काठमाडौं । २० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको उनलाई साँझ ६स्४५ बजे टुँडिखेलमा अवतरण गराइएको थियो । त्यहाँबाट उनलाई एम्बुलेन्समा राखेर त्रिवि शिक्षण अस्पताल लगियो ।

उनलाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । केसीलाई लिन बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको थियो । केसीलाई जबर्जस्ती काठमाडौं ल्याउन खोज्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालभित्र केसीका समर्थक र प्रहरीबीच झडप भएको थियो । झडपमा एक जना प्रहरी गम्भीर घाइते भएका थिए भने १० भन्दा बढी घाइते भएका थिए ।
घटनापछि अस्पतालभित्रै मारामार भएको भन्दै केसी काठमाडौं आउन तयार भएका थिए ।
चिकित्सक संघद्वारा दुःख व्यक्त
नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीलाई यहाँ ल्याउने क्रममा स्वास्थ्यकर्मीलगायत सर्वसाधारणलाई गम्भीर घाइते बनाइएको भन्दै दुःख व्यक्त गरेको छ ।
संघका महासचिव डा लोचन कार्कीले ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रभित्र बल प्रयोग गर्न नपाउने मान्यता विपरीत’ स्वास्थ्यकर्मी, सर्वसाधारणलाई घाइते बनाउनु दुखद् भएको बताउँदै प्रा डा केसीलाई उनको इच्छाविपरीत, आधारभूत मानवाधिकारको उल्लंघन गर्दै सरकारका तर्फबाट अनशनरत स्थलबाटै उठाएर लैजानु गलत भएको जनाएका छन् ।
घटनाका दोषीलाई कारवाही गरी घाइतेको शीघ्र उपचार व्यवस्था मिलाई संवेदनशीलता प्रकट गर्न संघले सरकारसँग आग्रह गरेको छ ।






