
लन्डन २७ सेप्टेम्बर २०२३ । मानवसेवा आश्रमका लागि बेलायतमा करोडभन्दा बढी सहयोग संकलन भएको छ ।
मानवसेवा आश्रमको सेवा सहजताको एक थान एम्बुलेन्ससहित १ करोडभन्दा बढी सहयोग संकलन भएको मानवसेवा आश्रम यूके च्याप्टर संयोजक सुनिल बाबु खड्काले बताएका छन् । वि.सं. २०८२ सालभित्र नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य लिइएको छ ।
चितवन स्थायी घर भई कर्नवाल यूके निवासी हेमकान्त सेढाईं र सीता शर्माले एक थान एम्बुलेन्स सहयोगको घोषणा गरेका छन् । जसमध्ये मानवसेवा आश्रमको नेपालको विभिन्न स्थानमा निर्माण भइरहेको भवनको एक कोठा निर्माण सहयोगका लागि ९ जना उदार मन भएका व्यक्तिले रु. ५,११,१११ का दरले सहयोग गरेका छन् । यसरी ५,११,१११ सहयोग गर्नेहरुमा राजु आचार्य, उत्सव विष्ट र खिमलाल खरेल, चन्द्र अर्याल र राधा अर्याल, दीपक ढकाल, अमृत सेढाईं, खिम खत्री, विक्रम भट्टराई र पवित्रा भट्टराई, सुरेश केसी र दयानिधि सापकोटा रहेका छन् ।
यस्तै १४ जनाले रु १,११,१११ रुपैया योगदान गरी मानवसेवा आश्रमको आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गरेका छन् । यसरी १ लाख ११ हजार १ सय ११ योगदान गर्नेहरुमा समाजसेवी डा. बच्चु कैलाश कैनी, उत्सव विष्ट र खिमलाल खरेल, रामकृष्ण अर्याल, लभ गौतम, प्रकाश कंडेल, प्रकाश श्रेष्ठ, सूर्य हमाल, लाल शिवयोगी, अप्सरा श्रेष्ठ, क्याट यूके, रविन्द्र शर्मा, प्रकाश चन्द्र भण्डारी र कोपिला खड्का भण्डारी, गोकुल खरेल र गोप्यदान छन् ।
यस्तै तुलसी फूयाल, सागर भट्टराई, उत्सव विष्ट र खिमलाल खरेलले मानवसेवा आश्रमको संरक्षणमा रहेका एक बालबालिकाको पालनपोषण र शिक्षा दिक्षाका लागि मासिक ८ हजार रुपैंया र राजु आचार्यले दुई आमाबुबाको पालनपोषणका लागि मासिक प्रतिव्यक्ति ५ हजार रुपैंया योगदान गर्नेगरी बेसहाराको अभिभावकत्व ग्रहण गरेका छन् ।
मानवसेवा आश्रम सहयोगार्थ मासिक १० पाउण्ड योगदान अभियान अन्तर्गत ४० जनाले सदस्यता लिएका छन् । यो संख्या ३६५ जना पुरयाई कम्तिमा नेपालमा सञ्चालनमा रहेको एक सेवा केन्द्रको मासिक खर्च बेलायतवासी उदारमन भएकाहरुबाट जुटाउने आश्रमका अभिभावक अमृत सेढाईंले बताए । केही मानवताप्रेमी मनकारीले आफ्नो परिचय नखुलाई गोप्यदान समेत गरेका छन् ।
सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने संकल्प पूरा गर्न मानवसेवा आश्रम यूके च्याप्टर गठन भएको छ । मानवसेवा आश्रमले २०८२ सालभित्र खुला आकाशमुनी नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य पुरा गर्न आश्रमले मानवसेवा आश्रम यूके च्याप्टर गठन गरेको हो ।
गत सेप्टेम्बर २४ तारिख अल्डरसटमा मातृत्व र मातृभूमिको सम्मानमा आयोजित आमा सेमिनारमा च्याप्टर घोषणा भएको थियो । च्याप्टरका पदाधिकारीहरुलाई आमा सेमिनारका प्रमुख अतिथि समेत रहेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले मनोनयन पत्र हस्तान्तरण गरेका थिए । आश्रमका अभिभावक बेलायतनिवासी समाजसेवी सुनिलबाबु खड्काको संयोजकत्वमा गठन भएको च्याप्टरमा राजु आचार्य र विक्रम भट्टराई सहसंयोजक, यादव श्रेष्ठ सचिव र चन्द्र अर्याल कोषाध्यक्ष सहित ३१ सदस्य छन् ।
समितिले मानवसेवा आश्रमले लिएको लक्ष्य पुरा गर्न बेलायतनिवासी मनकारी व्यक्तित्वहरुबाट सहयोग जुटाउने र मानवता प्रवद्र्धनका लागि मानवसेवा आश्रमले बेलायतमा गर्ने कार्यक्रमहरुको आयोजना र व्यवस्थापन गर्नेछ ।
विगत ५ वर्षदेखि आश्रमका अभिभावक सुनिल बाबु खड्काले व्यक्तिगत प्रयासमै यी कार्यक्रमहरु गर्दै आएका थिए । यस अघि सन् २०१८ मा समेत एक चरणको कार्यक्रम आयोजना भइसकेको छ । वि.सं. २०८२ सालभित्रै नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गरिसक्ने संकल्प पुरा गर्न थप सशक्त भई अभियानका कार्यक्रम आयोजना गर्नुपर्ने भएको र यस बीचमा आयोजना भएका कार्यक्रमहरुबाट आश्रमलाई अत्यन्त माया गर्ने व्यक्तिहरु समेत जोडिएकाले च्याप्टर गठन गरिएको मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।
यस लगत्तै गोरखा समाज अष्ट्रेलियाको आयोजनामा फेब्रुअरी १३ देखि मार्च १३ सम्म त्यहां ‘आमा’ कार्यक्रम हुने भएको छ ।
मानवता प्रवर्धनको लक्ष्यसहित मानवसेवा आश्रमले सेप्टेम्बर ६ तारिखबाट सुभारम्भ गरेको बेलायत यात्रा सार्थक बनेको छ । यस यात्राको क्रममा मातृत्व र मातृभूमिको सम्मानमा बेलायतका ५ स्थानमा आमा सेमिनार प्रस्तुत भएको छ ।
बेलायतवासी नेपाली मनहरुमा माता पिता, मातृभूमि, शिक्षा दिने गुरुजनको गरिमा र महत्व बोध गराउन सेमिनार सफल भएको आयोजकले जनाएका छन् ।
सुरुवातमा पेट मिचिमिचि हसाउँदै अन्तमा सबैलाई भावुक बनाउनु कार्यक्रमको विशेषता नै बन्यो । कार्यक्रमको सहजीकरण मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले गरेका थिए । उनलाई संस्थाकी महासचिव सुशिला केसी (रुपा) र सचिव सुमन बर्तौलाले सघाएका थिए ।
महत्वपूर्ण लक्ष्य र अद्भूत प्रतिवद्धता लिएको मानवसेवा आश्रम सेवा र प्रेरणाको संगम रहेको बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बताए । गत आइतबार अल्डरसटमा आयोजित आमा सेमिनारमा सहभागी भइसकेपछि राजदूत आचार्यले यस्तो बताएका हुन् । कार्यक्रममा २०० बढी बेलायतबासी नेपालीको सहभागिता थियो ।






