काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष समयमा बोलेका विषयमा थप जिज्ञासा र प्रश्नका लागि सभामुखले समय नदिएको भन्दै काँग्रेसले बैठक बहिष्कार गरेको हो । बैठकबाट बाहिरिएपछि काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सञ्चारकर्मीसँग कुरा गर्दै कुनै पनि विषयमा मन्त्रीले सदनमा बोलिसकेपछि सांसदले प्रश्न सोध्न पाउने संसद् नियमावलीमा व्यवस्था छ तर आफूहरुले समय माग्दा पनि सभामुखले समय नदिएको बताए ।
काँग्रेसकै नेता डा मीनेन्द्र रिजालले संसद्मा मन्त्रीका वक्तव्यको विषयवस्तुमाथि केन्द्रित रहेर प्रश्न सोध्न पाइने जानकारी दिँदै आज त्यो अधिकार कुण्ठित भएको र दलीय व्यवहार भएको आरोप लगाए ।
प्रमुख प्रतिपक्षी दल काँग्रेसले बैठक बहिष्कार गरे पनि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठकलाई निरन्तरता दिएका थिए ।






