काठमाडौँ । मुलुककै सबैभन्दा धेरै कैदीबन्दी क्षमताको केन्द्रीय कारागारमा सिसी टिभी जडान भएको छ । १०४ वर्ष पुरानो केन्द्रीय कारागारमा धेरै कैदीबन्दी र विभिन्न समयमा कारागारबाट बन्दी भाग्ने गरेको घटना बढेपछि सुरक्षाका लागि सिसी टिभी क्यामरा जडान गरिएको हो ।
केन्द्रीय कारागार कार्यालयका लेखा अधिकृत कुलप्रसाद रेग्मीले रु १५ लाखको लागतमा ३० क्यामरा जडान गरिएको जानकारी दिए । हाल केन्द्रीय कारागारमा एक हजार ६९५, भद्रगोल कारागारमा ७९० र महिला कारागारमा ३१८ कैदीबन्दी गरी दुई हजार ८०३ र नाबालक चारजना रहेको रेग्मीले बताए । केन्द्रीय कारागारमा राखिएको क्यामराको निगरानी प्रहरी प्रमुख र कारागार प्रमुखले गर्नेछन् ।
केन्द्रीय कारागार सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले सिसी क्यामरा जडानसँगै जेलको सुरक्षामा सहज हुने बताए ।
जेलभित्र कैदीबन्दीले के–कस्ता काम गर्छन् भन्ने बारेमा धेरै कैदीबन्दी आवतजावत गर्ने मुख्य चोकमा सिसी क्यामरा राखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजारभन्दा धेरै कैदीबन्दी छन् ।


