रोशनी गुरुङ
चितवन । जसु गुरुङद्वारा निर्देशित सुपरहिट तमु चलचित्र कर्म क्या (कर्मको बाटो) प्रदर्शन भएको छ ।
तमु प्ये ल्हु संघ चितवनको आयोजनामा चितवनको नारायणगढस्थित गणेश चलचित्र मन्दिरमा खचाखच दर्शकमाझ चलचित्रको भव्य प्रदर्शन भएको हो । चलचित्र प्रदर्शनअघि आयोजकको तर्फबाट चलचित्र युनिटलाई सम्मान गरिएको थियो । सम्मान ग्रहणपछि बोल्दै चलचित्रका निर्देशक जसु गुरुङले गुरुङ चलचित्रको इतिहासमा कर्म क्याले छुट्टै स्थान बनाउन सफल भएको दाबी गर्दै एकपटक सबैले चलचित्र हेरिदिन आग्रह गरिन् ।
यस्तै चलचित्रका निर्माता, कथाकार गीतकार तथा कलाकार शंकर गुरुङ (बतासे)ले चलचित्रलाई चितवनवासीले गरेको मायाप्रति आफू एकदमै खुसी भएको भन्दै आयोजक र सम्पूर्ण चितवनवासी दर्शकप्रति आभार व्यक्त गरे । तमु प्ये ल्हु संघ चितवनका सचिव विक्रम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा आयोजकको तर्फबाट चलचित्र युनिटलाई तमु प्ये ल्हु संघको लोगो अंकित टिसर्ट मायाको चिनोस्वरुप प्रदान गरिएको थियो ।






