गाउन र एल्बम निकाल्न रहर गर्थिन् । तर, यस्ता विधाका गीतबाट लगानी उठ्न गाह्रो हुने भएकोले निकाल्न नसकेको स्वीकार उनको छ । ‘खैंजडीको तालै सुनेर…’ कौरा गीत, ‘लेकैमा घर…’, ‘साल काटेर झ्याल भयो’, ‘न्याउलीजस्तै रुन…’ जस्ता दर्जन एल्बम निकालिएकी रन्जिताले तीन दर्जन जति गीतमा भने स्वर ढाकिसकिन् ।
०००
हिजोआज संगीत शिक्षा, विभिन्न कार्यक्रममा सहभागी हुँदैमा उनलाई फुर्सद छैन । गायिका रन्जिताले दैनिकी सुनाइन्, ‘गीत, संगीतको दौरानमा कार्यक्रममा धाउने, ललितकला क्याम्पस ललितपुरमा पढ्न जाने र साँझ ललितपुर रोधी क्लबमा ड्युउटी भ्याउने गर्छु ।’ उनी ललितकलामा स्नातक तेस्रो वर्षमा संगीत विषय लिएर पढ्छिन् । क्याम्पसमा नियमित पढाईसँगै लोकबाजा संरक्षणका लागि पनि उनी विशेष समय छुट्याउनुपर्ने बाध्यता सुनाउँछिन् । ‘कलेजमा तबला, सारंगी बजाउनुपर्छ’ रञ्जिताले भनिन्, ‘लोकबाजा संरक्षणको कुरा छ, तर टाइम निकाल्न भ्याइँदैन ।’ उनीसहित सहपाठीहरुलाई प्राध्यापिका मिनु वाइबाले लोकगीत सम्बन्धमा गाइड गर्ने गर्छिन् । त्यसका साथै लोप हुन लागेका लोकगीत, लोकनृत्य, शास्त्रीय संगीतलगायत विषय पनि कोर्समा छ ।
०००
गायिका रञ्जिता सुन्दर अभिनय पनि गर्छिन् । ‘छमछमी तीजमा नाच मायालु…’ बाट अभिनय थालेकी उनी यस क्षेत्रमा भने दाङका जेबी ओलीको प्रेरणाले लागेको बताउँछिन् । उनले तीज गीत, दसैंगीत, फेरि जोवन फुल्ने गरेर, झम्के फुलीजस्ता चलेका गीतमा मोडलिङ र स्वर दिएकी छिन् । मोडलिङ, गायनमा मात्र उनको प्रतिभा सीमित छैन, राम्रा सर्जकको रुपमा पनि परिचय बनाएकी छन् । उनले कलाकारिता थाल्ने बेला नयाँ भनेर हम्मेसी गाउन दिँदैनथ्यो । त्यसैले गीत रचना, मोडलिङलाई निरन्तरता दिँदै चलेका कलाकारहरुलाई गाउन दिन्थिन् । ‘म सर्जक पनि हुँ । पहिले नयाँ कलाकारलाई गाउन सक्ने भएन पनि दिँदैनथ्यो । लय, शब्द बनाएर अग्रज विष्णु माझी, विमाकुमारी दूरा, टीका पुन, लक्ष्मी न्यौपानेलाई गाउन दिन्थेँ ।’ उनको सिर्जना यात्रा अहिले पनि जारी छ । २०६३ तिर भने उनले एल्बममा गीत गाउन पाइन् । पहिलो एल्बम विन्दवासिनी म्युजिक कम्पनीबाट ‘बाल्यकालमा डाँडीमा चै चै….’ निकालिन् । संयोग भनौं वा भाग्यले सोही एल्बमले रञ्जितालाई कलाप्रेमीमाझ चिनाउने माझ बन्यो भने लाखभन्दा बढी क्यासेट, सीडी बिक्री भएर कमाइ पनि गरेकी थिइन् । उनले सम्झिन्, ‘जुन गीत एक वर्ष लगाएर रेकर्ड गराएकी थिएँ । त्यसमा विन्दवासिनीका सुवास रेग्मी दाइले धेरै सहयोग गर्नुभयो ।’ उनलाई चिनाउन मद्दत गर्ने अर्को गीत हो, श्रीकृष्ण क्षेत्रीको लय, शब्द सिर्जनाको लेकैमा घर… । त्यसले आत्मसन्तुष्टि पनि मिलेको रञ्जिताले गर्विलो शैलीमा भनिन् ।
०००
भनिन्छ, मान्छे सफल हुन कुनै एक क्षेत्र वा विधा अँगाल्नुपर्छ, तर त्यो कथन गायिका, मोडल रन्जिताको जीवनमा लागू भएन । उनी रचना, मोडलिङ, गायन र फेसन डिजाइनजस्ता कामलाई एउटै गतिमा अगाडि बढाइरहेकी छिन् । उनले बहुक्षेत्रमा लागेकोबारे प्रस्ट्याइन्, ‘पाएसम्म सबै काम गर्ने हो । भएको क्षमता किन लुकाउनु ?’ जसरी पनि श्रोता, दर्शकमाझ परिचित हुने उद्देश्य राखिएकोले यस्ता विभिन्न काम गर्नु परेको उनी ठान्छिन् ।
०००
कुराकानीकै क्रममा गायिका रञ्जिता थापाले पुराना संघर्षका कथा बेलिबिस्तार लगाइन्, ‘एसएलसीपछि उच्च शिक्षाका लागि पैसा थिएन । बुवा आमाले सकिन्छ आफैं कमाएर पढ नत्र पढाई नै छाडिदेउ भन्नुभएको थियो ।’ त्यसपछि उनी पोखरा गएकी थिइन् । १६ वर्ष जतिकी रञ्जितालाई माइला दाइले दोहोरी साँझमा गीत गाउन सुझाए छन् । तर, एक मनले गरौं, अर्को मनले नगरौं कि भन्ने भयो रे ! किनकि दोहोरी साँझमा नाच्ने, गाउने मान्छेलाई गाउँमा राम्रो दृष्टिकोणले हेर्दैनथ्यो । तर, अहिले त परिवर्तन आएको महसुस रञ्जितालाई हुन्छ । दोधारैमा पोखराको दोहोरी साँझमा २५ सय महिनावारी तलबमा काम थालेकी उनी उबेला सञ्चयकोषको पनि सुविधा लिन्थिन् । तर, काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा जथाभावी खुलेका दोहोरी साँझले कलाकार र कामदारलाई अहिले पनि उचित सुविधा नदिने गरेको उनले तीतो यथार्थ बताइन् ।
०००
मौलिक गीत, संगीतलाई बचाउन सबै लाग्नुपर्ने भए पनि नयाँ पुस्ताको यतातिर इन्टे«स्ट कम भएकोले चुनौती थपिएको पनि उनको ठम्याई छ । तर, मौलिकता हराइनसकेको दाबी पनि रञ्जिता गर्छिन् । ‘मैले मारुनी, झ्याउरे, सोरठी, कौरा गीत निकालेँ भने कसले हेर्ने ?, नयाँ पुस्ताले हेर्दैनन् ।’ गाउन त मैले मगर भाषाका गीत पनि गाएकी छु, उनको चिन्ता थियो ।
०००
लामो समय गीत, संगीतमा व्यतित गरिसकेकी रञ्जिता आम्दानीभन्दा पनि सन्तुष्टि लिनु नै ठूलो कुरा भएको ठान्छिन् । ‘चित्त बुझाउनुपर्छ । संंगीतबाट बाँचेकी छु । पढाईलाई निरन्तरता दिने क्रममै छु ।’ पहिले पहिलेको क्यासेट बिक्री र आम्दानी सम्झँदा आफैंलाई अचम्म लाग्छ रे । ‘विन्दवासिनी क्याक्सेट सेन्टरबाट निकालेको पहिलो एल्बम बाल्यकालमा डाँडीमा चै चै…’ एक लाख बिक्री भयो । जुन गीत एक वर्ष लगाएर रेकर्ड गराएकी थिएँ । तर, अहिले सूचना प्रविधिको विकाससँगै बजार फराकिलो भए पनि आर्थिक हिसाबले साँघुरिएको छ । ‘सीडी बिक्री छैन । युट्युबले लगानी रिटर्न आउँछ, आउँदैन ग्यारेन्टी छैन’ उनले भनिन्, ‘मेला, महोत्सव, विदेशमा कार्यक्रम भएमात्र कलाकारलाई जीउन सहज हुन्छ ।’ उनी भने खासै विदेशमा पुग्नसकेकी छैनन् । राम्रो भन्दा पनि हाम्रो भन्ने अहिलेको टे«नले गर्दा सोझा र राम्रा कलाकार मरिरहेको उनले दुखेसो पोखिन् । त्यत्तिमात्रै होइन, कलाकारलाई कार्यक्रममा बोलाएर शोषण गर्नेहरु पनि कमी छैनन् भन्छिन् उनी । ‘तैपनि गीत, संगीतमा निरन्तरता दिनैपर्छ’ उनले अठोट व्यक्त गरिन्, ‘गीत निकाल्न मन लाग्छ । वर्षको एउटा एल्बम दिनै प¥यो । नत्र लाज हुन्छ ।’ कहिलेकाहीं गीत, संगीतलाई माया गर्नेहरु पनि पाइन्छन् । उनी भन्छिन्, ‘कसैले अडियो, कसैले भिडियोलाई स्पोन्सर गरिदिन्छन् ।’
०००
राष्ट्रको गहनाको रुपमा लिइने कलाकारलाई राज्यले ध्यान नदिएकोमा भने उनलाई बेलाबेलामा आपत्ति लाग्छ रे । ‘सरकारले हेर्दा पनि हेर्दैनन्,’ उनले माग शैलीमा भनिन्, ‘कलाकारको क्याटेगोरी हुनुपर्छ । लोक संस्कृतिको जगेर्ना गर्नुपर्छ ।’ कलाकारहरु आइरहने तर कसले कति योगदान दिएका छन्, कसरी कलाकार बने र कत्तिको गर्न सक्छन् त्यस आधारमा मूल्यांकन सरकारले गरोस् भन्ने उनको जायज माग देखिन्छ । नयाँले सिकेर वा बुझेर कलाकारितामा लाग्नुपर्ने उनको सुझाव छ ।
०००
नेपाल मगर सांस्कृतिक संघको केन्द्रीय सदस्य तथा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान ललितपुरका उपाध्यक्षसमेत रहेकी रञ्जिताको प्रमुख मुद्दा छ, ‘कलाकार बाँच्ने नीति, नियम सरकारले बनाओस् ।’ कलाकार विभिन्न बहानामा देश, विदेशमै पलायन भइरहेका बेला उनी लोकसंगीतलाई छोडेर कतै नजाने दृढता व्यक्त गर्छिन्, ‘सास रहुञ्जेल गीत, संगीतलाई निरन्तरता दिएर मास्टर्स गर्ने तयारी छ । विजनेस गर्न पनि मन छ ।’

प्रस्तुति : टीकाराम तामाङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!