
लन्डन १२ अक्टोबर २०२३ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको आयोजनामा नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङसँग शनिबार अन्तरक्रिया हुने भएको छ ।
अल्डरसटमा रहेको ठमेल रेस्टुरेन्टमा पूर्वकानुनमन्त्री समेत गुरुङ र माओवादी केन्द्र स्थायी समिति सदस्य यशोदा सुवेदीसँग ‘नेपाली नागरिकता निरन्तरता तथा प्रदेश १ को पुन:नामांकन’ विषयमा अन्तरक्रिया कार्यक्रम राखिएको नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले जानकारी दिए । उक्त कार्यक्रमका लागि गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके लगायत जनजातीय संस्थाले संयोजन गर्नेछन् ।
महासचिव गुरुङ दम्पती जनप्रगतिशील मञ्च बेलायतको निमन्त्रणामा मंगलबार लन्डन आइपुगेका हुन् । बेलायतमा रहँदा उनीहरुले विभिन्न कार्यक्रममा सहभागिता जनाउने छन् । बिहीबार नेपाली राजदूतावास लन्डन जाने र साउथ इस्ट नेता कार्यकर्ता भेटघाट तथा शनिबार एम्पायर हलमा बृहत् भेलामा सहभागी हुने जनाइएको छन् ।






