एटा संवाददाता
लन्डन । नेपाली क्रिकेट टिमले लन्डनस्थित लर्डस् क्रिकेट मैदानमा २ वर्षपछि फेरि क्रिकेट खेलेको छ । गत २९ जुलाईका दिन मिरलेबोन क्रिकेट क्लब (एमसीसी) तथा नेपाली टिम र नेपाली टिम तथा निदरल्याण्डसँग एकदिने मैत्रीपूर्ण खेल खेलिएको हो ।
नेपालको राष्ट्रिय गौरव र प्रतिष्ठासँग जोडिएको खेलमा नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा दूतावास परिवार, बेलायतमा रहेका विभिन्न नेपाली संघसंस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
तमुधिं युके, मगर संघ युके, किरात यायोख्या, एनआरएनए युके र ग्रेटर रसमुर नेपाली कम्युनिटीलगायत नेपाली संघसंस्थाले फार्नबोरो, अल्डरसट र केन्टका विभिन्न स्थानबाट नि:शुल्क बसको प्रवन्ध गरिएको बताउँदै फार्नबोरो तथा अल्डरसट क्षेत्रबाट आपूmले संयोजन गरेको ग्रेटर रसमुर नेपाली कम्युनिटीका महासचिव मान गुरुङले जानकारी दिए ।
प्रतिकूल मौसमका कारण केही समय ढिलो सुरु भएको सो खेलको पहिलो मैत्रीपूर्ण खेलमा निदरल्यान्ड र नेपाली टिमले एमसीसी टिमलाई जितेका थिए । नेपालले ओडिआई स्टाटस पाएपश्चात् पहिलो पटक खेल्न लागेको नेपाल र निदरल्याण्डबीचको खेल प्रतिकूल मौसमका कारण रद्द भएको थियो ।
साँझ ५ बजे सुरु भएको नेपाल र निदरल्यान्डबीचको खेल पहिलो चरणमा निदरल्याण्डले राम्रै व्याटिङ्ग गरिरहेको भए तापनि मौसमका कारण खेल रद्द गरिएको थियो ।
यसैबीच, गत आइतबार २९ जुलाईका दिन एमसीसीले एक विज्ञप्ति जारी गर्दै नेपालको क्रिकेट विकासमा सहयोग गर्ने जनाएको छ ।
एमसीसीले लिगेसी टुर अभियानमार्फत क्रिकेट खेल्ने देशहरुलाई पुन: सघाउने र त्यसको सुरुआत नेपालबाट गर्ने बताइएको छ ।
नेपालमा क्रिकेटको संभावना बढी भएको भन्दै एमसीसी फाउन्डेशनमार्फत सहयोग संकलन गरी नेपालको क्रिकेट विकासमा सघाउने जनाइएको छ ।


