काठमाडौं । प्रतिलिपि अधिकार कार्यालयका रजिष्टार प्रकाश अर्यालले पाईरेसी अन्त्यको लागि प्रतिलिपिको कार्यालय लागि रहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय संगीतकर्मी संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विभिन्न संगीत कर्मीहरुले उठाएका मागहरु समय सापेक्ष छन्, कलाकारहरुका मागहरु सम्बोधन गर्नको लागि सरकार सकारात्मक छ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तपाईहरुका मागका सम्बन्ध के गर्ने भनेर गृहकार्य गरिहरेको छ, तपाईहरुका जायक र तत्काल सम्बोधन गर्न सकिने मागहरु पूरा हुन्छन् ।’
त्यस्तै कार्यक्रममा संगीत रोयल्टी समाजका महासचिव तथा संगीतकार महेश खड्काले संगीत बोर्डको स्थापनाको लागि आफूहरु निरन्तर लागि रहेपनि सफलता पाउन नसकेको स्विकार गरेका छन् ।
उनले भने,‘संगीत क्षेत्रलाई व्यबस्थित बनाउनको लागि हामीले विगतदेखिनै आवाज उठाउँदै आएका छौं, वर्तमान समयमा गीत संगीतको संरक्षण, सम्वद्र्धनको लागि, कलाकारहरुको उचित व्यबस्थाको लागि सबै कलाकाहरु एउटै स्थानमा उभिन जरुरी छ ।’
संगीत कर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा संस्थामा प्रथम उपाध्यक्ष प्रकाश कटुवालले संगीतकर्मी संघले सरकार समक्ष पेश गरेका ११ बुँदे मागहरु पूरा भएको खण्डमा केही हदसम्म कलाकारहरुका अधिकार स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।
उनले भने, ‘गीत संगीतका बारेमा धेरै संघ संस्थाहरु छन्, सबैले उही प्रकारका मागहरु राखि रहेका छन्, तर संगीतकर्मी संघमा सबै बिधाका कलाकारहरु अटाउने एउटा मात्रै संस्था हो, हाम्रो संस्थाले उठाउँदै आएका मागहरुको बारेमा सरकार गम्भिर हुनुपर्छ, यदि मागहरु सम्बोधन भएनन् भने हामी शान्तिपूर्ण रुपमा अधिकारको लागि पहल कदमीहरु चाल्न बाध्य हुनेछौं ।’
कार्यक्रममा प्रस्तोता समाजका अध्यक्ष तुलशी पराजुली, राष्ट्रिय सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, संगीतकर्मी संघका वरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गाना, उपाध्यक्ष रमेश दुलाल ‘कागे’, श्याम सुन्दर धिताल, अमृत खाती, सचिव सर्मिला श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो । संगीतकर्मी संघका महासचिव विक्रमजंग शाहले कार्यक्रम सञ्चालन गरेका थिए ।
संगीतकर्मीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी समक्ष पेश गरेका ११ बुँदे माग यस प्रकार रहेका छन्ः
१. समग्र सांगीतिक क्षेत्र भित्रको विकृति विसंगतिको अन्त्यको लागि संगीत विकास बोर्ड गठन गरिनु पर्ने ।
२. कलाकार कसैको सजाउने गहना होईनन्, राष्ट्रका अभिन्न अंगका रुपमा स्थापित गरिनु पर्ने ।
३. सबै निकायमा हाम्रा गीत बजाए र गाय वापत कलाकारलाई रोयल्टी पाउनु पर्ने ।
४. कलाकारले सबै निकायबाट प्राप्त गरेको रोयल्टी कुनै कलाकारलाई मर्का नपेर्न गरि समानताको सिद्धान्तका आधार वितरण गर्नु पर्ने ।
५. सबै कलाकर्मीलाई समेट्ने गरि सरकारले कलाकर्मी अक्षय कोष निमार्ण गर्नुपर्ने।
६. पाईरेसीको समुल अन्त्य गर्नुपर्ने । प्रतिलिपि रजिष्टार सरकारी कर्मचारी पाल्ने निकाय मात्र भएका कारण प्रहरी सेलको गठन गरिनुपर्ने ।
७. नेपाली कला र संस्कृति नेपाली मौलिकता हो । तसर्थ नेपाली मिडिया मार्फत निःशुुल्क प्रसारण गर्नुपर्ने ।
८. हरेक प्रदेशमा संगीत पाठशाला खोलिनु पर्ने ।
९. विद्यालयका पाठ्यक्रममा संगीत विषय अनिवार्य गरिनुपर्ने ।
१०.नेपाली चलचित्र र गीत संगीत बिदेशमा लैजादा विषेश सहलिएत दिईनु पर्ने, कर लगाउन नपाईने ।
११.अपाङगता, उत्पीडित, असाहय संगीतकर्मीलाई छुट्टै व्यबस्था गरेर, सडकमा गीत गाएर यस क्षेत्रको बद्नाम हुनेगरि भएका कार्यहरु तत्काल बन्दगरि उनीहरुको राज्यबाट उचित उपचार हुनुपर्ने ।






