काठमाडौं १८ अक्टुबर २०२३ ।

आजदेखि सुरु भएको त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत भएको नेपाल र यूएईबीच भएको पहिलो खेलमा नेपालले शानदार विजयको शुरुवात गरेको छ ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जित्दै यूएईलाई ब्याटिङको निम्तो दिएको नेपाल सात विकेटले विजयी भएको हो । पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा सात विकेट गुमाउँदै १४० रन बनाएको थियो । १४१ रनको लक्ष्य पछ्याएको नेपालले १८ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे । ४० बलको सामना गरेका पौडेलले रनआउट रहँदै ५१ रनको योगदान दिए । यस्तै दीपेन्द्र सिंह ऐरीले २३ बलको सामना गर्दै नटआउट ३४ रन जोडे । ओपनर आशिफ शेखले २३, कुशल भुर्तेलले १४ तथा कुशल मल्लले ११ रन जोडे ।
यूएईका अली नासिरले १ तथा निलाश केश्वानीले १ विकेट लिए । कुशल मल्ललाई पनि नासिरले नै रनआउट गरेका थिए । पहिला ब्याटिङ गरेको यूएईका लागि सर्वाधिक बसिल हमिदले ५१ रन जोड्दा अली नासिरले ३२ र कप्तान महम्मद वासिमले १७ रन जोडेका थिए भने आशिफ खान १५ रन जोडे । यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका लागि करण केसीले ३, गुल्शन झाले २, अभिनास बोहोरा र सोमपाल कामीले १-१ विकेट लिए । नेपालको दोस्रो खेल भोलि हङकङसँग हुँदैछ । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकप २०२४ को एसिया क्षत्रे छनोटको तयारी स्वरुप नेपाल, यूएई र हङकङबीच त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।






