मुकेश राई

लन्डन । स्यान्डहर्स्ट नेपाली समाजको जमघट कार्यक्रम भव्य र सभ्यरुपमा सम्पन्न भएको छ ।
गत शनिबार ३० सेप्टेम्बर २०२३ का संस्थाका अध्यक्ष नेत्र थापाको अध्यक्षतामा जमघट कार्यक्रम भएको हो । नेपाल र ब्रिटेनको राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रममा स्यान्डहर्स्ट परिषद्मा नेपालीहरुको प्रतिनिधिको रुपमा नवनिर्वाचित काउन्सिलर लिम्बूलगायत नेपाली लोक तथा दोहोरी गायिका सानु गुरुङ, समाजका वरिष्ठ नागरिक एवं समाजसेवी ओम थापालगायत समाजमा उल्लेखनीय योगदान पुर्याउँदै आएका व्यक्तिहरुलाई खादा ओडाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा गायिका सानु गुरुङ, कौशिला थापालगायत स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेर सबैको मन जितेका थिए । स्वादिष्ट खानपानको समुचित व्यवस्थापन, राफल ड्र अनि मनोरन्जनात्मक कार्यक्रमले गर्दा उपस्थित सबैले बेलायतबाट बिदा लिँदै गरेको गृष्म ऋतुको भरपुर आनन्द उठाएका थिए ।
कार्यक्रममा काउन्सिलर प्रिती लिम्बू, संस्थाका सल्लाहकारहरु रामकुमार लिम्बू, थर्क राना, जुरेन्द्र खजुमलगायत स्यान्डहर्स्टमा बसोबास गरिरहेका अवकाशप्राप्त, सेवारत गोर्खालीहरु, उनीहरुका परिवारलगायत नेपाल र हङकङबाट आएर स्यान्डहर्स्टमा रहँदै आएका नेपालीहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रम औपचारिकरुपमा संस्थाका महासचिव शमसेर वनेमले संचालन गरेका थिए भने सांस्कृतिक कार्यक्रम संस्थाका उपाध्यक्ष रामकृष्ण जिमीले संचालन गरेका थिए ।
कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिने क्रममा संस्थाका अध्यक्ष नेत्र थापाले समाजको विषयमा विगतदेखि वर्तमानसम्म संस्थाले गरेको कार्यहरुको विस्तृत विवरणसहित केही भावी योजना र रणनीतिहरुबारे पनि प्रकाश पारे । स्यान्डहर्स्ट नेपाली समाज स्थापना हुनुको मुख्य कारण स्वदेशभन्दा टाढा यो कर्मभूमिमा नेपाली समुदायहरुबीच भईपरी आउने, समुदायभित्र हुने जन्म, विवाह र मृत्युजस्ता सुख दु:खका कार्यहरुमा आर्थिक र आफ्नो संस्कार, संस्कृति र विधिविधानअनुसार कार्यक्रमहरु गर्न सहयोग गर्ने, परदेशमा रहेर पनि आफ्नो देशको कला, साहित्य, सांस्कृतिक परम्परा भेषभुषा र चाडपर्वहरु जगेर्ना गर्ने र नयाँ पिढीमा हस्तान्तरण गर्दै लैजानु हो । यस संस्थाले वर्षमा कम्तीमा एकपल्ट एउटा बृहत भेटघाट कार्यक्रम गर्ने साथै दसैं, तिहार लगायतका चाडबाडमा पनि भेटघाट र शुभकामनाहरु आदानप्रदान गर्ने कार्यक्रमहरु गर्दै आएको छ .
यो संस्थाले नेपालीहरुको वार्षिक जमघटमा मात्रै सीमित नरहेर स्यान्डहर्स्ट सहर परिषद्ले आयोजना गर्ने रिमेम्ब्रेस डे, च्यारिटी रन, सामुदायिक सरसफाई अभियानलगायत कार्यक्रमहरुमा स्ययंसेवकको रुपमा सहभागिता जनाउने गरेको छ ।
जुलाई २००७ सालमा स्यान्डहर्स्ट नेपाली समाजको आधिकारिकरुपमा गठन भएको थियो । हालसम्म रिटायर्ड र सेवारत करिब ३०० घर गोर्खालीहरु रहँदै आएका छन् ।






